थन्किए बर्थिङ सेन्टरका सामग्री



जाजरकोट ।

जिल्लाका सातैवटा स्थानीय तहलाई उपलब्ध गराउने भन्दै आर्थिक वर्ष २०७७/७८ मा खरिद गरिएका बर्थिङ सेन्टरमा प्रयोग हुने सामग्री सदरमुकाममै थन्किएका छन् ।

स्वास्थ्य सेवा कार्यालयले बोलपत्र आह्वान गरी खरिद गरेका बर्थिङ सेन्टरका सामग्री गत असारमै सबै स्वास्थ्य संस्थामा पु¥याइ सक्नुपर्ने थियो । ती सामग्री अहिलेसम्म सदरमुकामको निजी घरमा थन्किएका हुन् । गत चैत, वैशाख महिनामै सदरमुकाम आइपुगेका सामग्री झण्डै छ महिनादेखि सदरमुकाममा थन्क्याएर राखिएको हो । स्थानीय तहले बर्थिङ सेन्टरमा आवश्यक समस्याका बारेमा लिखित माग गरेअनुसार अघिल्लो वर्ष ती सामग्री खरिद गरिएको थियो ।

खरिद गरिएका सामग्रीको अभाव भएपछि पटक पटक माग गरे पनि स्वास्थ्य सेवा कार्यालयले उपलब्ध नगराएको पालिकाले बताएका छन् । वर्षायाममा बाटो अवरुद्ध हुँदा पालिकाले कतैबाट ल्याउन नसकेको र माग गरिएका सामग्री स्वास्थ्य सेवा कार्यालयले खरिद गरे पनि सदरमुकामै थन्क्याएर राख्दा समस्या थपिँदै गएको जुनिचाँदे गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

भेरी नगरपालिकाले समेत पटक–पटक बर्थिङ सेन्टरका सामग्री माग गरे पनि नगरपालिकाको नाममा आएका सामग्री स्वास्थ्य सेवा कार्यालयले दिन सकेको छैन ।

बन्द कोठामा राखिएका ती सामग्री पालिकामा कहिलेसम्म पुग्छ भन्ने यकिन समय नभएको स्रोतले बताएको छ । सात पालिकामध्ये नलगाड नगरपालिकामा मात्र अहिलेसम्म सामग्री पठाइएको र त्यहाँबाट बर्थिङ सेन्टरसम्म पुगे, नपुगेको कुनै जानकारी नआएको जनाइएको छ । प्रदेश सरकारको दायित्वअन्तर्गत ती सामग्री स्वास्थ्य सेवा कार्यालयले खरिद गरेको थियो ।

अघिल्लो आर्थिक वर्षमा मागका आधारमा खरिद गरिएका सामग्री सदरमुकाममा थन्क्याएर राख्दा उता पालिकामा सामग्रीको अभावमा सुत्केरी गराउन समस्या भइरहेको स्वास्थ्य शाखाले जानकारी दिएका छन् । संघीय सरकार र पालिकाले बर्थिङ सेन्टर मात्र निर्माण गरेको तर सामग्री केही मात्रा खरिद गरिएको भए पनि पूरा सामग्री नभएका कारण स्वास्थ्य सेवा कार्यालयसँग अघिल्लो वर्ष माग गरिएको थियो ।

झण्डै ८० प्रकारका सामग्री एउटा बर्थिङ सेन्टरमा आवश्यक पर्ने गर्दछ । सुत्केरी गराउने बेड, सक्सन मेसिन, डेलिभरी सेट, म्याटेस, सक्सन ट्यूब, अक्सिजन मास्क र न्यानो कपडा लगाएका सामग्री बढी महत्वपूर्ण मानिन्छन् । –रासस

  • No tags available
प्रकाशित मिति : २०७८ असोज १ गते शुक्रबार