गाउँ शिक्षा समिति सदस्यमा मिनराज खड्का र सुमीत्राकुमारी थारुलाई चयन गर्ने निर्णय विविध भन्ने प्रस्तावमा गरिएको छ । जुन प्रस्ताव कार्यसूचीमा थिएन र गाउँ कार्यपालिका बैठकमा छलफलसमेत भएको थिएन । गाउँ कार्यपालिका सदस्यको सहमतिबिना गरिएको यो फर्जी प्रस्ताव र निर्णय थियो ।
नेपालगन्ज ।
राप्तीसोनारी गाउँ कार्यपालिका बैठक असार २३ गते (सोमबार) साँझ करिब ७ बजेसम्मै बस्यो । त्यसभन्दा पहिला कार्यपालिका सदस्यहरुलाई बैठकका कार्यसूची उपलब्ध गराइएको थियो ।
कार्यसूचीमा थियो, ‘नदीजन्य पदार्थको राजस्व निर्धारण र संकलनको आकर्षण स्क्रीम सम्बन्धमा, टोल विकास संस्था गठन र कार्यान्वयन सम्बन्धमा प्रवोधिकरण सम्बन्धमा, आयोजना बैंकको सम्बन्धमा, बजेट तर्जुमा सम्बन्धमा र सरोकारवालाहरुसँग नीति, योजना तथा बजेट तर्जुमा सम्बन्धी छलफल तथा निर्णय गरिने ।’
उक्त बैठक यी प्रस्तावमै छलफल भयो । तर बैठकपछि एउटा निर्णय थपियो । जुन निर्णय थियो, ‘शिक्षा ऐन २०२८ अन्तर्गत गाउँ शिक्षा समितिमा गाउँ कार्यपालिकाबाट प्रतिनिधित्व हुने सदस्यहरुमा देहायबमोजिमका कार्यपालिका सदस्यहरुलाई तोक्ने ।’ गाउँ शिक्षा समिति सदस्यमा मिनराज खड्का र सुमीत्राकुमारी थारुलाई चयन गर्ने निर्णय विविध भन्ने प्रस्तावमा गरिएको छ ।
जुन प्रस्ताव कार्यसूचीमा थिएन र गाउँ कार्यपालिका बैठकमा छलफलसमेत भएको थिएन । गाउँ कार्यपालिका सदस्यको सहमतिबिना गरिएको यो फर्जी प्रस्ताव र निर्णय थियो । बैठक पुस्तिकाको बन्द किनारामा उपस्थित सबै गाउँ कार्यपालिका सदस्यहरुको हस्ताक्षरसमेत छैन ।
उपस्थितिमा भने सबैको हस्ताक्षर छ । निर्णय भइसकेपछि बन्द हुने किनारामा पालिकाका अध्यक्ष तप्तबहादुर पौडेल र पालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीको मात्र हस्ताक्षर छ । जुन कार्यसूची र छलफलबिनाको फर्जी निर्णय भएको छ, त्यसले राप्तीसोनारीमा पुनः विवाद सिर्जना भएको छ । विविध विषयमा भएको निर्णयप्रति नेकपा एमालेले असहमतिसमेत जनाएको छ ।
आगामी बैठकमा प्रस्तुत हुने प्रस्तावहरु बैठक सञ्चालन कार्यविधिअनुसार नभएमा उक्त प्रस्तावमा छलफलमा सहभागी नहुने नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष र गाउँ कार्यपालिका सदस्यहरुले जनाएका छन् ।
कार्यसूचीमा नभएको प्रस्तावमा भएको निर्णयप्रति असहमति भएको हुँदा तत्काल कार्यसूचीअनुसार प्रस्ताव ल्याइ छलफल गर्न तल्काल कार्यपालिका बैठकको मागसमेत उनीहरुले गरेका छन् । उनीहरुले यस विषयमा असहमतिपत्रसमेत गाउँपालिकालाई बुझाएका छन् ।

बैठकको कार्यसूचीमा नभएको प्रस्ताव विविधमा महŒवपूर्ण निर्णय अनाधिकृतरुपमा थपिएको प्रति नेकपा एमाले राप्तीसोनारीले आपत्ति जनाएको छ । अनाधिकृत प्रस्ताव तथा निर्णय घुसाएर विधिको शासन कुल्चिएको नेकपा एमाले राप्तीसोनारी गाउँपालिका कमिटी उपाध्यक्ष मदनकुमार ओलीले जनाए । गाउँपालिकाले भने छुटेको विषय पछि थप गरिएको बताएको छ ।
‘पहिला सबै शाखाबाट बैठकका विषयमा छलफल गरिएको थियो । छलफल हुँदाहुँदै शिक्षाको विषय छुटेको रहेछ,’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डाँगीले भने, ‘पछि शिक्षाको विषय सहमतिमा थपिएको हो । कुनै अनाधिकृत होइन ।’
उक्त बैठकमा नेकपा एमालेले छुट्टै नाम तयार पारेको थियो । बैठकमा बाहिरबाट नाम लिएर प्रस्तुत गर्ने तयारी गरे पनि एमालेको उक्त प्रयास भने सफल भएको थिएन । एमालेको चलाखीलाई विफल बनाउन कांग्रेसले भूमिका खेलेको हुन सक्ने अनुमान गरिएको छ ।
उक्त विषय विवादमा आएपछि समाधान गर्न पालिकाका प्रमुख प्रशासकीय अधिकृत डाँगीले पहल गरेका छन् । ‘एमालेका ६ जना सदस्य थप्ने सहमति भएको छ,’ उनले भने, ‘यो विवाद तत्कालका लागि समस्या समाधान भएको छ ।’
उनले पटकपटक एमालेका नेतासँगै अन्य दलका नेताहरुसँग राय, परामर्श र सँगै छलफल गरेका थिए । सहमति नजिक पुगेपछि २ गते बस्न नसकेको गाउँ कार्यपालिका बैठक केही दिनमा बस्ने छ । गाउँ शिक्षा समितिमा पालिका अध्यक्ष संयोजकसहित ११ जना सदस्य हुन्छन् ।









प्रतिक्रिया दिनुहोस्