काठमाडौं ।
कश्मीर विवादको न्यायपूर्ण र शान्तिपूर्ण समाधानका लागि अन्तर्राष्ट्रिय समुदायले थप कूटनीतिक पहल गर्नुपर्नेमा पाकिस्तानले जोड दिएको छ । कश्मीर ब्ल्याक डे कालो दिवस को अवसरमा पाकिस्तानको काठमाडौंस्थित दूतावासले बिहीबार आयोजना गरेको कार्यक्रममा कश्मीर विवाद समाधानका लागि अन्तर्राष्ट्रिय कूटनीति र भावी मार्गबारे छलफल गरिएको हो ।
‘कश्मीरका लागि अन्तर्राष्ट्रिय कूटनीति र भावी मार्ग’ विषयक कार्यक्रममा नेपाली पत्रकार, बुद्धिजीवी तथा नागरिक समाजका प्रतिनिधिहरू सहभागी थिए । कार्यक्रममा कश्मीर विवादको समाधान, मानवअधिकारको अवस्था र कश्मीरी जनताको आत्मनिर्णयको अधिकारका विषयमा चर्चा गरिएको दूतावासले जनाएको छ ।
सन् १९४७ अक्टोबर २७ मा भारतीय सेना श्रीनगर पुगेको घटनाको स्मरणमा पाकिस्तानले हरेक वर्ष अक्टोबर २७ लाई कश्मीर ब्ल्याक डेका रूपमा मनाउँदै आएको छ । यस वर्ष उक्त घटनाको ७९औँ वार्षिकोत्सवका अवसरमा कार्यक्रम आयोजना गरिएको दूतावासले जनाएको छ । कार्यक्रममा पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारी, प्रधानमन्त्री मुहम्मद शहबाज सरिफ तथा उपप्रधानमन्त्री एवं विदेशमन्त्री मोहम्मद इशाक डारका सन्देश पढेर सुनाइएको थियो ।
राष्ट्रपति जरदारीले जम्मु–कश्मीरमा मानवअधिकारको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै सन् २०१९ अगस्ट ५ मा भारतले गरेका एकपक्षीय निर्णयपछि त्यहाँको अवस्थाबारे थप अन्तर्राष्ट्रिय ध्यान आवश्यक रहेको बताएका थिए । उनले संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय समुदायलाई संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का सम्बन्धित प्रस्तावअनुसार विवादको न्यायपूर्ण तथा शान्तिपूर्ण समाधानका लागि प्रयास तीव्र पार्न आग्रह गरेका थिए ।
त्यस्तै, प्रधानमन्त्री सरिफले दक्षिण एसियामा दीर्घकालीन शान्ति र स्थिरताका लागि जम्मु–कश्मीर विवादको समाधान आवश्यक रहेको बताएका थिए । उनले कश्मीरमा आधारभूत स्वतन्त्रतामाथिका प्रतिबन्ध तथा राजनीतिक नेता र कार्यकर्ताको निरन्तर हिरासतप्रति ध्यानाकर्षण गराउँदै कश्मीरी जनतालाई नैतिक, कूटनीतिक र राजनीतिक समर्थन जारी राख्ने पाकिस्तानको प्रतिबद्धता दोहोर्याएका थिए ।
पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री डारले पनि संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का सम्बन्धित प्रस्तावलाई विवाद समाधानको महत्त्वपूर्ण आधारका रूपमा प्रस्तुत गरेका थिए । उनले मानवअधिकार र आधारभूत स्वतन्त्रताको संरक्षणका लागि अन्तर्राष्ट्रिय समुदायको निरन्तर संलग्नता आवश्यक रहेको बताएका थिए ।
कार्यक्रमको समापन गर्दै नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले जम्मु–कश्मीर विवादको दीर्घकालीन समाधानका लागि अन्तर्राष्ट्रिय कूटनीतिक प्रयासलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए । उनले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का सम्बन्धित प्रस्तावअनुसार कश्मीरी जनताको आत्मनिर्णयको अधिकार सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका थिए ।
कार्यक्रममा सहभागीहरूले जम्मु–कश्मीरका जनताप्रति ऐक्यबद्धता व्यक्त गर्दै त्यहाँ मानवअधिकारको संरक्षण र कश्मीरी जनताको आकांक्षालाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदायले भूमिका खेल्नुपर्ने धारणा राखेको पाकिस्तानको दूतावासले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्