गणेश विशु
हामी तीनजना अति मिल्ने साथी छौं । हामी तीनैजनाको पृष्ठभूमि पत्रकारिता हो । अहिले तीनजना तीनतिर छौं । एउटा विदेश छ भने अर्काे बाँकेभन्दा बाहिर । तर, हाम्रो सामाजिक सञ्जाल र टेलिफोनमार्फत नियमित कुराकानी हुन्छ । एकजना साथी पृष्ठभूमि पत्रकारिता भए पनि अहिले पत्रकारिताबाट अलि टाढा छ । उ एउटा गैरसरकारी संस्थामा आबद्ध छ । मैले दुवैजना साथीको नाम उल्लेख गर्न चाहेनँ ।
किनकी, मैले यहाँ व्यक्तिभन्दा प्रवृत्तिलाई जोड्न खोजेको छुँ । गैरसरकारी संस्थामा काम गर्न थालेदेखि उसले समाचार लेख्न छाड्यो । उसँग नेपाल पत्रकार महासंघको सदस्यता भने थियो । एकजना विदेश छ, म पत्रकारिताको मूल पेसाभन्दा बाहिर छैन ।
नेपाल पत्रकार महासंघले अहिले शुद्धिकरण अभियान ल्याउँदा उ महासंघको मापदण्डमा अटाउन सकेन । सकोस् पनि कसरी ? विचरा ! धेरै भयो समाचार नलेखेको । महासंघको सदस्यता नवीकरण नभएकोमा भने साथीलाई ठूलो गुनासो छ । उसले महासंघको मापदण्डप्रतिनै असन्तुष्टि पोख्छ ।
सदस्यता नवीकरण नभएकोमा उसले महासंघको नेतृत्व र सिंगो पत्रकारिताप्रति धावा बोलिरहेको हुन्छ । अझ उसले दिने प्रतिक्रिया सुन्दा लाग्छ, ‘सबैभन्दा क्रियाशील पत्रकार नै उही हो । अरु त सब बेकामे हुन् ।’ पछिल्लो समय हामी तीनको भेटघाट भने पातलिँदो छ । भेटघाट पातलिनुको कारण भने शुद्धिकरण होइन । हामी तीनैजना फरकफरक ठाउँ हुँदा हो ।
अहिले पहिलेको कुरा, हामीसँगै हुँदा नयाँ साथीसँग चिनजान गर्नुपर्दा पेसा फरकफरक भन्थ्यौं । हामी दुई पत्रकार भन्थ्यौं भने उसले आफू कार्यरत संस्था र पद भन्थ्यो । उसलाई त्यसमै गर्व लाग्थ्यो । उसले कहिलेकतै पनि भनेन म पत्रकारिता गर्छु । उसलाई पत्रकारिताको परिचय दिँदा आत्मगलानी हुन्थ्यो जस्तो लाग्छ ।
सुर्खेत, कालीकोट, दाङ, रुकुमलगायतका जिल्लाबाट नेपालगन्ज आउने मेरा पत्रकार साथीहरुसँग परिचय गराउँदा पनि उसले म पहिला पत्रकारिता गथ्र्ये भनेन । मैले कयौंपटक भनेको छुँ, ‘ऊ (शुद्धिकरणमा परेको साथी) पहिला पत्रकारिता गथ्र्याे । अहिले जागिरे भा’छ ।’ तर त्योभन्दा उसले अप्ठ्यारो अनुभूति भएजस्तो मलाई अनुभव हुन्थ्यो ।
विदेश गएको साथीको सदस्यता नवीकरण नहुँदा उ (विदेश गएको साथी) बेखुसी छैन । उसले यसलाई सामान्य मानेको छ । (हामी तिनैजनाको सदस्यता बाँकेबाट छैन) ।
मेरो अर्काे साथी पनि छ । उसको एउटा अनलाइन छ । त्यो अनलाइन हेर्ने हो भने, कति महिना पुग्यो होला समाचार अपडेट नगरेको । यो चाहिँ बाँकेकै हो । तर, उसले चाहिँ म पत्रकार भन्दै परिचय दिन्छ ।
तर, उसँग मलाई हिँड्न त्यति खुसी लाग्दैन । समाचारै लेख्दैन, तर पत्रकार हुँ भन्दै परिचय दिँदा आफूलाई कताकता अपमानित भए जस्तो महसुस हुन्छ । उसले पत्रकारकै परिचय दिएर अन्य व्यावसायिक काम गर्छ । उसले काममा मेहनत गरेको त छ तर, अर्काे कुरा पत्रकारिता पेसाको बदनाम र अपमान पनि गरेको छ ।
