बुटवल ।
गुल्मीको रेसुंगा विमानस्थलबाट एक महिनापछि पुनः उडान सुरु भएको छ ।
मौसम खराबको कारणले असोज ४ गतेदेखि लगातार उडान अवरुद्ध हुँदै आएको थियो । मौसममा सुधार आएको भन्दै बुधबार र शुक्रबार उडान सुरु गरेको नेपाल एयरलाइन्स रेसुंगा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले जानकारी दिए ।
विमानस्थलका लागि काठमाडौँबाट बिहान ६ बजेर ३० मिनेट र काठमाडौँका लागि बिहान ७ बजेर ४५ मिनेटमा उडान हुने गरेको छ । बिहानी समयमा बादल लाग्ने गरेकाले लगातार उडान अवरुद्ध हुदै आएको थियो । मौसम खराबको कारणले गत असारको दोस्रो साताबाट २ महिनासम्म उडान अवरुद्ध हुँदै आएको थियो ।
पछिल्लो भदौ महिनामा केही दिन उडान भएको थियो । तर अहिले दसैँतिहार जस्ता महत्वपूर्ण चाडपर्वको समयमा लगातार एक महिनासम्म उडान अवरुद्ध हुँदा नागरिकले सेवा लिनबाट बञ्चित भएका थिए ।
यात्रुको अत्यधिक चाप बढेपछि रेसुंगा विमानस्थलबाट साप्ताहिक तीन उडानको अनुमति पाएको छ । अहिले गुल्मीबाट काठमाडौँका लागि ७ हजार ८० र काठमाडौँबाट गुल्मीका लागि ७ हजार २८० रुपैयाँ भाडा रहेको छ ।









प्रतिक्रिया दिनुहोस्