
सुर्खेत ।
वीरेन्द्रनगर नगरपालिका–६ सुर्खेतस्थित सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार एक कार्यक्रमका बीच संस्थाकै सभाहलमा साधारण सभा सम्पन्न भएको हो । साधारण सभामा आव २०८०÷०८१ मा संस्थाले सम्पन्न गरेका संस्थागत कार्य प्रगतिको वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
संस्थाले गरेको कामहरूको समग्र अवस्थाको बारेमा तयार पारिएका आर्थिक प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन र लेखापरीक्षण प्रतिवेदन समेत सभामार्फत सार्वजनिक गरिएको छ ।
संस्थाका अध्यक्ष टोपबहादुर टंलामीका अनुसार २०५८ सालमा संस्था स्थापना भएको हो । लेखा सुपरीवेक्षण समितिले संस्थालाई व्यवस्थित, पारदर्शी, मितव्ययी र सदस्य केन्द्रित सेवालाई प्रभावकारी बनाउन सञ्चालक समितिलाई दिएको सुझाव कार्यान्वयन गरिएको उनले बताए ।
संस्थाले हासिल गरेका उपलब्धिबारे जानकारी दिँदै ५ हजार ६ सय ४२ जना सेयर सदस्य रहेको उनले बताए । उनका अनुसार संस्थाको कुल सेयर पुँजी ६ करोड ६१ लाख ३० हजार ६ सय रूपैयाँ रहेको छ भने कुल बचत तथा निक्षेप रकम ६९ करोड ४१ लाख २९ हजार ६ सय ६० रूपैयाँ र सदस्यहरूमा लगानी रहेको ऋण ९१ करोड ९५ लाख २ हजार ६ सय रूपैयाँ रहेको छ ।
सुर्खेत वीरेन्द्रनगर–६ गोलबजारमा संस्थाको आफ्नै भवन र सभाहल रहेको छ । संस्थाको जगेडा कोषमा ४ करोड ५० लाख ८३ हजार ६ सय ४३ रूपैयाँ रहेको संस्थाका अध्यक्ष टंलामीले बताए । संस्थाको बाह्य ऋण २२ करोड १० लाख ५७ हजार ३ सय ७ रूपैयाँ रहेको छ ।
‘यो संस्थाको कार्य क्षेत्र सुर्खेत जिल्लाभरि रहेको र हाल सुर्खेत जिल्लाका ९ वटा स्थानीय तहमध्ये ५ वटा स्थानीय तहमा काम गरिरहेको छौँ,’ उनले भने, ‘वीरेन्द्रनगरमा एक मुख्य कार्यालय र अन्य ६ वटा सम्पर्क कार्यालयहरू सञ्चालनमा रहका छन् ।’
आय–आर्जनमूलक काममा जोड
संस्थाले आय–आर्जनमूलक काममा पनि जोड दिएको छ । समुदायमा सदस्यहरूको आर्थिक उन्नतिका लागि संस्थाले विभिन्न किसिमका आय आर्जनमूलक कामहरू गर्दै आइरहेको छ । कृषि तथा पशुपालनका लागि बीउपुँजी कार्यक्रम, मौरी पालन कार्यक्रम, कन्या च्याउ खेती कार्यक्रम, धान खेती कार्यक्रम र कफी खेती कार्यक्रम गरिसकेको छ ।
सदस्यहरूलाई व्यवसाय सञ्चालन गर्न तथा साना–साना उद्योगी बनाउनका लागि ऋण लगानी गरिरहेको छ भने सदस्यहरूलाई सर्वसुलभ रूपमा कर्जा प्रवाह गर्न र युवा सेयर सदस्यहरूलाई स्वरोजगार बनाउनका लागि नेपाल सरकारको युवा तथा साना व्यवसायी स्वरोजगार कोषसँग सम्झौता गरेर सदस्यहरूलाई स्वरोजगार कर्जा लगानी गरिरहेको छ ।
सदस्यहरूको रुचि र व्यवसायलाई प्रवद्र्धन गर्नका लागि व्यावसायिक अवलोकन भ्रमण, विभिन्न किसिमका तालिम, व्यावसायिक कफी खेतीका लागि प्राङ्गारिक कफी खेती तालिम, सहकारी शिक्षा शिविर, वित्तीय साक्षरता तालिम सञ्चालन गरी सदस्यहरूलाई आत्मनिर्भर बनाउने प्रयास गरेको छ । संस्थाका सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, उपसमिति र कर्मचारीहरूलाई क्षमता अभिवृद्धि गर्नका लागि संस्थाले आफैँ वा राष्ट्रिय सहकारी बैंक लिमिटेड, भूमि व्यवस्था तथा सहकारी रजिष्ट्रार कार्यालय वा अन्य निकायहरूसँग समन्वय गरेर विभिन्न किसिमका तालिमहरू भौतिक वा जुममार्फत तालिमहरू सञ्चालन गर्दै आइरहेको छ ।
बहुउद्देश्यीय काम
यस संस्थाले बहुउद्देश्यीय कामलाई अगाडि बढाउनका लागि कफी खेती व्यवसाय सञ्चालन गरिरहेखेको छ । संस्थाका सदस्यहरूको व्यवसायबमोजिम समूहहरू बनाई व्यावसायिक विशिष्टीकरण गरिरहेको छ । संस्थाले कफी खेती व्यवसायबाट सदस्यहरूको आर्थिक जीवनस्तर समृद्ध बनाउनका लागि कफी खेती व्यवसाय सञ्चालनमा ल्याएको छ ।
जुन चौकुने गाउँपालिका–६, झ्यालेकाँडामा २८ सय बिरुवा, वीरेन्द्रनगर नगरपालिका–१४ को सोतखोलामा ५८ सय बिरुवा, बालीमा ५ सय बिरुवा, वीरेन्द्रनगर १३, लामिडाँडामा ११ सय २४ बिरुवा, बराहतालको सनैना र टाँटीमा १५ सय २९ बिरुवा, लेकबेँशी नगरपालिकाको नेटा–५ मा ९ सय २० बिरुवा, वीरेन्द्रनगरमा ३ सय ५० बिरुवा र अन्य क्षेत्रमा २ सय ७२ गरी जम्मा १३ हजार २ सय ९५ कफीको बिरुवा लगाएर बहुउद्देश्यीय कामको थालनी गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्