चौथो वार्षिकोत्सव सम्पन्न



कोहलपुर ।

बाँकेको कोहलपुरमा केन्द्रीय कार्यालय रहेको समाज सेवा संस्थाको चौथो वार्षिकोत्सव सम्पन्न भएको छ । शनिबार एक औपचारिक कार्यक्रमको बीच संस्थाको चौथो वार्षिकोत्सव सम्पन्न भएको हो । वार्षिकोत्सवको कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले उद्घाटन गरेका थिए । उनले समाजमा गम्भीर समस्याका रुपमा रहेको लागूऔषधका बारेमा व्यापक प्रचार गर्दै आएको बताए ।

कोहलपुर क्षेत्रमा सामाजिक कार्यमा सधै अग्रसर भएर काम गर्दै आइरहेको भन्दै आगामी दिनमा पनि सक्रिय रुपमा काम गर्न उनले आग्रह गरे । ‘लागुऔषध नियन्त्रण, बालविवाह न्यूनिकरण, सवारी दुर्घटना न्यूनिकरण, मानव बेचविखन रोक्न निकै महत्वपूर्ण काम गरेको छ । यूवाहरुको सक्रियतामा यस्तो कार्य हुनुको एकदमै राम्रो हो । स्थानीय सरकार यहाँहरुको साथमा छ ।’ नगरप्रमुख रावतले भने । यसैगरी समाज सेवा संस्था नेपालका केन्द्रीय अध्यक्ष विनोद थापाले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । आर्थिक वर्ष २०७६÷०७७ मा ५ लाख ७० हजार ५ सय ८८ रुपैँयाको कारोबार गरेको थापाले बताए ।

आफ्नो संस्थाले १५ वटा भन्दा बढी सरकारी तथा गैरसरकारी संस्थाहरुसँग मिलेर काम गरेको उनको भनाइ थियो । यसैबीच, चौथो वार्षिकोत्सवमा संस्थाको ११ सदस्सीय कार्यसमिति चयन गरेको छ । पुनः विनोद थापाको अध्यक्षयतामा नयाँ समिति चयन गरिएको हो । जसको उपाध्यक्षमा रमिता चौधरी, कोषाध्यक्षमा कल्पना चन्द र महासचिवमा रमेश बहादुर घर्ती चयन भएका छन् । भने सचिवमा इमरार हास्मी र सह—सचिव शर्मिला घर्तीलाई चयन गरिएको छ । संस्थाका सदस्यहरुमा कबिन्द्र परियार, गुरु प्रसाद गडरिया, शिव कुमार बर्मा, कविता थापा र जुना चौधरी रहेको समाज सेवा संस्थाले जनाएको छ ।

मिसनकर्मी शाही सम्मानित

बाँकेको कोहलपुरबाट प्रकाशन हुँदै आएको मिसन टुडे दैनिकमा कार्यरत डिल्ली शाही सम्मानित भएका छन् । सामाजिक क्षेत्रमा काम गर्दै आएको समाज सेवा संस्थाको चौथो वार्षिकोत्सवको अवसरमा मिसनकर्मी शाही सम्मानित भएका हुन् । पत्रकारीताको माध्यमबाट लागूऔषध प्रयोग न्यूनिकरणमा महत्पूर्ण भूमिका खेलेको भन्दै संस्थाले उनलाई प्रंशसापत्र सहित दोसल्ला ओढाएर सम्मान गरेको थियो ।

शाहीलाई एक कार्यक्रमका बीच कोहलपुर नगरपालिकाका नगरप्रमुख रावतले प्रंशसापत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका थिए । सम्मानित भएपछि पत्रकार शाहीले संस्थाको सम्मानले आफूलाई पत्रकारितामा थप मजबुत रुपमा लाग्ने प्रेरणा मिलेको बताएका छन् । सो वार्षिकोत्सवमा बाँकेका तत्कालिन लागुऔषध व्यूरो प्रमुख प्रहरी निरीक्षक वीरबहादुर थापालाई समेत सम्मानित गरिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७७ कात्तिक २३ गते आइतबार