नेपाल रेडक्रस सोसाइटी उपशाखा कोहलपुरको स्थापना वि.स.२०६१ असार ११ गते भएको थियो । राधा महत उपशाखाकी संस्थापक सभापति हुन् । हाल प्राथमिक तथा एम्बुलेन्स सेवामा ध्यान दिइरहेको उपशाखाले केही समयमै सुविधा सम्पन्न रक्तसञ्चार केन्द्र सञ्चालनको तयारी गरेको छ । स्थापनादेखि अहिलेसम्म आइपुग्दा उपशाखाले आफ्नै सुविधासम्पन्न कार्यालय भवन समेत निर्माण गरिसकेको छ ।
शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।
युद्धका बेला शान्ति । विपद्का बेला सहयोग । विपन्नलाई सहायता र सामाजिक कार्य भन्ने वित्तिकै झट्ट सम्झिने नाम हो– रेडक्रस । ई.सं. १८६३ अक्टोबर २० मा अन्तर्राष्ट्रिय रेडक्रसको जन्म भयो । रेडक्रसका जन्मदाता हुन्, हेनरी ड्युना । उनको जन्म स्विट्जरल्याण्डको जेनेभामा भएको हो । संसारैभरी युद्धका बेला, विपद्का बेला सहयोग र शान्तिको हात फैलाउने लाखौँ मानिसहरूको आस्थाको धरोहर बनेको रेडक्रस ।
अन्तर्राष्ट्रिय रेडक्रस स्थापनाको ठीक एक सय वर्ष पछाडि नेपालमा रेडक्रस स्थापना भएको थियो । नेपालमा रेडक्रसको स्थापना वि.सं. २०२० भदौ १९ गते भएको हो । हाल ७७ वटै जिल्लामा रेडक्रसका शाखा छन् । बाँकेमा पनि नेपाल रेडक्रस सोसाइटीको शाखा रहेको छ । बाँकेमा हाल १४ वटा रेडक्रसका उपशाखा रहेका छन् । तीमध्येको एक हो, नेपाल रेडक्रस सोसाइटी उपशाखा कोहलपुर । उपशाखा कोहलपुर नगरपालिका–११ मा अवस्थित छ ।
यहाँको उपशाखा वि.स.२०६१ असार ११ गते स्थापना भएको हो । संस्थापक तदर्थ समिति ९ सदस्यीय थियो । राधा महत उपशाखाकी संस्थापक सभापति हुन् । हेमकुमार रावत उपशाखाका प्रथम निर्वाचित सभापति हुन् । उनी २०६१ फागुन १७ गते निर्वाचित भएका थिए ।
उनको कार्यकाल २०६२–२०६५ फागुन १० गतेसम्म रह्यो । २०६६–२०६९ सम्म लेखबहादुर क्षेत्रीले सभापतिका रूपमा काम गरे । अघिल्ला दुई कार्यसमिति ९ सदस्यीय थिए । क्षेत्रीको पालादेखि समिति ११ सदस्यीय बनाइएको थियो ।
२०७०–२०७३ सालसम्म पहिलो र २०७३–२०७७ सम्म नारायणप्रसाद गौडेल दुई कार्यकाल सभापति रहे । हाल दिनेश सिग्देल कोहलपुर उपशाखा कार्यसमितिको सभापति रहेका छन् । उपशाखामा हाल १७ पुरुष र २ महिलागरी १९ यशस्कर सदस्य रहेका छन् भने ४९ पुरुष र ११ महिलागरी ६० जना विशिष्ट सदस्य रहेका छन् । यस्तै ६ सय १८ जना आजीवन सदस्य रहेको उपशाखामा ६ जना पाँच वर्षे सदस्य र युनियर युवा सर्कलको सङ्ख्या १७ जना रहेको छ । जुनियर रेडक्रस सर्कलमा १७ विद्यालय आवद्ध रहेका छन् ।
प्राथमिक सेवा तथा एम्बुलेन्स सेवा
नेपाल रेडक्रस सोसाइटी उपशाखा कोहलपुरले एम्बुलेन्स सेवा प्रदान गर्दै आएको छ । उक्त सेवा वि.स. २०६२ सालदेखि नै सुरु गरिएको थियो । हाल उपशाखाले दुई वटा एम्बुलेन्समार्फत सेवा दिइरहेको छ । जसमध्ये हालसम्म सडक दुर्घटनाबाट प्रभावित ५ सय १२ जना बढी घाइतेले निःशुल्क सेवा पाएका छन् । ७ सय ६० जना बढीले न्यूनतम् शुल्कमा एम्बुलेन्स सेवा पु¥याइएको छ । केही समय उपशाखाले चार वटा एम्बुलेन्स सञ्चालन गरेको थियो ।
दुई वटा बिग्रिसकेका छन् । तीमध्ये एउटा उपशाखा आफैँले खरिद् गरेको थियो । एउटा प्लान नेपाल र दुई वटा भारतीय दुतावासले अनुदान दिएका हुन् । शाखाले नेपालका विभिन्न स्थानमा बिरामीको माग अनुसार सरकारी तथा निजी अस्पतालहरूमा सेवा पु¥याएको छ ।
