सुर्खेत ।
कालीकोटको पलाँता गाउँपालिका–३ राडुनेटामा भएको जिप दुर्घटना ७ जनाको मृत्यु भएको छ भने १२ यात्रु गम्भीर घाइते भएका छन् । पलाँता गाउँपालिका–५ खिनदेखि थिर्पुतर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ज५६ नम्बरको जिप आइतबार दिउँसो राडुनेटामा दुर्घटनामा परेको हो ।
जिपमा सवार ६ जनाको दुर्घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जानकारी दिएको छ । गम्भीर घाइते १३ जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरेर उपचारका लागि कर्णाली प्रादेशिक अस्पताल सुर्खेत पु¥याइएको थियो ।
घाइतेमध्ये जिपका चालक सल्यान शारदा नगरपालिकाका ५५ वर्षीय धनीराम रावतको उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो ।
अन्य घाइतेहरूको प्रादेशिक अस्पतालमै उपचार भइरहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
मृत्यु र घाइते सबैजनाको पहिचान खुलिसकेको छ । जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) टेकबहादुर रावतका अनुसार अन्य मृत्यु हुनेमा पलाँता गाउँपालिका–६ की दशकला शाही, सोही ठाउँका पदम बम, भगवती रोकाया र गणेश शाही, पलाँता–५ की छाया शाही तथा पलाँता–३ का दमन रोकाया रहेका छन् ।
यस्तै, दुर्घटनामा परेर घाइते हुनेहरूमा पलाँता–६ का केशव थापा, किशोर थापा, विजय थापा, रिदम शाही, प्रतिक्षा शाही, आशिष रोकाया र भुपेन्द्र रोकाया, पलाँता–३ का दानबहादुर रोकाया, निर्मला रोकाया र जगत रोकाया तथा पलाँता–५ का दोली विक र आयुशा विक रहेका कालीकोट प्रहरीले जनाएको छ ।
जिप दुर्घटनाको कारण भने खुल्न नसकेको कर्णाली प्रदेश ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ । दुर्घटना भएको डबल क्याप जिपमा १९ जना सवार रहेका थिए । क्षमताभन्दा बढी यात्रु बोकेका कारण अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने ट्राफिक प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।









प्रतिक्रिया दिनुहोस्