सुर्खेतका स्वास्थ्य संस्थाहरुमा औषधि अभाव हुन थालेको छ । यहाँका अधिकांश स्वास्थ्यचौकीमा पखालाका बिरामीलाई दिइने जिंक चक्कीको अभाव भएको छ । छ महिनायता जिंक चक्कीको अभाव रहेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।
स्वास्थ्यचौकी आउने बिरामी जिंक चक्की नहुँदा चर्को मूल्य तिरेर निजी स्वास्थ्य संस्थामा उपचार गर्न बाध्य छन् ।
सुर्खेतको रामघाटस्थित स्वास्थ्यचौकीका वरिष्ठ स्वास्थ्य सहायक धिरेन्द्र घर्तीले पखालाका बिरामीलाई खुवाउने जिंक चक्कीको अभाव रहेको बताए । ‘पाँच/छ महिनादेखि स्वास्थ्यचौकीमा जिंक चक्कीको अभाव छ,’ उनले भने, ‘अन्य औषधिसमेत अभाव भएको छ ।’
स्वास्थ्य चौकीमा आइरन चक्की र परिवार नियोजनका साधनको समेत अभाव हुने गरेको छ । यस्तै भेरीगङ्गास्थित छिन्चु स्वास्थ्य चौकीमा समेत जिंक चक्की अभाव भएको वरिष्ठ स्वास्थ्य सहायक गोकर्ण बुढाले जानकारी दिए । एक वर्षदेखि जिंक चक्कीको अभाव रहेको उनले बताए । जिंक चक्कीको अभाव भएपछि बिरामी मर्कामा परेका छन् ।
स्वास्थ्य चौकीले उपलब्ध गराउने ४२ प्रकारका निःशुल्क औषधिमध्ये आधाजसो मात्र स्वास्थ्य चौकीमा उपलब्ध हुने गरेको उनले बताए ।
त्यसैगरी स्वास्थ्य चौकीमा ग्याष्टिक, छाला, कानको समस्या भएका बिरामीलाई उपलब्ध गराइने औषधिसमेत अभाव भएको रहेको बुढाले बताए । रामघाट र छिन्चुमा मात्र होइन जिल्लाका अधिकांश स्वास्थ्यचौकीमा औषधिको अभाव भएको छ ।
छिन्चु स्वास्थ्य चौकीका बरिष्ठ स्वास्थ्य सहायक बुढाले यहाँ अभाव हुँदा कतिपय औषधि स्वास्थ्य संस्था आफैँले खरिद गर्ने गरेका छन् । यस्तै भरीगङ्गा स्वास्थ्य शाखाले सङ्घबाट खरिद भएर आउने औषधि समयमा नआउँदा औषधिको अभाव भएको जनाएको छ ।
अति आवश्यक औषधि स्वास्थ्य चौकीमा अभाव नभएको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक अर्जुन चपाईले बताए । ‘केन्द्रले खरिद गरेर पठाउने नौ प्रकारको औषधि अभाव भएको छ,’ उनले भने, ‘जिंक चक्कीका साथै परिवार नियोजनका साधनको समेत अभाव छ ।’ जनस्वास्थ्य कार्यालयलाई औषधि अभावको विषयमा पटक पटक जानकारी गराइएको उनले बताए ।










प्रतिक्रिया दिनुहोस्