खासगरी बाँके राष्ट्रिय निकुञ्जको राजमार्ग क्षेत्रमा फोहोरमैला फाल्ने क्रम बढेपछि निकुञ्ज प्रशासन र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको रणबम गणले थप कडाई गर्न थालेका छन् । कडाईका साथसाथै उनीहरूले सरोकारवालाहरूसँग सचेतनामूलक कार्यक्रमसमेत गरिरहेका छन् ।

कोहलपुर ।
बाँके राष्ट्रिय निकुञ्ज राजमार्ग क्षेत्रको फोहोर व्यवस्थापन र सवारी साधनको गति नियन्त्रणका लागि सरोकारवालाहरूसँग सचेतनामूलक कार्यक्रम गर्न सुरु गरिएको छ । राजमार्ग क्षेत्रको फोहोर व्यवस्थापन र सवारी साधनको गति नियन्त्रणका लागि बाँके राष्ट्रिय निकुञ्ज र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको रणबम गणले सचेतनामूलक कार्यक्रम थालेका हुन् ।
सोही क्रममा शुक्रबार कोहलपुर बसपार्कमा यातायात व्यवसायी, चालक, सहचालक लगायतहरूसँग निकुञ्ज क्षेत्रको फोहोर व्यवस्थापन र सवारी साधनको गति नियन्त्रणका बारेमा सचेतनामूलक अन्र्तक्रिया गरिएको थियो । कार्यक्रममा रणबम गणका गणपति प्रमुख सेनानी प्रविन थापाले निकुञ्जको राजमार्ग क्षेत्रमा हुने फोहोरमैला व्यवस्थापन चूनौतीपूर्ण बन्दै गएकोमा चिन्ता व्यक्त गरे ।
‘आफू आएको केही समय राजमार्गको फोहोर व्यवस्थापनमै बित्यो । आफ्नो घर आँगन मात्रै सफा राख्ने तर, वनमा फोहोर जथाभावी फाल्ने बानीले समस्या निम्ताएको हो’ प्रमुख सेनानी थापाले अगाडि थपे । अहिले निकुञ्जको राजमार्ग क्षेत्रका विभिन्न ठाउँहरूमा फोहोर व्यवस्थापन गर्न डस्बिनको व्यवस्थापन गरिएको भन्दै उनले जानकारी भएन भनेर सडकमा फोहोर गर्नेलाई अब छुट नहुने बताए ।
फोहोरमैला हुँदा स्वास्थ्यमा असर र तीव्र गतिले सवारी दुर्घटना बढ्ने भएकाले सचेत रहन आग्रह प्रमुख सेनानी थापाले सबैलाई आग्रह गरे । फोहोरमैला मात्र नभई सवारी दुर्घटनामा कम गर्न ओभरीदेखि खैरेनीसम्म टाइमकार्ड लागू गरिएको उनले जानकारी दिए ।
बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले निकुञ्जभित्र रहेका जिवजन्तु र पशुपन्छीको संरक्षण गरे पर्यापर्यटनबाट मनग्य आम्दानी गर्न सकिने बताए । लोपउन्मुख जनावरहरूको संरक्षण र फोहोरमैला व्यवस्थापन गर्न सबैको सहकार्य र सहयोगको आवश्यक रहनेमा उनले जोड दिए ।
‘सवारी साधन बिच सडकमा रोक्दा यात्रुहरूले जथाभावी फोहोर फाल्ने र तीव्र गतिमा सवारी साधन चलाउँदा वन्यजन्तुको मृत्यु हुने गरेको छ’ वरिष्ठ संरक्षण अधिकृत कँडेलले भने ।
निकुञ्ज राजमार्ग क्षेत्रको फोहोर व्यवस्थापन र सवारी साधनको गति नियन्त्रणका लागि गरिएको सचेतनामूलक अन्र्तक्रिया कार्यक्रममा वडाध्यक्षहरू वीरेन्द्रकुमार शाह, हरि कठायत, सुरक्षाकर्मी, यातायात व्यवसायी, सवारी चालक तथा सहचालक, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्