कोहलपुर ।
ठूलो परिमाणमा गाईगोरुको मासुसहित बाँकेमा ५ जना पक्राउ परेका छन् । करिब १० क्विन्टल गाईगोरुको मासुसहित सोमबार बिहान ५ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । नेपालगन्ज उपमहानगरपालिका–२० नयाँबस्तीबाट उनीहरू पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय कोहलपुरको प्रहरी टोलीले उनीहरूलाई गाईको मासु काटेर बजार ल्याउँदै गरेको अवस्थामा पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) धर्मराज भण्डारीले करिब १० क्विन्टल गाईको मासुसहित ५ जना पक्राउ परेको जानकारी दिए ।
जानकी गाउँपालिका–६ को बुढिया गाउँमा सामूहिक रूपमा गाईगोरु काटिएको थियो । गाईको मासु काटिएको स्थानसम्मै पुगेर प्रहरीले गाईगोरुका टाउको, खुट्टा, हाडखोरसमेत बरामद गरेको डिएसपी भण्डारीले बताए ।
‘गाइगोरु काटेर मासु बजारमा लैजाँदै गर्दा उनीहरू पक्राउ परेका हुन्,’ डीएसपी भण्डारीले मिसन टुडेसँग भने, ‘उनीहरू पक्राउ परेपछि हामीले गाईगोरु काटिएको स्थानमै पुगेर टाउको, खुट्टा, हाडखोर लगायतका बस्तु बरामद ग¥यौँ ।’ भे१ज ३८९ नम्बरको म्याजिक भ्यानमा राखेर बजारतिर ल्याउँदै गरेको अवस्थामा मासुसहित उनीहरू पक्राउ परेका थिए ।
पक्राउ पर्नेमा खजुरा गाउँपालिका–८ चमकदारपुरका ३७ वर्षीय इस्माइल जोलाह, रनियापुरका नेपाली भनिने ३८ वर्षीय अहमुद्दिन खान, सोही स्थानका लोहार भनिने जाविद सिकवा र जानकी गाउँपालिका–५ बुढियागाउँका १९ वर्षीय सफिक आलम पठान र सोही स्थानका ३४ वर्षीय असानु खान रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । उनीहरूमाथि थप अनुसन्धान अगाडि बढाइएको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी भण्डारीले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्