सुर्खेत ।
हुम्लाका दक्षिणी क्षेत्रका बासिन्दाले अझै पनि तुइनको भरमा कर्णाली नदी पार गर्नुपर्ने बाध्यता रहेको छ । आवश्यक ठाउँमा झोलुङ्गे पुल निर्माण हुन नसक्दा स्थानीयले ज्यान जोखिममा पारेर तुइन प्रयोग गर्ने गरेका छन् ।
अदानचुली गाउँपालिका–१ का अंग महताराले ज्यान जोखिममा राखेर कर्णाली नदी तरिरहेको बताए । वर्षौँदेखि झोलुुङ्गे पुलको माग गर्दा पनि योजना नपर्दा हुम्ला र मुगुका स्थानीय दुई जिल्लाको सीमाना दोमुखमा तुइन निर्माण गरेर वारपार गर्ने गरेका छन् । सो स्थानमा हुम्ला र मुगु कर्णाली मिसिन्छ । कर्णाली नदीमा बर्खाको उर्लेको भेलमा पानी छुने गरी तुइन तर्नुपर्दा डर लाग्ने स्थानीय बताउँछन् ।
तुइन पनि धागोको जाली बनुर बनाइएको छ । जालीमा मानिस बस्नु पर्ने र त्यसपछि कर्णाली नदी पार गर्दा निक्कै जोखिम हुने गरेको छ । तुइनबाट यात्रुसँगै सामान पनि ढुवानी गरिन्छ । विगत पाँच वर्षदेखि स्थानीयले तुइन तर्दै आएका छन् ।
अदानचुलीकै अर्का स्थानीय परबहादुर बुढाले दोमुख पुल निर्माणका लागि गाउँपालिकादेखि सबै निकायमा माग गरिएको भए पनि कतैबाट सुनुवाइ नभएको गुनासो गरे । तीन महिनाअघि सो तुइनबाट सामान ढुवानी गर्ने क्रममा जाली चुटिएर सामान नदीमा खसेको बताउँदै उनले कुनै बेला यात्रुहरु पनि त्यसरी पर्ने डर उत्तिकै रहेको बताए । तुइनमा दैनिक ३० देखि ४० जना यात्रुले प्रयोग गर्ने गरेका छन् ।
अदानचुली गाउँपालिकाले आफ्नो बजेटबाट पुल बनाउन श्रोतको अभाव रहेको जनाएको छ । दोमुखमा मात्र नभइ कर्णाली नदीका ६ भन्दा बढी स्थानमा यसरी नै तुइन प्रयोग गर्नुपर्ने बाध्यता छ ।









प्रतिक्रिया दिनुहोस्