शिवु खनाल । दाङ ।
नेपाल उद्यान (पार्क) महासंघ नेपालका केन्द्रीय सदस्य पवन शर्मा रिजालले वातावरण संरक्षण यतिबेला विश्वव्यापी रूपमा चुनौतीको रूपमा देखा परेको बताएका छन् । उनले प्राकृतिक स्रोतको धनी मानिने नेपाल पनि यसबाट अछुतो नरहेको बताउँदै वन विनाश, जल प्रदूषण, जैविक विविधता, अत्यधिक जनसङ्ख्या, औद्योगीकरणलगायत वातावरणीय चुनौतीसँग लड्नु परेको बताए ।
रोट¥याक क्लब अफ लमहीले शनिबार लमहीमा आयोजना गरेको इम्प्याक्ट जेनरल कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य रिजालले वायु प्रदूषणले गम्भीर वातावरणीय र जनस्वास्थ्य जोखिम बढेको बताउँदै उनले खराब वायुको गुणस्तरले विभिन्न स्वास्थ्य समस्याको जोखिममा पारेको बताए ।
उनले वायु प्रदूषणका कारण हुने मृत्युसम्बन्धी नेपालमा गरिनुपर्ने अध्ययन नगरिएको र भएका केही अध्ययन नतिजाले नेपालीको स्वास्थ्यका लागि वायु प्रदूषण ठूलो चुनौती बनेको देखिएको बताए ।
कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका रिजालले पछिल्लो समय प्राकृतिक स्रोतको अत्यधिक दोहनले आज मानव सभ्यतालाई नै संकटको जालोमा फसेको बताउँदै आफ्नो वरिपरिको वातावरणलाई आफ्ना लागि तथा अन्य जीवका लागि अनुकूल बनाउन वातावरणको उचित व्यवस्थापन र संरक्षण गर्नु आवश्यक रहेको बताए ।
उनले वातावरणीय प्रतिकूलतालाई सम्बोधन गर्न तल्लो तहको सहभागितालाई बढावा दिएर प्रदूषणलाई रोक्नको लागि नीतिगत उपायहरू अपनाउनु पर्ने जरुरी रहेको बताउँदै समुदायस्तरबाटै वातावरण संरक्षणका लागि उचित कदम अगाडि बढाउन सुझाव दिए । उनले भने, ‘वातावरणीय चेतनाको विकास गरी सामुदायिकस्तरमा आर्थिक लाभ पुग्ने कार्यक्रमहरू निर्माण गर्नुपर्छ । यसका लागि जनसहभागिता प्रवद्र्धन गर्नुपर्ने आवश्यक देखिन्छ । नेपालमा वातावरण संरक्षणका प्रयासहरू प्रभावकारी र दिगो बनाउन सामुदायमा आधारित संरक्षण सुनिश्चित गरेको पाइन्छ ।’
कार्यक्रममा अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष रवि श्रेष्ठले विभिन्न समुदायमा आधारित वन, वातावरण र जैविक विविधता संरक्षण कार्यक्रमहरू लागू गर्नु पर्ने कुरामा जोड दिए । ‘सामुदायिक वन कार्यक्रमले गर्दा स्थानीय समुदायहरूले वन स्रोतहरू व्यवस्थापन गरेका छन्,’ उनले भने, ‘जसले वन विनाश रोक्न र स्थानीय जनताको जीविकोपार्जन सुनिश्चित गर्न वन उत्पादनको दिगो प्रयोगलाई प्रवद्र्धन गर्न मद्दत गरेको छ ।’









प्रतिक्रिया दिनुहोस्