बाँकेका ६ वटा पालिकामा माओवादी केन्द्रको अधिवेशन एकैसाथ सुरु



नेपालगन्ज ।

बाँकेका आठमध्ये छ वटा पालिकामा नेकपा (माओवादी केन्द्र)को पालिका तहको अधिवेशन शुक्रबार एकैसाथ उद्घाटन गरिएको छ ।

बाँकेका खजुरा र जानकी गाउँपालिकामा बाहेक सबै स्थानीय तहमा शुक्रबारदेखि अधिवेशन सुरु भएको हो । कोहलपुर नगरपालिकामा उद्घाटनअघि ¥याली समेत आयोजना गरिएको थियो । जसलाई पार्टीले खबरदारी ¥याली नाम दिएको छ ।

कोहलपुर नगरपालिका अधिवेशनको उद्घाटन पार्टीका महासचिव देव गुरुङले गरेका थिए । यसैगरी नेपालगन्ज उपमहानगरपालिकाको अधिवेशन पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले गरे भने राप्तीसोनारीमा स्थायी कमिटि सदस्य महेश्वरजंग गहतराज अथक, बैजनाथमा स्थायी कमिटि सदस्य पूर्णाकुमारी सुवेदी, डुडुवामा प्रकाश सुवेदी चन्द्रकान्त, नरैनापुरमा नरेन्द्र न्यौपानेले उद्घाटन गरे ।

जानकी गाउँपालिकाको अधिवेशन शनिबार र आइतबार हुने भएको छ भने खजुराको अधिवेशन आन्तरिक कारणले पुस २५ र २६ गते हुने पार्टी जिल्ला सचिव डिल्ली बरालले जानकारी दिए । उनले शुक्रबार अधिवेशन उद्घाटन भएका स्थानीय तहमा शनिबार बन्द सत्र सुरु हुने र निर्वाचन प्रणालीबाटै कमिटीहरू चयन गरिने जानकारी दिए ।

विधानअनुसार पहिले कार्यसमितिमा रहने सदस्यहरू निर्वाचनबाट छानिने अन्तमा उक्त समितिले पदाधिकारी टुंगो लगाउने भएको अधिवेशन केही लम्बिने सम्भावना रहेको उनले बताए । ‘हामीले सबै जिम्मेवारी स्थानीय तहका कमिटिहरूलाई नै दिएका छौँ ।

उहाँहरूले सर्वसम्मत गर्नुभयो भने त्यहीअनुसार हुन्छ । नभए अभिमतसहितको प्रक्रियाका लागि अधिवेशन तय गरिएको हो ।’ उनले मिसन टुडेसँग भने ।

  • No tags available
प्रकाशित मिति : २०८१ पुस १३ गते शनिबार