कोहलपुर नगरपालिका बाँके जिल्लाको एक मात्र नगरपालिका हो । बाँके जिल्ला पहिलो तथा दोस्रो चरणको कोरोना महामारीबाट निकै प्रभावित भएको छ । बाँके जिल्लामा सबै भन्दा बढी कोरोनाबाट नेपालगन्ज उपमहानगरपालिका प्रभावित भएको छ । त्यसपछि कोहलपुर नगरपालिका प्रभावित भएको हो । यहाँ संक्रमित र मृतकको संख्या पनि नेपालगन्ज पछि दोस्रो स्थानमा रहेको छ । अहिले कोहलपुर नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि धेरै प्रयास गरेको छ । कोभिड अस्थाई अस्पताल सञ्चालन, आइसोलेसेन सेन्टर, निःशुल्क खानाको व्यवस्था, घरमै पुगेर चिकित्सकीय सेवा, एम्बुलेन्स सेवा समेत कोहलपुरले सञ्चालन गरिरहेको छ । यस्तै होम आइसोलेसनमा रहेकाहरु दैनिकै स्वास्थ्यकर्मीहरुको निगरानीमा हुने गरेका छन् । प्रस्तुत छ, दोस्रो चरणको कोरोना महामारीको समयमा कोहलपुर नगरपालिकाले थालेका प्रयास, भोग्नु परेका समस्या तथा समाधान तथा दैनिक कार्य सम्पादनका विषयमा कोहलपुर नगरपालिकाकी उप–प्रमुख सञ्जुकुमारी चौधरीसँग मिसन टुडे दैनिकका शुभाकर विश्वकर्माले गरेको कुराकानीको सम्पादित अंश :
१. कोरोनाको दोस्रो चरण चलिरहेको छ, दैनिकी कसरी बितिरहेको छ ?
पक्कै पनि हामी कोरोना महामारीको जटिल परिस्थितिसँग जुँधिरहेका छौँ । सिंगो विश्व यसबाट प्रभावित छ । हाम्रो देशमा पनि कोरोनाले विगत एक वर्ष यता ठुलो क्षति गरेको अवस्था छ । त्यसमा पनि बाँके जिल्ला जिल्ला पहिलो चरणको कोरोनाको समयमा पनि प्रभावित भयो । अहिले दोस्रो चरणमा समेत कोरोनाको रेडजोनका रुपमा रहेको छ । बाँकेका सबै स्थानीय तह कोरोनासँग लडिरहेको अवस्था छ । हामी पनि प्रत्येक दिन कोरोना रोकथाम तथा नियन्त्रणको लागि महामारीका बाबजुत सक्रिय भएर लागि परेका छौ । विगत एक महिनायता मेरो दैनिकी यसैमा बितिरहेको छ ।
२. कोरोना रोकथाम तथा नियन्त्रणका लागि वडा स्तरमा कसरी काम भइरहेको छ ?
कोरोनाले गत वर्ष भन्दा यो एक महिनामा अनपेक्षित क्षति व्यवहोरेका छौँ। कोहलपुरको कुरा गर्दा पहिलो चरणको कोरोना भन्दा यसपटककोरोना संक्रमित, मृतकको संख्या बढिरहेको छ । कोहलपुरमा पनि मृतकको संख्या बढि रहेको छ । पालिकाका हिसाबमा हामी नेपालगन्ज पछि बढी कोरोनाबाट प्रभावित रहेका छौँ ।हामीले कोहलपुरका सबै वडामा वडा अध्यक्षहरुलाई परिचालन गरेको छ । यस्तै स्वास्थ्यकर्मीहरु पनि परिचालन गरेका छौँ । त्यसका साथै सबै वडामा सुरक्षाकर्मी समेत परिचालन गरिएको छ ।
३. कोरोना रोकथामका लागि नगरपालिकाले अहिलेसम्म गरेका प्रयास के के हुन् ?
