बाँकेमा दसैँको अवधिमा चार जनाको मृत्यु, १३६ घाइते



नेपालगन्ज (बाँके) ।

दसैँ अवधिमा बाँकेमा सवारी दुर्घटनाको सङ्ख्या घटेको छ । गत वर्षको तुलनामा यस वर्ष १६ वटा दुर्घटना कम भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको तथ्यांकअनुसार २०८३ सालको घटस्थापनादेखि पूर्णिमासम्म भएका ८४ वटा सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने १३६ जना घाइते भएका छन् । गत वर्षको दसैँ अवधिमा १०० वटा सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो । त्यतिबेला १६ जना गम्भीर र १४० जना सामान्य घाइते भएका थिए । यस वर्ष दुर्घटनाको सङ्ख्या १६ र घाइतेको सङ्ख्या २० जनाले घटेको छ ।

यद्यपि, दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या भने अघिल्लो वर्षकै बराबर छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको विवरणअनुसार २०८१ सालको घटस्थापनादेखि पूर्णिमासम्म आठ वटा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको थियो भने पाँच जना गम्भीर र तीन जना सामान्य घाइते भएका थिए । त्यसैगरी, २०८० सालको सोही अवधिमा १४ वटा दुर्घटना हुँदा दुई जनाको मृत्यु, नौ जना गम्भीर र छ जना सामान्य घाइते भएका थिए ।

चार वर्षको तथ्यांक हेर्दा दसैँ अवधिमा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षतिमा उतारचढाव देखिएको छ । विशेषगरी २०८२ र २०८३ सालमा दुर्घटना तथा घाइतेको सङ्ख्या अघिल्ला दुई वर्षको तुलनामा बढी देखिन्छ । यसले सडक सुरक्षाका उपायलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याएको छ । चालू वर्षको दसैँ अवधिमा दुर्घटनामा संलग्न सवारीसाधनमध्ये मोटरसाइकलको सङ्ख्या सबैभन्दा बढी छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको विवरणअनुसार ५१ वटा मोटरसाइकल, १४ वटा जिप तथा कार र १३ वटा टेम्पो दुर्घटनामा संलग्न भएका छन् ।

त्यस्तै, दुई वटा ट्याक्टर, एउटा बस, एउटा माइक्रोबस र दुई वटा अन्य सवारीसाधन दुर्घटनामा परेका छन् । दुर्घटनाका कारणमा तीव्र गति, मादक पदार्थ सेवन गरी सवारी चलाउनु, चालकको असक्षमता, यान्त्रिक गडबडी र अन्य लापरबाही रहेका छन् । सडकमा जनावर आउनु तथा टायर खुस्किनुजस्ता कारणले पनि दुर्घटना हुने गरेको कार्यालयको विवरणमा उल्लेख छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक कनकबहादुर शाहीले सवारी दुर्घटना न्यूनीकरणका लागि चालकले ट्राफिक नियमको पूर्ण पालना गर्नुपर्ने बताए ।

उनका अनुसार सवारीसाधन चलाउँदा गति नियन्त्रण गर्ने, मादक पदार्थ सेवन गरेर सवारी नचलाउने र सवारीसाधनको प्राविधिक अवस्था नियमित जाँच गर्ने जस्ता सावधानी अपनाउन आवश्यक छ ।सवारी दुर्घटना घटाउन ट्राफिक प्रहरीको निगरानीसँगै चालक र यात्रुको जिम्मेवार व्यवहार पनि उत्तिकै महत्वपूर्ण हुने उनको भनाइ छ । मोटरसाइकल चलाउँदा हेल्मेट प्रयोग गर्ने, चारपाङ्ग्रे सवारीमा सिट बेल्ट बाँध्ने, लामो दूरीमा पर्याप्त आराम गर्ने र सडकको अवस्थाअनुसार गति कायम गर्ने हो भने दुर्घटनाको जोखिम कम गर्न सकिने उनले बताए ।

सवारी दुर्घटनाको सङ्ख्या घट्नु सकारात्मक भए पनि मृत्यु हुनेको सङ्ख्या अघिल्लो वर्षकै बराबर रहनुले दुर्घटनाबाट हुने ज्यानको क्षति न्यूनीकरणमा थप ध्यान दिनुपर्ने देखाएको छ । त्यसैले दुर्घटना घटाउने प्रयाससँगै दुर्घटनाको गम्भीरता कम गर्न नियमित अनुगमन, सवारीसाधनको प्राविधिक परीक्षण र नागरिक सचेतनालाई प्रभावकारी बनाउन आवश्यक छ ।

मोटरसाइकल दुर्घटना धेरै 

प्रहरीका अनुसार २०८३ को दसैँ अवधिमा दुर्घटनामा संलग्न सवारीसाधनमध्ये मोटरसाइकलको सङ्ख्या सबैभन्दा बढी छ । जसमा एक हजार ५५२ मोटरसाइकल रहेका छन् । यस्तै, ३३७ जिप तथा कार, २०७ टेम्पो, ७१ ट्रक तथा ट्यांकर, ६४ माइक्रोबस, ५४ बस, ३८ ट्याक्टर, १५ टिपर, १० डोजर, स्काभेटर तथा लोडर र १३३ अन्य सवारीसाधन रहेको उल्लेख छ । मोटरसाइकलको संलग्नता उच्च देखिनु सडक सुरक्षाका लागि महत्वपूर्ण विषय बनेको प्रहरी प्रवक्ता काफ्लेले बताए ।

‘मोटरसाइकल चालक र पछाडि बस्ने यात्रु अन्य सवारीका यात्रुजस्तो धातुको संरचनाभित्र सुरक्षित हुँदैनन्,’ उनले भने, ‘ठक्कर, चिप्लिने घटना वा सडकबाट बाहिरिने दुर्घटनामा उनीहरू प्रत्यक्ष रूपमा घाइते हुने गरेका छन् ।’ उनका अनुसार मोटरसाइकल बढी दुर्घटनामा संलग्न हुनुको कारण यसको प्रयोगको व्यापकता, चालकको व्यवहार र सडकको बनावट जस्ता समस्या छन् । त्यसैले मोटरसाइकल दुर्घटना घटाउन हेल्मेटको प्रभावकारी प्रयोग, गति नियन्त्रण, लेन अनुशासन र सुरक्षित ओभरटेकिङ गर्नुुपर्ने प्रहरीले जनाएको छ ।

यसका लागि जोखिमपूर्ण सडक खण्डमा निगरानी बढाइएको छ भने प्रहरीले चाडपर्वलक्षित सुरक्षा योजनाअन्तर्गत देशभर ४०८ यात्रु सहायता कक्ष स्थापना गरेको थियो । अन्तर्राष्ट्रिय सीमा नाकाका १०८ स्थानमा हेल्प डेस्क राखेर यात्रुलाई सूचना तथा सहायता उपलब्ध गराइएको प्रहरीले जनाएको छ । ट्राफिक व्यवस्थापनका लागि जनचेतनामूलक कार्यक्रम र प्रविधिको प्रयोगसमेत गरिएको थियो ।
यी प्रयासका बाबजुद मृत्यु हुनेको सङ्ख्या बढ्नुले सुरक्षा व्यवस्थाको प्रभावकारिता कसरी मापन गर्ने भन्ने प्रश्न उठेको छ । सहायता कक्ष स्थापना गर्नु, चेकजाँच बढाउनु र कारबाही गर्नु आवश्यक भए पनि तिनले दुर्घटना तथा मृत्युदर घटेको छैन ।

  • No tags available
प्रकाशित मिति : २०८३ कात्तिक १४ गते शुक्रबार