जनता माविलाई खजुरा मेयर कपको उपाधि



खजुरा (बाँके) ।

बाँकेको खजुरामा जारी सातौँ अन्तर विद्यालय मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि जनता मावि सन्तकुटीले उचालेको छ । प्रतियोगितामा ४८ वटा इभेन्टमा भएका खेलमा जनता माविले ११ स्वर्ण, १० रजत र ५ कास्य जित्दै उपाधि हात पारेको हो ।

उपाधि हात पारेको जनता माविले ३३ हजार रूपैयाँ, शिल्ड तथा प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा ज्ञानोदय मावि खजुरा ६ स्वर्ण, ८ रजत र १ कास्य जित्दै दोस्रो भएको थियो । आदर्श माविले ३ स्वर्ण, ५ रजत र ४ कास्य हात पारेर तेस्रो स्थानमा चित्त बुझायो । दोस्रो र तेस्रो भएका विद्यालयले क्रमश २० हजार, १४ हजार रूपैयाँ र प्रमाणपत्र प्राप्त गरेका थिए ।

प्रतियोगितामा अनुशासन प्रावितर्फ नेराआवि गुराँसपुर, अनुशासन निमावितर्फ नेराआवि सिन्दुरी र अनुशासन मावितर्फ ध्रुवतारा विद्यामन्दिर प्रथम भए । उपाधि जित्ने जनता माविसँगै विभिन्न खेल विधाका विजयी खेलाडी तथा विद्यालयलाई खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विक तुफानले पुरस्कार, शिल्ड तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

सो अवसरमा बोल्दै गाउँपालिका अध्यक्ष विकले पालिकामा खेलकुदले फड्को मारेको भन्दै खेलाडी र विद्यार्थीहरूको प्रशसा गरे । ‘म आज अत्यन्त खुशी छु, खेलकुदको हवका रूपमा गाउँपालिकालाई अगाडी बढाइरहँदा खेलाडी र सर्वसाधारणको उल्लासपूर्ण उपस्थितीले हामीलाई उत्साहित बनाएको छ’ अध्यक्ष विकले अगाडी थपे, ‘खजुरा क्षेत्रको खेलकुद र खेलाडीका लागि गाउँपालिका हरसम्भव प्रयास गर्न प्रतिबद्ध छ । यो गरिमा अझ माथि पु¥याउन योजनाबद्ध लाग्नेछ ।’

यहाँबाट छानिएका खेलाडीले राष्ट्रपति कपमा सहभागिता जनाउने हुँदा खजुराले यसपटक उपाधि जित्ने दाबी उनले गरे । खजुरा गाउँपालिका वडा नम्बर–२ के गाउँस्थित शुक्र भलिबल स्टेडियम सितापुरमा प्रतियोगिता सम्पन्न भएको थियो ।

शुक्र मावि के गाउँको व्यवस्थापन तथा खजुरा गाउँपालिका खेलकुद विकास समिति र शिक्षा समितिको संयुक्त आयोजनामा प्रतियोगिता भएको थियो । प्रतियोगितामा माध्यमिक तह कक्षा ९ देखि १२, आधारभूत तह कक्षा ६ देखि ८ र प्राथमिक तहमा कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूले रनिङ शिल्डमा भाग लिएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८१ माघ १ गते मंगलबार