शिक्षण अस्पताल कोहलपुरका आवासीय चिकित्सक आन्दोलित



कोहलपुर (बाँके) ।

बाँकेको कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका आवासीय चिकित्सक आन्दोलनमा उत्रिएका छन् । शिक्षण अस्पतालमा स्नातकोत्तर तह (पीजी) अध्ययन गर्ने ९७ जना चिकित्सकले आठौँ तह बराबरको निर्वाह भत्ताको माग गर्दै आन्दोलित भएका हुन् । यसअघि चैत २० गते उनीहरूले मेडिकल कलेजका निर्देशक रेशम राना, पिजी कोडिनेटर डाक्टर दिने कुमार श्रेष्ठ र प्रिन्सिपल अनुप शर्मालाई विरोध प्रदर्शन गर्नुभन्दा ४८ घण्टा अगाडि सरकारले स्वीकृत गरेको ८औँ तहको तलबमान तत्काल कार्यान्वयन माग गर्दै मागपत्र बुझाएका थिए ।

यसअघि स्वास्थ्यकर्मीका लागि उनीहरूले तोकिएको निर्वाह भत्ता प्रदान गर्न २४ घण्टे अल्टिमेटम दिएको थियो । आवासीय चिकित्सकहरूले बुझाएको तीन बुँदे मागपत्रमा ८औँ तहको तलब कार्यान्वयन गर्न, सो सम्बन्धमा लिखित जवाफ दिन र माग पूरा नभए आन्दोलनमा जाने उल्लेख गरिएको छ । ४८ घण्टे अल्टिमेटमको सुनुवाई नभएपछि विरोधमा उत्रिएको आवासीय चिकित्सक अमिर अवालले बताए । उनका अनुसार शिक्षण अस्पताल कोहलपुर, बाँकेका आवासीय चिकित्सकले २०८१–१०–२५ मा चिकित्सा शिक्षा आयोगले तोकेको ८औँ तहको तलबमान कार्यान्वयन नगरिएकोप्रति प्रशासनलाई सचेत गराइएको थियो ।

यसै सन्दर्भमा सन्दर्भ नं. ४८२–२०८–२०८१÷०८२ ले यो तलब संरचना कार्यान्वयनमा ढिलाइ भएकोले आवासीय चिकित्कसमाथि ठूलो आर्थिक दबाब परेको उनले बताए । यस्तो विषय परिस्थितिलाई ध्यानमा चिकित्सा शिक्षा आयोगको परिपत्र अनुसार तलब समायोजन बाँकी रहँदा किस्ता शुल्क तिर्नु अन्यायपूर्ण भएको महसुस गरेको उनले बताए ।

प्रिन्सिपल शर्मालाई बुझाइएको पत्रमा भनिएको छ, ‘८औँ तहको तलबमान पूर्ण रूपमा लागू नभएसम्म किस्ता शुल्क भुक्तानी रोक्नेछौँ । चिकित्सा शिक्षा आयोगले तोकेको मितिदेखि तलब संरचना कार्यान्वयनको सम्बन्धमा ४८ घण्टाभित्र प्रशासनबाट आधिकारिक लिखित जवाफ माग गरिएको छ । तोकिएको समयसीमा भित्र सन्तोषजनक जवाफ नदिएमा हामी शान्तिपूर्ण विरोधको रूपमा आवासीय डाक्टरको रूपमा हाम्रो नियमित कर्तव्यहरू रोक्नेसहित थप कारबाही गर्न बाध्य हुनेछौँ ।’

प्रशासनलाई आफ्ना समस्याका यथार्थताका साथ लिन र अधिकारलाई थप ढिलाइ नगरी कायम राख्न आग्रह गरिएको छ । यसअघि २०८१ माघ २५ गते चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा अध्यपन गर्ने सम्पूर्ण विश्वविद्यालयहरू र अन्तर्गतका सम्बन्धन प्राप्त निजी शिक्षण संस्थाहरूलाई आवासीय चिकित्सकहरूलाई सार्वजनिक शिक्षण संस्थामा स्नातकोत्तर तहको कार्यक्रममा अध्ययन गर्ने चिकित्सकहरूलाई दिए सरह ‐स्वास्थ्य सेवाको आठौँ तह) निर्वाह भत्ता उपलब्ध गराउन निर्देशन दिएको थियो ।

यसैगरी काठमाडौँ विश्वविद्यालयले पनि २०८१ फागुन १५ गते नेपालगन्ज मेडिकल शिक्षण अस्पतालसहित दश वटा शिक्षण अस्पतालहरूलाई चिकित्सा शिक्षा आयोगको २०८१ माघ २५ गते बसेको १६औँ बैठकबाट विभिन्न विश्वविद्यालय र अन्तर्गतका सम्बन्धन प्राप्त कलेजहरूलाई ८औँ तहको तलब प्रदान गर्न प्रदान गरेको थियो । प्रशासनले आफ्ना माग पूरा नगरेपसम्म थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने उनीहरूले चेतावनी दिएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८१ चैत २४ गते आइतबार