बाँकेका सात पालिकामा माओवादीको नयाँ नेतृत्व चयन



कोहलपुर (बाँके) ।

बाँकेका सात पालिकामा नेकपा (माओवादी केन्द्र)ले नयाँ नेतृत्व चयन गरेको छ । जिल्लामा रहेका आठ पालिकामध्ये सात पालिकामा नयाँ नेतृत्व चयनको काम सम्पन्न भएको नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति बाँकेले जनाएको छ । पुस १२ गते पालिका अधिवेशन उद्घाटन गरेको माओवादी केन्द्रले सातवटा पालिकामा नयाँ नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न गरेको हो ।

खजुरा गाउँपालिकाबाहेक अन्य सबै पालिकामा नयाँ नेतृत्व चयन गर्दै अधिवेशन सकिएको नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति बाँकेका संयोजक नरेन्द्र पाण्डे (जेम्स)ले जानकारी दिए । उनका अनुसार नेपालगन्ज उपमहानगर, राप्ती सोनारी र बैजनाथ गाउँपालिकामा निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गरिएको थियो ।

नेपालगन्ज उपमहानगरको अध्यक्ष पदका लागि प्रेमबहादुर शाह र बसन्त लामिछानेबीच प्रतिष्पर्धा भएको थियो । शाहले ५१ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भए । उनका प्रतिद्वन्द्धी लामिछानेले १३ मत प्राप्त गरेका थिए । संयोजक पाण्डेले नेपालगन्जमा तीनजना उपाध्यक्ष भने निर्विरोध चयन भएको जानकारी दिए । उनका अनुसार उपाध्यक्षमा मोहम्मद अप्युब सिद्धिकी, तिर्थराम चिडिमार र मन्दिरा पाण्डे चयन भएका छन् ।

नगर कमिटीको सचिव पदका लागि पनि निर्वाचन भएको थियो । प्रविनकुमार पोखरेललाई १७ मतकाविरुद्ध ४५ मत प्राप्त गर्दै धर्मराज न्यौपाने सचिव पदमा निर्वाचित भए । सहसचिव पदमा धर्मराज छत्याल निर्विरोध चयन भएका थिए । यसैगरी, कोषाध्यक्ष पदका लागि भएको निर्वाचनमा कल्पना शर्मा र इश्वरी रावत रानालाई पराजित गर्दै बबी परियार कोरी निर्वाचित भइन् । नेपालगन्जमा ६८ सदस्यीय नगर कमिटी चयन गरिएको थियो ।

बैजनाथ गाउँपालिकामा पनि निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गरिएको छ । बैजनाथको अध्यक्ष पदका लागि चार जनाले उम्मेदवारी दिएका थिए । अध्यक्ष पदको लागि भएको निर्वाचनमार्फत प्रदीप विश्वकर्मा निर्वाचित भएको जिल्ला संयोजक पाण्डेले जानकारी दिए । अध्यक्षका लागि चक्रमिलन चन्द, कृष्ण जिएम र शैलेन्द्र बुढा चुनावी मैदानमा थिए । बैजनाथमा विकको ४५ सदस्यीय गाउँपालिका कमिटी गठन गरिएको हो । कमिटीको उपाध्यक्षहरूमा उपाध्यक्ष दिनेश थारू, धनमाया विष्ट र कर्ण विश्वकर्मा तथा सचिवमा प्रदीप बोहोरा र सहसचिवमा रुपक खड्का चयन भएका छन् ।

निर्वाचन प्रक्रियामार्फत नै राप्ती सोनारी गाउँपालिका कमिटी गठन गरिएको छ । सोनारी गाउँपालिका कमिटीको अध्यक्षको लागि भएको निर्वाचनमा सूर्यप्रकाश घर्ती मगरलाई हराउँदै जनकबहादुर थारू अध्यक्षमा निर्वाचित भएका छन् । उपाध्यक्षहरूमा राम लखन थारू, टेकबहादुर बस्नेत र कमल विश्वकर्मा निर्वाचित भएका हुन् । यस्तै सचिवमा मीनराज खड्का (सन्तोष), सहसचिवमा शेरबहादुर खड्का (सुजल) र कोषाध्यक्ष हरिभक्त पौडेलको ४१ सदस्यीय कमिटी चयन गरिएको हो ।

कोहलपुरमा भने बलबहादुर खड्काको नेतृत्वमा ४९ सदस्यीय नगर कमिटी निर्विरोध चयन भएको छ । उपाध्यक्षहरूमा रुद्र खनाल, मेराजुद्दिन जागा (सुरज जागा), अमरबहादुर विश्वकर्मा चयन भएका छन् । यस्तै सचिवमा निरकबहादुर शाही र कोषाध्यक्षमा मिन पुनमगर निर्विरोध चयन भएको संयोजक पाण्डेको भनाइ छ ।

यस्तै, नरैनापुर गाउँपालिकामा साविर अलि मुकेहरीको अध्यक्षमा ३५ सदस्यीय गाउँपालिका कमिटी गरिएको छ । डुडुवा गाउँपालिकामा मानबहादुर थापाको नेतृत्वमा ३५ सदस्यीय कमिटी निर्विरोध चयन गरिएको हो । यसैगरी जानकी गाउँपालिकामा पनि पदम दर्नालको अध्यक्षतामा ४१ सदस्यीय गाउँपालिका कमिटी निर्विरोध चयन गरिएको उनको भनाइ छ । बाँकि रहेको खजुरा गाउँपालिकाको अधिवेशन पुस २५ र २६ हुने संयोजक पाण्डेले जानकारी दिए ।

संयोजक पाण्डेले भने, ‘खजुरामा पुस महिनामै अधिवेशन सम्पन्न गरिनेछ । अन्य पालिकाहरूमा भने नयाँ नेतृत्व चयन गरिएको छ । केही पालिकामा निर्वाचन भयो । केही पालिकामा निर्विरोध चयन गरिएको छ । समग्रमा पालिका अधिवेशन सफल भए ।’

  • No tags available
प्रकाशित मिति : २०८१ पुस २० गते शनिबार