कोरोना रोकथाम तथा नियन्त्रणका लागि सबै डटेर लागेको अवस्था छ । कोरोनाका विषयमा हामीले रेडियो तथा विभिन्न पत्रपत्रिकाहरुमा व्यापक रुपमा प्रचारप्रसार गरेका छौँ । यस्तै सम्पूर्ण वडाहरुमा पनि नगरपालिकाको गाडी मार्फत जनचेतना फैलाइएको छ । त्यति मात्रै नभएर सामाजिक सञ्जालको माध्यमबाट पनि जनचेतना फैलाएकै छौँ ।एक्कासी कोरोना संक्रमण बढ््न थालेपनि हामीले विभिन्न सुविधाहरु प्रदान गरेको अवस्था हो । कोहलपुर नगरपालिका वडा नम्बर २ प्रेम नगरमा अहिले अस्थाई कोभिड अस्पताल सञ्चालनमा रहेको छ । संघीय सरकारको निर्देशिका अनुसार कुनै पनि प्रदेशमा ५ बेडको अस्पताल हुनुपर्ने व्यवस्था रहे अनुसार हामीले कोरोना अस्पताल निर्माण गरेका थियौँ । पछि कोहलपुरमा कोरोना संक्रमण धेरै बढन थालेपनि कोभिड अस्पताल नै निर्माण गरेको अवस्था छ । अहिले त्यहाँ कोरोना संक्रमितको उपचार भइरहेको छ । कोहलपुरमा २५ बेडको अस्पताल रहेको छ । नगरपालिकाले नै त्यो सञ्चालन गरिरहेको अवस्था छ । यस्तै होम आइसोलेसनमा बस्न नसक्नेहरुका लागि हामीले कृषि विकास तालिम केन्द्रलाई आइसोलेसन सेन्टरको रुपमा प्रयोग गरिरहेको अवस्था छ । त्यहाँ पनि अक्सिजन सहितको सुविधा रहेको छ । सुरु सुरुमा हामीलाई कोरोनासँग जुँध्नको लागि निकै अप्ठ्यारो भएको थियो । तर हामीले हिम्मत हारेनौँ । त्यसको सामनाको फिल्डमा उत्रियौँ । पछिल्लो समय केस केही घटेका कारण हामीलाई अलिअलि सहज भइरहेको छ । तर पनि विपत् विद्यामान रहेकोले हामी निरन्तर रुपमा लागि परेका छौँ । धेरै कोरोना संक्रमितको होम आइसोलेसनमा समेत उपचार भइरहेको छ । होम आइसोलेसनमा रहेकाहरुको स्वाथ्यकर्मीहरुले निगरानी गरिरहनु भएको छ । अहिले अस्पताल र आइसोलेसन सेन्टरमा हामीले बिरामी र कुरुवाहरुलाई निःशुल्क खानेकुराको व्यवस्था गरेका छौँ । यस्तै होम आइसोलेसनमा रहेकाहरुको दैनिक डाक्टरहरुबाट विभिन्न माध्यम र भेटेर परामर्श दिने पनि काम भइरहेको छ । यसको लागि अनलाइन र टेलिफोनको काम पनि मार्फत पनि हामीले सेवा दिइरहेका छौँ । यस्तै नगरपालिका कोरोना संक्रमितको सुरक्षाको लागि एम्बुलेन्स सेवा समेत प्रदान गरिरहेको छ । फोकल पर्सनका माध्यमबाट एकद्धार प्रणाली मार्फत सूचना प्रवाह पनि भइरहेको छ । हामी जनप्रतिनिधि पनि दैनिक जनताको नजिक भएर काम गरिरहेका छौँ । कोरोना रोकथाम तथा नियन्त्रणको हाम्रो यात्रा जारी छ ।
४. कोहलपुरले आफ्नो तर्फबाट विभिन्न प्रयास गरिरहेको छ, तर यहाँका सरोकारवालाहरुसँग चाहीँ कसरी समन्वय र सहकार्य गरिरहनु भएको छ ?
यो बेला भनेको विपत्तिको समयम हो । हामी यसको सामना गरिरहेका छौँ । यो महामारी एक्लैले रोक्न सक्ने अवस्था छैन । सबै जना मिलेर सामुहिक रुपमा यसको प्रतिबाद गर्नुपर्ने अवस्था रहेको छ । यसमा सबैको सक्रिय सहभागिता हुनुपर्छ भन्ने हाम्रो मान्यता रहेको छ । त्यसको उदाहरण कोहलपुर नगरपालिकाले प्रस्तुत गरेको छ । हामीले कोरोनाको सुरुवाती समयदेखि नै कोहलपुरका सरोकारवाला, राजनीतिक दल, नागरिक समाज, संघ संस्था समूह तथा अन्य व्यक्तित्व तथा सुरक्षाकर्मीसँगको समन्वय, सल्लाह र सुझाव लिएर काम गरिरहेका छौँ । यस्तै व्यवसायी र निजी क्षेत्रले समेत हामीलाई निकै ठूलो सहयोग गरेको छ । कोहलपुर उद्योग वाणिज्य संघको अतुलनीय सहयोग र सहकार्य हुँदै आएको छ । संघले हामीलाई पहिलो चरणमा पनि व्यापक सहयोग गरेको थियो । अहिले पनि एकदमै ठुलो सहयोग प्राप्त भएको छ । यस्तै रेडक्रसले पनि कोरोना महामारी नियन्त्रणको लागि सहयोग गरिरहेको छ । उद्योग वाणिज्य संघको सहयोगमा हामीले एम्बुलेन्स समेत सञ्चालन भइरहेको छ । यहाँको शैक्षिक क्षेत्रसँगै अन्य क्षेत्रले पनि हामीलाई सहयोग गरिरहेको छ । सर्वसाधारणले पनि घर मै बसेर हामीलाई सहयोग गरिदिनु भएको छ ।
५. महामारीको समयमा कोहलपुरमा विकास निर्माण लगायतका काम पनि भइरहेका छन् ?
