प्रचण्डलाई जिम्मेवार बन्न एमाले महासचिवको आग्रह



महासचिव पोखरेलले काठमाडौँका मेयर बालेनले लगाएको आरोपबारे सम्बन्धित निकायले पुष्टि गर्ने भएकाले खासै बोल्न आवश्यक नरहेको धारणा राखेका थिए । बालेनले प्रधानमन्त्रीसँग उक्त विषय जोड्न जरुरी नभएको उनको भनाइ थियो ।

सुर्खेत ।

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेकपा माओवादीलाई असल प्रतिपक्षको भूमिका निर्वाह गर्न आग्रह गरेका छन् । महासचिव पोखरेले सत्ताबाट बाहिरिएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गैरजिम्मेवारी पूर्ण अभिव्यक्ति दिने गरेको भन्दै जिम्मेवारीपूर्ण प्रतिपक्षको भूमिका निर्वाह गर्न आग्रह गरे ।

नेकपा एमाले कर्णाली प्रदेश समितिको सचिवालय बैठकमा सहभागी हुन आएका महासचिव पोखेरलले बिहीबार पत्रकारसँग कुरा गर्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं संसद्को प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सकारात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

सत्ताबाट बाहिरिएपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अलोकतान्त्रिक अभिव्यक्ति दिने गरेको आरोप लगाए । ‘प्रचण्डको अतिवादी दृष्टिकोणबाट अनेकखाले अस्थिरता मच्चाउने काम भइरहेको छ,’ उनले भने, ‘प्रतिपक्ष दलका नेताको असंसदीय राजनीतिका कारण संसदभित्र किचलो भएको छ । प्रतिपक्ष दलको नेताले श्रीलंका र बंगलादेशमा उदाहरण दिन हुन्थेन । त्यो लोकतान्त्रिक हुन सक्दैन ।’

पत्रकारहरूको जिज्ञासाको जबाफ दिँदै महासचिव पोखरेलले काठमाडौँका मेयर बालेनले लगाएको आरोपबारे सम्बन्धित निकायले पुष्टि गर्ने भएकाले खासै बोल्न आवश्यक नरहेको धारणा राखेका थिए । बालेनले प्रधानमन्त्रीसँग उक्त विषय जोड्न जरुरी नभएको उनको भनाइ थियो ।

महासचिव पोखरेलले नयाँ सरकार बनेपछि अर्थतन्त्र चलायमान हुन थालेको भन्दै युवाहरूलाई स्वदेशमा रोजगारीका अवसर सिर्जना गर्न ‘स्टार्टअप’ परियोजना सुरु गरी बिनाधितो कर्जा लिने व्यवस्था गरिएको पनि जानकारी दिए ।

महासचिव पोखरेलले २०८४ मा एमालेलाई देशकै बलियो र राष्ट्रिय शक्ति स्थापित भएर छोड्ने उनले दाबी गरे । आगामी निर्वाचनमा कांग्रेस–एमाले दुवै दल एक्लाएक्लै लड्ने पनि उनको भनाइ थियो । पोखरेलले पार्टीका कर्णाली प्रदेश अध्यक्ष गुलाबजंग शाहबारे कुनै उजुरी नरहेको
प्रष्ट्याए । ‘गुलाबजंगका बारे गरिएको कुप्रचार अनुचित हो,’ महासचिव पोखरेलको भनाइ थियो, ‘ उनका बारेमा कथा बुनिएको हो ।’

अर्को फरक प्रसंगमा महासचिव पोखरेलले सरकारप्रति कांग्रेस महामन्त्रीद्वय असन्तुष्ट रहेको भन्ने कुरा बनावटी रहेको जिकिर गरे । ‘कांग्रेसको औपचारिक निर्णय नै यो समीकरण कांग्रेसको मेहनतको परिणाम हो भन्ने छ । महामन्त्रीको सहमतिविपरीत पार्टीको त्यो निर्णय भएको होला
र ?’  पत्रकारले सोधेको प्रश्नमा पोखरेलले प्रतिप्रश्न गरे ।

  • No tags available
प्रकाशित मिति : २०८१ भदौ २१ गते शुक्रबार