सरकारले नेपालमा औपचारिक रुपमा लोडसेडिङ हटाएको करिब चार वर्ष पूरा भइसकेको छ । कुनै बेला दैनिक १८, २० घण्टा लोडसेडिङको समस्या झेलिरहेका नेपालीहरुको लागि झण्डै लामो लोडसेडिङ एकादेशको कथा बन्न लागिसकेको थियो । यो अवधिमा लोडसेडिङको अन्त्य मात्र होइन कुनै बेला प्राविधिक कारणले विद्युत अवरुद्ध भए त्यसको जानकारी सेवाग्राहीहरुले पाउँथे । तर फेरी केही महिनायता बाँकेमा मात्रै होइन देशभर नै बिजुली अनियमित भइरहेको छ ।
कुनै बेला प्राविधिक कारणले अवरोध आउनु सामान्य मान्न सकिएला । तर अन्य बेलामा समेत बिजुली छिन छिनमा जान थालेपछि मानिसहरुमा फेरी लोडसेडिङ हुने हो की भनेर चिन्ता छाउन थालेको छ । नेपालकै सबैभन्दा बढी लोडसेडिङ हुने शहर भनेर चिनिने नेपालगञ्जमा केही महिनायता अघोषित रुपमा लोडसेडिङ भइरहेको छ भन्दा पनि हुन्छ । हुन त कुनै बेला देशभर दैनिक १८÷२० घण्टा लोडसेडिङ हुँदा नेपालगञ्ज शहरमा लोडसेडिङ थिएन । तर नेपालगञ्जमा विद्युतको माग बढेसँगै त्यसले आपूर्ती धान्न सकेन । केही वर्ष अघिसम्म राष्ट्रिय प्रशारण लाइन नजोडिएको नेपालगञ्जमा माग अनुसार बिजुली आपूर्ती गर्नको लागि राष्ट्रिय प्रशारण लाइनबाट समेत बिजुली जोडियो । भारतबाट पुरानै सम्झौताअनुसार आयात गरिएको बिजुलीले नेपालगञ्जबासीको माग धान्न नसकेपछि नेपालकै प्रशारण लाइनबाट बिजुलीको साहारा लिनुप¥यो ।
गतवर्षको गर्मीयामसम्म यसैगरी नेपालगञ्जमा बिजुलीको आपूर्ती सहज बनाइएको थियो । नेपालबाट आवश्यकता अनुसार बिजुली उपलब्ध नभएको भन्दै गर्मी सुरु भएसँगै नेपालगञ्जमा अघोषित लोडसेडिङ सुरु भइसकेको छ । देशका अन्य भागमा छिनछिनमा बिजुली जाने समस्या धेरै भएपनि नेपालगञ्ज शहरमा नै लामो समयसम्म नै बिजुली जाने गरेको छ । कोरोना कहरका कारण बिजुलीको माग कम भइरहेको बेला समेत माग धान्न हम्मेहम्मे प्राधिकरणलाई भइरहेको छ । लोडसेडिङ हटेको भन्दै बैकल्पिक साधनहरु थन्याइसकेका नागरिकहरु फेरी खोज्न थालिसकेका छन् । सरकारले एकपटक घोषणा भइसकेको लोडसेडिङमुक्त नेपाललाई कार्यान्वयनमा तत्काल ध्यान दिनुपर्छ । तत्कालै सरकारले यसतर्फ ध्यान दिएर नेपालभर नै बिजुली आपूर्ती नियमित र सहज गराउनुपर्छ ।









प्रतिक्रिया दिनुहोस्