30 April 2024  |   मङ्लबार, बैशाख १८, २०८१

मुगुमा आगलागीबाट ३५ करोडको क्षति

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, मंसिर ३, २०७८  

सुर्खेत ।

मुगु सदरमुकाम गमगढीको तल्लो बजारमा मंगलबार राति भएको आगलागीबाट ३५ करोड ५५ लाख बराबरको क्षति भएको छ ।

आगलागीमा अहिलेसम्म ८० परिवार विस्थापित भएको र ३५ करोड ५५ लाख बराबरको धनमाल क्षति भएको प्रारम्भिक विवरण सार्वजनिक भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । प्रहरीका अनुसार जसमा २५ घरधनी र ५५ भाडावालाहरू रहेका छन् ।

यस्तै पीडितले दिएको जानकारी अनुसार ३५ करोड ५५ लाख बराबरको सम्पत्ति पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक (डीएसपी) चित्रबहादुर भट्टराईले जानकारी दिए । उनका अनुसार घरधनीको २१ करोड २५ लाख र भाडावालाको १३ करोड ३० लाख क्षति भएको हो । साथै आगलागीमा ८० परिवार विस्थापित भएका छन् ।

विस्थापित परिवारकै निवेदनका आधारमा क्षतिको विवरण संकलन गरेको मुगु प्रहरीले जनाएको छ । घटनापछि कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीको नेतृत्वमा भूमि तथा कृषि सहकारीमन्त्री चन्द्रबहादुर शाहीसहित सात सदस्यीय प्रदेश सरकारको टोलीले राहत सामग्री ल्याएर गमगढीको आगलागी भएको स्थान निरीक्षण समेत बुधकार गरेको थियो ।

मंगलबारदेखि जिल्ला प्रशासन कार्यालयले घर जलेका परिवारलाई १५ हजार नगद, तीन वटा कम्मल र भाडामा बस्ने परिवारलाई १० हजार नगदसहित तीन वटा कम्मल राहतस्वरुप वितरण गरेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए ।

पीडितहरुको आवास निर्माणको लागि सहयोग कर्णाली प्रदेश सरकारले गर्ने प्रतिबद्धता जनाएर मुख्यमन्त्री शाही सुर्खेत बुधबार नै फर्किएका थिए । चिसो बढेकोले आगलागी पीडितहरुलाई समस्या भइरहेको बताइएको छ ।

प्रकाशित मितिः शुक्रबार, मंसिर ३, २०७८     12:37:45 PM  |