नेपाल सरकारले हामीलाई कोरोनाको समयमा पनि विकास निर्माण लगायतका काम आवश्यक सुरक्षा अपनाएर गर्न निर्देशन जारी गरेको छ । कोहलपुर नगरपालिकामा पनि विभिन्न विकास निर्माण र दैनिक काम भइरहेको छ । यस्तै क्रममा कोहलपुर नगरपालिकाका कर्मचारी र जनप्रतिनिधि समेत कोरोना संक्रमित हुनु भयो । धेरैले कोरोना जितिसक्नु भएको छ । कतिपय अहिले पनि स्वास्थ्य लाभ गरिरहनु भएको छ । यस्तै कार्यालयका दैनिक काम पनि सुचारु हुन सकेको थिएन । केही दिनयता खुलेको छ । योजनाका काम पनि भइरहेका छन् । वडा स्तरमा समेत सुचारु रुपमा गतविधि सञ्चालन भइरहेका छन् ।यस्तै काम हामीले आवश्यक सामाजिक दुरी कायम गरेर कामलाई निरन्तरता दिइरहेका छौँ।
६. तपाईं न्यायिक समितिको संयोजक पनि हुनुहुन्छ,महामारीको अवस्था मानव अधिकारको अवस्था पनि महत्वपूर्ण रहन्छ ? न्यायिक कार्य सम्पादन कसरी काम भइरहेको छ ?
कोरोनाको बेला आफैमा एक महत्वपूर्ण र जोखिमपूर्ण अवस्था हो । निषेधाज्ञाको समय छ ।सर्वसाधारणहरु घर मै बसेपनि विभिन्न हिंसाका घटना भएको पाइएको छ । यस्तो बेलामा अन्यायमा परेको भएपनि बोल्न सक्ने अवस्था भने कतैपनि देखिदैन । कोही भने हाम्रो सम्पर्कमा पनि आउनु भएको छ । त्यस्ता केसलाई हामीले विभिन्न माध्यमबाट समाधान खोज्ने प्रयास गरिरहेका छौँ । अहिले पनि हामीले न्याय सम्पादन भइरहेको छ । आज मात्रै हामीले ज्याला मजदुरीका विषयमा भएको विवादको निरुपण गरेका छौँ । यसरी नै न्याय सम्पादनका काम भइरहेका छन् ।
७. अन्त्यमा कोहलपुरबासीहरुलाई कोरोनाबाट बच्नको लागि के सुझाव दिन चाहनुहुन्छ ?
न्त्यमा म सम्पूर्ण कोहलपुरबासीहरुलाई कोरोनाबाट बच्नको लागि स्वास्थ्य मापदण्ड पुरा गर्न अनुरोध गर्दछु । कृपाया घर बाहिर ननिस्किदिनुहोस । हामी तपाईहरुको सुरक्षाका लागि जोखिम मोलेर अघि बढिरहेका छौँ । निषेधाज्ञाको पालना गर्नुहोस । सरसफाई र खानपिनमा विशेष ध्यान दिनुहोस । मास्क लगाउन नभुल्नुहोस । सेनिटाइजरको प्रयोग गरिदिनुहोस । अत्यावश्यक काम नपरी बाहिर ननिस्कनुहोस । तपाईहरुको सहयोगले कसैको ज्यान बच्छ भने सहयोग गर्नुहोस । तपाईको सानो सहयोग अरुको लागि महत्वपूर्ण हुन सक्छ । आफू बचौँ र अरुलाई बचायौँ ।









प्रतिक्रिया दिनुहोस्