नेपालगन्ज ।
वातावरण विभागले वायु प्रदूषण हुन नदिन कृषिजन्य अवशेष नजलाउन एक सूचनामार्फत अपिल गरेको छ ।
मंसिरदेखि जेठ महिनासम्म वायु प्रदूषण उच्च हुने गरेको भन्दै विभागले कृषि अवशेषका साथै वन डढेलो नलगाउन, खुला रूपमा फोहोर तथा कृषिजन्य अवशेष तथा प्लास्टिक नजलाउन आग्रह गरेको हो ।
विगत केही हप्तादेखि नेपालको तराई क्षेत्रलगायत काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढेको पाइएको विभागले जनाएको छ । विभागले सूचनामा भनेको छ, ‘वायु प्रदूषणले मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने र विशेष गरी बालबालिका, वृद्धवृद्धा एवम् श्वासप्रश्वास र मुटुका बिरामी, गर्भवती महिलाहरूलाई बढी प्रभाव पार्ने भएकाले यस्तो बेला विशेष सावधानी अपनाउनु हुन अनुरोध छ ।’
बाँकेलगायत तराईका जिल्लामा पछिल्लो समय कृषि अवशेष जलाउने प्रवृत्ति बढ्दै गएको छ । पशुपालन घट्नु र धान काट्न मेसिनको प्रयोग गरिँदा कृषि अवशेष जलाउने क्रम बढेको विभिन्न अध्ययनहरूले देखाएका छन् ।
भारतको उत्तर प्रदेश र पञ्जाब लगायत क्षेत्रमा पनि किसानले कृषि अवशेष जलाउँदा दिल्ली र पाकिस्तानको लाहोर क्षेत्रमा प्रदूषण दर उच्च भएको सञ्चार माध्यमहरूमा खबर छन् । जसको असर नेपालसम्मै आइपुगेको सरोकारवालाहरू बताउँछन् ।









प्रतिक्रिया दिनुहोस्