डोटी :सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले डोटीमा मिनी खप्तड पार्कको शिलान्यास गरेका छन् । जिल्लाको पूर्वीचौकी गाउँपालिका–२ बगलेकमा प्रदेश प्रमुख मियाँले मिनी खप्तड पार्कको शिलान्यास गरेका हुन् । एक औपचारिक कार्यक्रमका बीच मिनी खप्तड पार्क निर्माण कार्यको शिलान्यास गरिएको हो ।
सो कार्यक्रममा प्रदेश प्रमुख मियाँको प्रमुख आतिथ्य रहेको थियो भने सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मला साउँद, प्रदेश सभा सदस्य चक्र मल्ल, पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यय, प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीलगायत सहभागी थिए ।
गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्ययले खप्तड राष्ट्रिय निकुञ्जको फेदीमा रहेको रमणीय स्थललाई पार्कको रूप दिएर मिनी खप्तड पार्क निर्माण गरिन लागिएको बताए ।
जसका लागि ३५ लाख बजेट विनियोजन भएको र गाउँपालिकाले क्रमागत रूपमा कार्यान्वयनमा लैजाने उनले बताए । धर्तीको स्वर्ग मानिएको खप्तडको फेदीमा निर्माण गरिने मिनी खप्तड पार्कले त्यहाँको रमणीयतालाई झनै उजागर गर्ने उनले बताए । उनका अनुसार केही दिनमै टेन्डर आह्वान गरी पार्क निर्माण कार्य अगाडि बढाइनेछ ।









प्रतिक्रिया दिनुहोस्