भैरहवा ।
रूपन्देहीको भैरहवामा शनिबारदेखि रूपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा ‘ए’ डिभिजनअन्तर्गतका खेल सुरु भएका छन् । रूपन्देही क्रिकेट संघको आयोजनामा ‘ए’ डिभिजनको पहिलो खेलमा वेष्टर्न क्रिकेट क्लब विजयी भएको छ । लुम्बिनी खुकुरी क्लबलाई ४५ रनले पराजित गर्दै वेष्टर्नले विजयी सुरुवात गरेको हो ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको वेष्टर्नले निर्धारित ३२ ओभरमा ८ विकेट गुमाएर १ सय ३९ रनको मध्यमस्तरको योगफल बनायो । जसका लागि भुवन पाण्डेले २८, निरकुमार गुप्ता र अभिषेश गौतमले समान २०–२० तथा इशान पाण्डेले १६ र देव खनालले १२ रन बनाए ।
बलिङमा लुम्बिनी खुकुरीका शाहब आलम, अजयकुमार चौहान र शंकर रानाले २–२ तथा शेहजाद आलमले १ विकेट लिए । जवाफी ब्याटिङ गरेको लुम्बिनी खुकुरीले २८ ओभर ३ बलमा सबै विकेट गुमाएर जम्मा ९४ रन बनायो र हार व्यहो¥यो । उसका लागि शंकर रानाले सर्वाधिक २२ रन बनाउँदा निश्चल चौधरीले १६ रन बनाए ।
अन्य ब्याटरले भने दोहोरो अंकमा रन बटुल्न सकेनन् र टिमले हार व्यहो¥र्यो । खुकुरीलाई सस्तैमा रोक्न बलिङमा वेष्टर्नका सुझाव थापाले ७ ओभरमा २६ रन खर्चेर ५ विकेट लिए । यस्तै, इशान पाण्डेले २ तथा सन्देश थापा र अभिशेष गौतमले १–१ विकेट लिए । खेलमा सुझाव थापा प्लेयर अफ द म्याच भई १ हजार २ सय रूपैयाँ प्राप्त गरेका छन् ।
प्रतियोगिताको विजेता टिमले नगद १ लाख १ रूपैयाँ र उपविजेताले ५० हजार १ रूपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, हरेक खेलको म्यान अफ द म्याचले १ हजार २ सय, म्यान अफ द सिरिजले १५ हजार, बेस्ट ब्याटर, बेस्ट बलर र उदीयमान खेलाडीले जनही ५ हजार रूपैयाँ पाउने संघका कोषाध्यक्ष तथा खेल संयोजक निरजप्रताप खाँणले जानकारी दिए ।
यसअघि गत मंसिरमा डिभिजन ‘बी’ का खेलहरू सम्पन्न भएका थिए । नेपाल सुपर लिगका कारण त्यसबेला ‘बी’ डिभिजनका खेलहरू आयोजना भए पनि ‘ए’ डिभिजनका खेलहरू पछि सरेका थिए ।









प्रतिक्रिया दिनुहोस्