सुर्खेत र चितवनमा भएका सवारी दुर्घटनामा ९ जनाको मृत्यु



सुर्खेत ।

सुर्खेत र चितवनमा भएका शुक्रबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर ९ जनाको मृत्यु भएको छ भने अन्य ३१ जना घाइते भएका छन् ।

शुक्रबार दिउँसो दैलेखबाट सुर्खेत आउँदै गरेको फोर्स गाडी वीरेन्द्रनगर नगरपालिका–१४, रातानाङ्ग्ला नजिकै भएको दुर्घटनामा परी मृत्यु भएका ४ जनाको मृत्यु भएको थियो । सो दुर्घटनामा अन्य ३० जना घाइते भएका छन् ।

देउती नागरिकको कर्णाली प्रदेश ०२००१ख०९९८ नम्बरको फोर्स गाडी सुर्खेत–दैलेख सीमास्थित रातानाङ्ग्ला नजिकै सडकबाट करिब दुई सय मिटर तल भीरमा खसेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) रूपेश खड्काले जानकारी दिए । उनका अनुसार मृतक सबैको सनाखत भइसकेको छ ।

एसपी खड्काका अनुसार मृत्यु हुनेमा दैलेखको भैरबी गाउँपालिका–५ का गाडी चालक ३८ वर्षीय सुरेश केसी, वडा नं. २ का ३६ वर्षीय कर्णबहादुर विष्ट, वडा नं. १ की १६ वर्षीया दीपिका महतारा र २१ वर्षीया संगीता विष्ट रहेका छन् ।

दुर्घटनामा परी घाइते भएका ३० जनामध्ये ३ जनाको अवस्था गम्भीर रहेको सुर्खेत प्रहरीले जनाएको छ । घाइते सबैको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ । यस्तै शुक्रबार नै नारायणगढ मुग्लिन सडकको सत्रकिलोमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको थियो । सत्रकिलोमा शुक्रबार बिहान तीन बजेतिर माइक्रो बस र बस एक आपसमा ठोक्किएका थिए ।

मृतक पाँचमध्ये तीनजनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) भेषराज रिजालले बताए । उनका अनुसार दुईजनाको नाम ठेगाना खुलेको छैन । अन्दाजी ४० वर्षकी महिला र अर्काे एकजना पुरूषको सनाखत हुन नसकेको हो ।

मृत्यु हुनेमा माइक्रोबसका चालक चितवन खैरहनी–४ का ३९/४० वर्षीय अनोज अधिकारी र माइक्रो बसका यात्रुहरू भारतका राजकुमार साह र गोरखा आरूघाट गाउँपालिका–१ मान्बुका राजबहादुर गुरूङ रहेका छन् ।

मृतक पाँचजना र गम्भीर घाइते एकजना सबै माइक्रो बसमा सवार भएकाहरू हुन् । गम्भीर घाइते एकजनाको चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ कात्तिक २४ गते शनिबार