बाँके ।
अब वायुसेवा कम्पनीहरूले इनरूटमा मौसम सफा भएपछि मात्रै उडान अनुमति पाउने भएका छन्।
यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरणले विमान उडाइने स्थल र पुग्ने गन्तव्यको मौसमका आधारमा उडान अनुमति दिँदै आएको थियो। इनरूटको मौसमका सम्बन्धमा एयरलाइन्स आफैले जाने की नजाने भनेर निर्णय लिन्थे।
‘अब भने इनरूटको मौसमबारे विमानस्थलहरू आफैले विचार गर्नेछ। मौसम उडान योग्य छ-छैन भनेर हेरिन्छ। योग्य नभए उडान अनुमति रोक लगाइन्छ,’ प्राधिकरणका उप-महानिर्देशक एवम् प्रवक्ता देवचन्द्र लाल कर्णले भने।
यो व्यवस्था भिज्युअल फ्लाइट रुल्स (भिएफआर) प्रणालीमा आधारित रूटमा लागू हुनेछ। भिएफआर प्रणाली भनेको स्थान आँखाले हेर्दै उडान गर्नुपर्ने प्रणाली हो।
आइएफआर प्रणालीअनुसारको उडानमा भने यो प्रणाली लागू हुँदैन। आइएफआर प्रणाली भनेको ‘इन्स्टुमेन्ट फ्लाइट रुल्स’ मेसिनमा आधारित उडान प्रणाली हो। यसमा जहाज कुन ठाउँ पुग्यो भनेर मेसिनबाटै देखिन्छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाको रिपोर्टका आधारमा इनरुटको मौसम हेरेर उडान अनुमति दिइने कर्ण बताउँछन्। उडान सुरक्षालाई ध्यानमा राख्दै यस्तो नियम लागू गर्ने निर्णय गरिएको उनले बताए। उनका अनुसार आजैदेखि यो व्यवस्था लागू भइसकेको छ।









प्रतिक्रिया दिनुहोस्