राष्ट्रिय प्रकृति संरक्षण कोषबाट संरक्षण गर्न प्रस्ताव गरिएको बारेकोट गाउँपालिकामा चारवटा कस्तुरी मारिएको तथ्य सार्वजनिक भएको छ ।
गत असोजमा लोपोन्मुख तथा दुर्लभ वन्यजन्तु कस्तुरी मारिएको प्रमाण फेला परेको बारेकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दबहादुर सिंहले जानकारी दिए ।
जुम्लाका व्यापारीले बारेकोटका स्थानीयवासीसँग मिलेर कस्तुरीलाई पासो हालेर मारेको तथ्य सार्वजनिक भएको उनले बताए । सरकारी संयन्त्र गतिलो नहुँदा वन्यजन्तु संरक्षणका लागि बारेकोटमा काम हुन नसकेको हो ।
‘एक महिनामा एकजनाले चारवटा मारेको खबर थियो, म जंगल जाँदा यो त नमुनासमेत फेला परे, डोल्पा र जुम्लाबाट कुकुर, पासो र बन्दुकसहित आएका सिकारीले एक सिजनमा सात-आठवटा कस्तुरी मार्छन्, मुल्साम जिरिमा पनि मार्छन् भन्ने कुरा छ, प्रतिदाँत एक हजारका दरले बिक्री गरेको खबर आएको छ,’ उनले भने ।
तीन वर्षमा प्रहरीले बरामद गरेका १९ लोपोन्मुख रेडपाण्डा (रातो हाब्रे) को छालामध्ये १० जाजरकोटबाटै गएको गाउँपालिकाको तथ्यांक छ । घटनामा आठजना जाजरकोटका युवा पक्राउ परेका छन् ।
गत आइतबार मात्रै बारेकोटको मूलसामका ३५ वर्षीय लोकबहादुर रोकायलाई प्रहरीले रेडपाण्डाको छालासहित सेपुखोलाबाट पक्राउ गरेको थियो ।










प्रतिक्रिया दिनुहोस्