जसले गर्दा पनि मलाई उसँग संगत गर्न त्यति मन लाग्दैन । पैसा अलिअलि कमाएको पनि छ । पत्रकारभन्दा केहीलाई डर मान्ने बनाएको पनि छ । कहिलेकसो स्टाटस भने लेख्छ । कतिपयले उसका स्टाटस पढेर भन्छन्, ‘फलानो पत्रकारले समाचार लेख्यो नि । अरुले लेखेनन् ।’ उसको स्टाटसलाई यो भिडले समाचार भनेर चिन्छ ।
तर, समाचारलाई चिन्दैन र वास्तै गर्दैन । यो विडम्बना मात्र होइन, पत्रकारिताप्रतिको समाजको चेत कति छ भन्ने उदाहरण पनि हो ।
पत्रकार महासंघले सदस्यता शुद्धिकरण गर्न जरुरी थियो । अभियान सुरु ग¥यो र पत्रकारको सदस्यता बोकेर अरु नै काम गर्नेलाई बिदाइ ग¥यो । वास्तविक पत्रकार पहिचान ग¥यो । जसको पेसा जे छ त्यही बनाइदियो महासंघले । यसलाई व्यावसायिक पत्रकारले स्वागत गर्नुपर्छ ।
सार्वजनिक ठाउँमा पत्रकारको परिचय लुकाएर म यो वा त्यो संस्था वा व्यावसायिक कम्पनी वा फर्मको प्रमुख वा अन्य तहगतको कर्मचारी वा सञ्चालक हुँ भन्नेको सदस्यता खारेज हुँदा म चाहिँ खुसी छुँ । अर्को खुसी चाहिँ, भएभरको अनलाइनबाट समाचार कपी गरेर अनलाइन अपडेट गर्ने र पत्रकार सदस्यता भिराउनेको खारेज हुँदा हो ।
तर दुखी भने, अन्य पेसाव्यवसायमा लागेर पनि नियमित इमान्दारिताका साथ पत्रकारिताको कर्म गरेका केही साथी छुट्दा हो । यदी इमान्दारिताका साथ मोफसलमा पत्रकारितालाई टिकाउन उसको ‘साइड’ पेसा, व्यवसाय जरुरी छ जस्तो लाग्छ ।
न्यूनतम पारिश्रमिकले मोफसलको पत्रकारिता दीर्घकालीन बन्न सक्दैन । यस विषयमा महासंघले ध्यान दिन जरुरी छ । पत्रकारले पत्रकारिताको धर्म, कर्म र कर्तव्य पूरा ग¥यो वा गरेन यसलाई मूल्यांकन गर्नुपर्छ । आफ्नो ड्यिुटी समयभन्दा अघि वा पछि आर्थिक उपार्जनका लागि पत्रकारिताको दुरुपयोग र आँच नआउने गरी काम गर्दा यसले थप मोफसलको व्यावसायिक पत्रकारितामा टेवा पुग्ने मेरो बुझाइ छ । म गतल पनि हुन सक्छुँ ।
केही छुट्न नपर्ने शुद्धिकरणमा परेका भए यसलाई महासंघले पुनर्विचार गर्नु पर्ला । फाल्नै पर्नेलाई फालेकोमा त महासंघलाई धन्यवाद दिन हिच्किचाउनु हुन्न ।
पत्रकार बन्न के गर्नुपर्छ, सामान्य विधि र पक्रिया त भुल्नु भएन नि । एकपटक समाचार लेखे त्यो व्यक्ति आजीवन पत्रकार बनिरहने परम्परा तोड्न जरुरी छ । पूर्व प्रहरी, पूर्व कर्मचारी, पूर्व शिक्षक हुन्छन् ।
जागिरेबाट बाहिरेपछि अन्य पेसाका व्यक्तिले पूर्व लेख्छन् । तर, पत्रकारितामा भने पूर्व नहुने ? लोकसेवा, शिक्षक सेवा आयोगलगायत अन्य क्षेत्रका परीक्षामा नाम निकालेर जागिरे हुँदा पनि पत्रकारको कार्ड हुनुपर्ने ।
यो बिडम्वना होइन र ? महासंघले जुन अभियान चालेको छ यसलाई सघाउन अनिवार्य छ । यति मात्र होइन, विभिन्न जिल्लामा महासंघको नेतृत्वप्रति पनि प्रश्न उठेका छन् ।
शुद्धिकरणमा विरोधका स्वर आउनु महासंघको जिल्लागत नेतृत्वप्रति प्रश्न ठडिँदा हो । यसलाई महासंघले आगामी दिनमा गम्भीररुपमाले समीक्षा गर्न जरुरी छ ।