कोहलपुर (बाँके) ।
बाँकेको कोहलपुर नगर अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीले ओपीडी सेवा बन्द गरेका छन् । वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको सांघातिक आक्रमण, तोडफोड र दुव्र्यवहारको विरोधमा नगर अस्पतालले चिकित्सक र स्वास्थ्यकर्मीहरुले ओपीडी सेवा बन्द गरेका हुन् ।
पीडितहरुको न्यायका लागि देशभरका ओपीडी सेवा बन्द गर्ने निर्णय र निर्देशनमा ऐक्यबद्धता जनाउँदै अनिश्चितकालीन रुपमा सेवा बन्द गरिएको हो । नगर अस्पतालका स्वास्थ्यकर्मीद्वारा जारी संयुक्त विज्ञप्तिअनुसार नेपाल चिकित्सक संघले आन्दोलनको आह्वान गरेअनुसार अर्को सूचना जारी नभएसम्म कोहलपुर नगर अस्पतालको सम्पूर्ण बहिरङ (ओपीडी) सेवा पूर्ण रूपमा बन्द रहने जनाइएको छ ।
विज्ञप्तिमा आकस्मिक परिस्थितिबाट सेवा लिन आउने सेवाग्राही तथा बिरामीलाई पर्न जाने असुविधाप्रति अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीले क्षमायाचना समेत गरेका छन् । कोहलपुर नगर अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको संयुक्त हस्ताक्षरसहित जारी विज्ञप्तिमा स्वास्थ्यकर्मीमाथि हुने हिंसा र असुरक्षाको अन्त्य गर्दै दोषीमाथि कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गरिएको छ ।
नगर अस्पतालमा कार्यरत ल्याब असिस्टेन दीपक शर्माले दोषिमाथि कारबाही नहुँदासम्म सेवा बन्द गरिने बताए । वीरगञ्जस्थित नारायणी अस्पतालमा भएको घटनापछि चिकित्सकहरूको आन्दोलन देशभर फैलिएको छ ।









प्रतिक्रिया दिनुहोस्