कार्यालय प्रमुख युवराज पोखरेलका अनुसार उपशाखाले विद्यालय स्तरीय प्रतियोगितात्मक कार्यक्रम, िवपद् व्यवस्थापन तथा राहत कार्यक्रम, कम्बल तथा राहत वितरण कार्यक्रम सञ्चालन गरेको छ । उपशाखाले फड्को मार्दै गएको उनले बताए । ‘रेडक्रस मानवीय सेवा प्रदान गर्ने संस्था हो । यसले कोहलपुर क्षेत्रमा रहेर लामो समयदेखि सेवा दिइरहेको छ । सेवाको दायरालाई बढाउँदै गएको छ,’ कार्यालय प्रमुख पोखरेलले मिसन टुडेसँग भने ।
उपशाखाको आफ्नै पक्की भवन
नेपाल रेडक्रस सोसाइटी उपशाखा कोहलपुरको आफ्नै सुविधासम्पन्न पक्की भवन छ । पक्की भवन दुई कट्टा क्षेत्रफलमा फैलिएको छ । उक्त क्षेत्रलाई नारायणप्रसाद गौडेल सभापति हुँदा उपशाखाको नाममा नामसारी गरिएको थियो । उक्त भवनको २०६५ चैत्र १४ गते शिलान्यास गरिएको थियो ।
नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय अध्यक्ष संजिव थापा र कोहलपुर नगर विकास समितिका अध्यक्ष फूलाराम थारूले भवनको शिलान्यास गरेका थिए । यस्तै, नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय अध्यक्ष संजिव थापाले नै नेपाल रेडक्रस सोसाइटी उपशाखा कोहलपुर, बाँकेको (ब्लक ए) को शिलान्यास गरेका हुन् । (ब्लक ए) को निर्माण उपभोक्ता समितिका संयोजक नारायणप्रसाद गौडेल रहेका थिए ।
त्यतिबेला उपशाखाका सभापति रहेका गौडेल कोहलपुर क्षेत्रका विभिन्न क्षेत्रका दानीहरूको सहयोगमा भवन निर्माण गरिएको बताउँछन् । दुई कार्यकाल सभापति रहेका उनले आफ्नो कार्यकालमा धेरै राम्रा काम भएको बताए । गौडेलले मिसन टुडेसँग भने, ‘म दुई कार्यकाल सभापति रहे । मेरो कार्यकालमा राम्रा काम भएका थिए ।
उपशाखाको आफ्नै भवन निर्माण गर्ने, जग्गामा नाममा ल्याउनेदेखि एम्बुलेन्स सेवा विस्तार गर्नेसम्म काम हामीले गरेका थियौँ ।’ नेपाल रेडक्रस सोसाइटी मानवीय सेवा गर्ने एक उत्कृष्ट सामाजिक सेवामूलक संस्था भएको उनको भनाइ छ ।
रक्तसञ्चार केन्द्र सञ्चालनको तयारी
नेपाल रेडक्रस सोसाइटी उपशाखा कोहलपुरले रक्तसञ्चार केन्द्र सञ्चालनको तयारी गरिएको छ । यहीँ मंसिर १ गते रक्तसञ्चार केन्द्रको उद्घाटन गरिएको थियो । केन्द्रको कोहलपुर नगरपालिकाकी उपप्रमुख संगीता सुवेदीले उद्घाटन गरेकी थिइन् । कूल ५० लाख लागतमा केन्द्र स्थापना गरिएको हो ।
कोहलपुरमा रक्तसञ्चार केन्द्र सञ्चालनको लागि कोहलपुर नगरपालिकाले २५ लाख र उपशाखा कार्यालयले २५ लाख रूपैयाँ लगानी गरेका छन् । उपशाखाको भवनमै अत्याधुनिक सेवासहित केन्द्र स्थापना गरिएको छ । केन्द्रमा रगत संकलन, वितरण र स्टोर गर्नका लागि छुट्टाछुट्टै कक्षको स्थापना गरिएको छ ।
रगत संकलन र संकलित रगतलाई सुरक्षित राख्नका लागि आवश्यक पर्ने सम्पूर्ण उपकरणहरूको व्यवस्था गरिएको कार्यालयले जनाएको छ ।
नेपाल रेडक्रस सोसाइटी उपशाखा कार्यालय कोहलपुरका सभापति दिनेश सिग्देलले रक्तसञ्चार केन्द्र कोहलपुरको लागि निकै फाइदाजनक हुनेछ । शिलान्यास भइसकेकोले छिटो सञ्चालन गरिने उनको भनाइ छ । केन्द्र सञ्चालनको लागि केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाले अनुगमन गर्नुपर्छ ।
सिग्देलले केहीदिनमा अनुगमन गर्ने र अनुमतिपछि सञ्चालन हुने उनले बताए । केन्द्रले सेवाग्राहीलाई सेतो र रातो प्रदान गर्नेछ । जिल्लामा खजुरास्थित क्यान्सर अस्पतालमा सेतो रगत माग हुने गरेको छ । भने नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा रातो रगत माग हुने गरेको छ । दुई वटा मेसिन रहनेछन् । सिलर र वइट मेसिन रहने उपशाखाले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्