घाइते हुने कर्मचारीहरूमा मिटर रिडर उदयराज यादव, मिटर रिडिङ सुपरभाइजर लोकेन्द्र शाही, मिटररिडरहरू सतराम यादव, देशराज यादव र सन्तराम यादव रहेका छन् । स्थानीयको कुटपिटबाट मिटर रिडर उदयराज गम्भीर घाइते भएका छन् ।
नेपालगन्ज ।
विद्युत प्राधिकरणको नेपालगन्ज वितरण केन्द्रबाट विद्युत बक्यौता रहेका ग्राहकको लाइन काट्न खटिएका कर्मचारीमाथि अंगभंग हुनेगरी कुटपिट भएको छ । नेपालगन्ज वडा नम्बर ३ एकलैनीमा एउटा घरमा लाइन काटेर फर्किने क्रममा स्थानीयहरूले गरेको कुटपिटबाट पाँच जना कर्मचारीहरू घाइते भएका नेपालगन्ज वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले जानकारी दिए ।
घाइतेमध्ये मिटर रिडर उदयराज यादव गम्भीर घाइते भएका लामिछानेले बताए ।
लामिछानेका अनुसार घाइते हुने कर्मचारीहरूमा यादवसहित मिटर रिडिङ सुपरभाइजर लोकेन्द्र शाही, मिटररिडरहरू सतराम यादव, देशराज यादव र सन्तराम यादव रहेका छन् । ६० दिनभन्दा बढी समयदेखि बील बक्यौता भएका ग्राहकको लाइन काट्न खटिएको टोलीमाथि अचानक ढुंगा, लठ्ठी र लातमुक्काले कुटपिट भएको लामिछानेले बताएका छन् ।
गम्भीर घाइते यादवको हात भाँचिएको र शरीरका विभिन्न भागमा चोट लागेको उनले बताए । भित्री चोटहरू पनि हुनसक्ने आशंकामा सिटी स्क्यान गर्न लागिएको पनि उनले बताएका छन् । लाइन काटेकै विषयमा स्थानीयहरूले हातपात गरेका उनको भनाइ छ । लामिछानेले उक्त घटनाले केवल कर्मचारीको मानव अधिकार, श्रम कानून र संस्थागत मर्यादाको उल्लंघन गरेको बताएका छन् ।
घटनापछि प्रहरीले तीनजना स्थानीयहरूलाई पक्राउ गरी वडा प्रहरी कार्यालय नेपालगन्जमा लगेको र पक्राउ परेकाहरू पनि घाइते भएको पाइएपछि उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक पातलीले जानकारी दिए ।
पक्राउ परेकाहरूलाई निगरानीमा राखिएको, घटनाका सम्बन्धमा लिखित जाहेरी नआएको र जाहेरी आएपछि थप छानबिन अघि बढ्ने उनले बताएका छन् । कर्मचारीहरूको उपचारको व्यवस्थापछि हातपात गर्नेहरूमाथि जाहेरी लिएर प्रहरीकहाँ जाने नेपालगन्ज वितरण केन्द्रका प्रमुख लामिछानेले मिसन टुडेलाई जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्