केशव राना
कोहलपुर, जेठ ३१
बाँके राष्ट्रिय निकुञ्जले वन्यजन्तुका लागि निकुञ्जभित्र सोलार वाटर पम्प जडान गरेको छ । वन्यजन्तुका लागि पानीको अभाव हुन नदिन सूर्यको प्रकाशबाट चल्ने पम्प जडान गरिएको निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत लालबहादुर भण्डारीले बताए ।
निकुञ्जले गिद्देनीचौर घाँसे मैदानमा पम्प जडान गरेको छ । करिब ३ लाखको लागतमा सो सोलार वाटर पम्प जडान गरिएको हो । गिद्देनीचौरमा पानीको अभाव भएको र बाघ लगायतका वन्यजन्तुको वासस्थान पनि भएकाले ‘पाइलटिङ्’ का रुपमा सोलारबाट चल्ने पम्प जडान गरिएको निमित्त प्रमुख संरक्षण अधिकृत भण्डारीले बताए । गिद्देनीचौरमा २५० वाटका ४ वटा गरी एकहजार वाटको सोलार जडान गरिएको छ ।
अहिले बोर्डिङ्गले २ इन्च बराबरको पानी फाल्ने गरेको भण्डारीले बताए । ‘यो निकुञ्ज सुख्खा क्षेत्र भएकाले यहाँ पानीको अभाव छ’ उनले भने ‘वन्यजन्तुलाई पानीको अभाव नहोस् भन्नका लागि सोलार वाटर पम्प जडान गरेका हौं ।’यसले सफलता प्राप्त गरेमा अन्य ३ देखि ५ वटा घाँसेमैदानहरुमा पनि सो पम्प जोड्ने तयारी भैरहेको निकुञ्जले जनाएको छ । मुलुकको सुख्खा निकुञ्जको रुपमा रहेको छ, बाँके निकुञ्ज । बाँके निकुञ्जमा रहेको वन्यजन्तुलाई पानीको समस्या रहेको छ । त्यसमाथि सुख्खायाममा पानीका मुहानहरु सुक्ने क्रम जारी छ । मुहानहरु सुक्दै गएकाले बेला सोलार वाटर पम्पले वन्यजन्तुलाई धेरै राहत हुने विश्वास लिइएको छ ।