बजेट अभावमा सडक निर्माणकार्य अलपत्र



हेमन्त केसी । जाजरकोट ।

भेरी करिडोरअन्तर्गत जाजरकोटको तल्लुदेखि डोल्पाको सदरमुकाम दुनैसम्म अस्थायी ट्र्याक खोलिएको सडक निर्माणकार्य रोकिएको छ । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयअन्तर्गत ६२ किलोमिटर सडक कालोपत्रका लागि स्रोत सुनिश्चित गर्न माग गरिए पनि अर्थ मन्त्रालयले सहमति नदिँदा काम रोकिएको भेरी करिडोर सडक आयोजना कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्ष नै कालोपत्रका लागि रकम माग गरिए पनि अर्थ मन्त्रालयले हालसम्म सहमति नदिएकाले निर्माण अलपत्र परेको आयोजनाका प्रमुख सुजन अधिकारीले बताए । उनका अनुसार एक सय १८ किलोमिटर सडकमध्ये ५६ किलोमिटरमा ठेक्का भई कालोपत्रको काम जारी छ । जाजरकोटको पासागाडदेखि तल्लुसम्म कालोपत्रको काम यती बिल्ड्रस प्रालिले गरिरहेको जनाउँदै बाँकी ६२ किमी सडकको काम भने रोकिएको उनले बताए ।

‘चालू आवमा पनि माग गरी पठाएका छौँ । यदि अर्थले सहमति दिएर रकम निकासा भए गत आवमा विनियोजन गरिएको बजेटभन्दा चार गुणा बढी बजेट पाउने सम्भावना छ,’ आयोजना प्रमुख अधिकारीले भने । उनका अनुसार गत आवमा सरकारले भेरी करिडोरका लागि ५० करोड रूपैयाँ विनियोजन गरेको थियो ।

उक्त बजेटले जाजरकोट खलंगाको पासागाडदेखि तल्लुअन्तर्गत काम भइरहेको तर रकम अभावका कारण बाँकी काम प्रभावित भएको प्रमुख अधिकारीले बताए । तल्लुबाट त्रिपुराकोटसम्म काम सम्पन्न भए मात्रै यस सडकखण्डले पूर्णता पाउने उनको भनाइ छ । आव २०७९÷८० मा स्रोत सुनिश्चित गरेर काम सुरु गर्ने भनिए पनि अर्थ मन्त्रालयले सहमति नदिँदा काम रोकिएको प्रमुख अधिकारीले बताए ।

यस आवमा पनि स्रोत सुनिश्चित गर्न ढिलाइ गरी काममा अवरोध गर्नु भनेको यस क्षेत्रको विकासमा बाधा पु¥याउने काम भएको डोल्पा त्रिपुराकोटका रामचन्द्र न्यौपानेले बताए । कच्ची सडक र पुल नहुँदा अहिले यस सडकखण्डमा दैनिक यात्रा गर्न सास्ती भइरहेको उनको भनाइ छ ।

भारतको रुपैडिहा, लुम्बिनी प्रदेशको नेपालगन्ज, कर्णालीको सुर्खेत–छिन्चु, सल्यानको सल्लीबजार, जाजरकोट, रुकुम पश्चिम, डोल्पा हुँदै चीनको सिमाना क्याटो, मरिम्लासम्म यो सडक जोडिन्छ । सरकारले यसलाई प्राथमिकतामा राखी त्रिदेशीय सडकका रूपमा विकास गरे चीनसँगको व्यापारमा सहजता आउने डोल्पालीहरूको भनाइ छ ।

यो सडक भेरी नदीको किनारैकिनार गएको छ । दुनैसम्म अहिले कच्ची सडक भए पनि सोभन्दा माथि उपल्लो डोल्पामा भने सडक सञ्जाल पुगेको छैन । पालिकाले आफ्नै पहलमा केही कच्ची सडक निर्माण गरेपछि साना तथा दुईपांग्रे सवारी सञ्चालन हुने गरेको स्थानीय
बताउँछन् ।

पुल निर्माणमा ढिलाइ

पुल निर्माण गर्नसमेत अर्थ मन्त्रालयले स्रोत सुनिश्चित नगर्दा भेरी करिडोरमा बाँकी पुलको कामसमेत हुन नसकेको आयोजना प्रमुख अधिकारीले बताए । ठेक्का सम्झौता भई निर्माण सुरु हुनुपर्ने बेलासम्म पनि पुल विभागले डिजाइन स्वीकृत नगर्दा काममा विलम्ब हुँदै आएको उनले बताए । उनका अनुसार भेरी करिडोरको चुँगाड, रिजिगाड, उसुमखोला, करबगाड, खदाङ, मैदे खोला पक्की पुलका लागि स्रोत सुनिश्चित हुन ढिला भएको छ ।

त्यस्तै तल्लु, छलगाड, झिम्रिखोला, ताँसुगाडको ठेक्का सम्झौता भइसकेको छ भने पिपेको डिजाइन स्वीकृत भएको अधिकारीले जानकारी दिए । उनका अनुसार झिम्रिखोला, नलगाड, करबगाड, खदाङ, त्रिपुराकोटमा अस्थायी बेलिब्रिज निर्माण गरी यातायातका साधन सञ्चालनमा भइरहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८० भदौ २० गते बुधबार