डोल्पा ।
ठूलीभेरी नगरपालिका–१ मा पर्ने थालामा निर्माण गरिएको नेपाल टेलिकमको इन्टरनेटसहितको टेलिफोन टावर निर्माण अलपत्र परेको छ । २ वर्षअघि नै निर्माण गरिएको टावर अझैसम्म सञ्चालनमा आएको छैन । निर्माण कम्पनीले काम पूरा नगर्दा टावर सञ्चालनमा आउन नसकेको हो ।
फोरजी इन्टरनेट सेवासहितको उक्त टेलिफोन टावर सञ्चालनमा नआउँदा नागरिकहरू फोन तथा इन्टरनेट सुविधाबाट बञ्चित भएको वडाध्यक्ष तेजेन्द्र बहादुर रोकायले बताए । टावर सञ्चालनमा नआउनमा नेपाल टेलिकम र निर्माण व्यवसायी दुवैको कमजोरी रहेको उनको भनाइ छ ।
पटक पटक दुनैमा रहेको दुरसञ्चार कार्यालयमा टावर सञ्चालनका लागि अनुरोध गरिएपनि सुनुवाई नभएको उनले बताए । टावर नभएपछि हाल थालागाउँ, खाल्दारा लगायतका वडाभित्रका बस्तीहरूमा फोनले काम गर्दैन । फोन गर्नका लागि गाउँ छाडेर पर डाँडासम्म जानुपर्ने अवस्था छ । प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले लामो समयदेखि टावर ठडिएपनि सेवा भने सुचारु हुन नसकेको बताए । टावर सञ्चालन नहुँदा जनतालाई समस्या परेको उनको भनाइ छ ।
उनका अनुसार टावर सञ्चालनमा नआउँदा सामाजिक सुरक्षा भत्ता, बैंक खाताका लागि नभइ नहुने राष्ट्रिय परिचयपत्र बनाउन घुम्ती टोली लिएर थाला लगायत विभिन्न गाउँहरूमा जिल्ला प्रशासनको टोली पठाउन सकिएको छैन । टावर सञ्चालन भएको खण्डमा थाला गाउँका करिब ४ सय परिवारले सञ्चार सुविधा पाउनेछन् । स्पार्क जलजला देवी निर्माण कम्पनीका प्रोपाइटर कुमार पौडेलले आफ्नो काम टावर बनाइदिने मात्रै भएकाले यसमा कमपनीलाई नजोड्न अनरोध गरे ।
‘हामीले भौतिक निर्माण लगायतका काम गर्ने हो, त्यो पूरा गरिसकेर टावर ठडिएको दुई वर्र्ष भयो’ उनले भने, ‘२-४ वटा सामान जोड्न बाँकी छ, तर यसले टावर सञ्चालनमा कुनै असर गर्दैन । टेलिकमले नै थप उपकरण जडान गरेर २ वर्ष अघिनै टावर सञ्चालनमा ल्याउन सक्थ्यो । यसबारे टेलिकमलाई भन्नुहोस् ।’
टावर निर्माणका लागि २०७९ तिरै सम्झौता भएको थियो । काम २ वर्षअघिनै सकिएको हो । अब १० प्रतिशत काम बाँकी छ । त्योपनि टावर राख्ने ठाउँ विकट भएकाले सामान लैजान कठिनाइ भएकाले पूरा हुन नसकेको निर्माण कम्पनीको दाबी छ ।
नेपाल टेलिकम बबरमहल कार्यालयका उपप्रबन्धक प्रेम क्षेत्रीले निर्माण व्यवसायीकै कारणले टावर सञ्चालनमा आउन नसकेको बताए । उनका अनुसार निर्माण व्यवसायीले २ महिना समय मागेपछि काम गर्न आदेश दिइएको छ । त्यसपछि मात्र टावर सुचारु हुने जनाइएको छ । नेपाल टेलिकमले आफूले थप गर्नुपर्ने उपकरण ल्याउन नसकेकै कारण २ वर्षअघि निर्माण गरिएको टावर सञ्चालन हुन नसकेको जिल्लास्थित सरोकारवालाको आरोप छ ।









प्रतिक्रिया दिनुहोस्