बसोबास महिला सहकारीको १७औँ साधारण सभा



कोहलपुर (बाँके) ।

बाँकेको कोहलपुर– ११ स्थित बसोबास महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सोमबार एक औपचारिक समारोहकाबीच सहकारीको १७औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

साधारण सभाको लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघकी उपाध्यक्ष मिना सिग्देलले पानसमा बत्ती बालेर उद्घाटन गरेकी थिइन् । उनले सहकारीहरू महिला शसक्तिकरणका माध्यमका रूपमा रहेको बताइन् । उनका अनुसार सहकारीका माध्यमबाट महिलाहरूको आर्थिक विकास तथा क्षमता विकासमा सहयोग पुगेको छ ।

‘महिलाद्वारा सञ्चालित सहकारीहरूले राम्रो काम गर्दै आएका छन् । ती सहकारीहरू उदाहरणीयसमेत छन् । महिलाहरू आर्थिक कारोबारमा चुस्त हुने भएकोले सहकारीहरू मजबुत अवस्थामा छन् । बसोबासले राम्रो काम गरिरहेको छ,’ उनले भनिन् ।

साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष गीता ओली क्षेत्रीले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष सीता कार्कीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष ओलीले १ हजार ८ सय ५७ जना महिला सहकारीमा आवद्ध रहेको बताइन् । सहकारीमा भूमिहीन, सुुकुुम्बासी र गरिब सदस्यहरूका लागि ६४१ शौचालयसहितका घर निर्माण गरिएको उनले बताइन् ।

कोहलपुर नगरपालिका वडा नम्बर २ को सहकार्यमा १६३ धारा जडान गरिएको र संस्थाले ४६५ सदस्यका लागि शौचालय निर्माण गरेको अध्यक्ष ओलीको भनाइ छ । यसैगरी कोषाध्यक्ष कार्कीले आर्थिक वर्ष २०८०/०८१ को अन्त्यदेखि अहिलेसम्म समितिले शेयर पूूँजी तथा निक्षेप संकलन र कर्जा प्रवाहसमेत गरी १० करोड ३० लाख ६१ हजार ४० रूपैयाँ २३ पैसा कारोबार गर्न सफल भएको बताइन् ।

आर्थिक वर्ष २०८०/०८१ मा शेयर पूँजी १ करोड ४६ लाख ५३ हजार ३ सय रूपैयाँ पुुगेको छ । निक्षेप संकलनतर्फ आर्थिक वर्ष २०८०/०८१ मा ५ करोड १९ लाख ११ हजार ४ सय ७९ रूपैयाँ १२ पैसा तथा कर्जा तथा अन्य लगानीतर्फ आर्थिक वर्ष २०८०/०८१ को अन्त्यसम्म संस्थाको ७ करोड ८८ लाख २० हजार १ सय ८० रूपैयाँ कर्जा लगानी रहेको छ । आर्थिक वर्ष २०८०/०८१ अन्त्यसम्म संस्थाको खुद नाफा ३ लाख ११ हजार ६२ रूपैयाँ ८ पैसा रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ माघ १ गते मंगलबार