नेपालगन्जमा फागुन १९ गतेदेखि लुम्बिनी कप



बाँके ।

लुम्बिनी कप महिला फुटबल आगामी फागुन १९ गतेदेखि बाँकेको नेपालगन्जमा हुने भएको छ । अन्तरालको आयोजना र बाँके जिल्ला फुटबल संघको सहकार्यमा नेपालगन्जस्थित रंगशालामा हुने उक्त फुटबलमा नेपाल र छिमेकी मित्र राष्ट्र भारतका ८ टिम सहभागी हुनेछन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजकलाई सोमबार पत्रमार्फत लुम्बिनी कप महिला फुटबल सञ्चालनको लागि फागु

न १९ देखि २९ गतेको समय दिएको बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले बताए । यस प्रतियोगिताले बाँके र यस क्षेत्रमै नयाँ प्रतिभाहरू आउने विश्वास व्यक्त गर्दै उनले बाँके जिल्ला फुटबल संघ लुम्बिनी कपलाई सफल पार्न जुटिसकेको जानकारी दिए ।

यस अघि गत मंसिर १६ गते नेपाली महिला फुटबल राष्ट्रिय टिमकी पहिलो क्याप्टेन रमा सिंह र वर्तमान क्याप्टेन एन्जिला तुम्वापो सुव्वाले संयुक्त रूपमा काठमाडौँमा लुम्बिनी कपको लोगो सार्वजनिक गरेका थिए । लोगोमा शान्तिका अग्रदुत भगवान गौतमवुद्ध र महिला फुटबल खेलाडीको तस्बिर राखिएको छ भने नेपाली राष्ट्रिय झण्डाको रङ्ग नीलो र सिम्रिक रातो प्रयोग गरिएको छ ।

सो अवसरमा दुवै क्याप्टेनले खुसी व्यक्त गर्दै प्रतियोगिता महिला फुटबलको विकासका लागि महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका थिए । आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले एन्फालाई विशेष धन्यवाद दिँदै बाँके जिल्ला फुटबल संघ र अन्तरालको संयुक्त प्रयासबाट लुम्बिनी कपले साकार रूप लिन लागेको दाबी गरे ।

‘लुम्बिनी कप महिला फुटबल पश्चिम नेपालकै गर्व गर्न लायक इभेन्ट बन्ने निश्चित छ’ उनले भने, ‘फुटबल मात्रै होइन, पश्चिम नेपालकै पर्यटन विकासमा समेत यो कोशेढुंगा बन्नेछ ।’

  • No tags available
प्रकाशित मिति : २०८१ पुस १० गते बुधबार