बाँसगढी ।
बाँसगढी नगरपालिकाले नगर अनुदानमा कार्यरत कम्प्युटर शिक्षक हटाएको छ । यसअघिका जनप्रतिनिधिले नगर अनुदानमा भर्ती गरेका २३ जना कम्युटर शिक्षकलाई हटाएको हो । नगरपालिकाले सम्बन्धित विद्यालयलाई चैत २८ गते जारी गरेको सूचनामा नगर कार्यपालिकाको चैत २१ गतेको निर्णय अनुसार शैक्षिक सत्र २०८० बैशाख १ गतेदेखि हाजिर नहुन निर्देशन दिएको छ ।
उक्त सूचनामा शैक्षित्र सत्र २०८० देखि कक्षा ६–८ सम्मको पाठ्यक्रममा कम्प्युटर विषय नराखिएको उल्लेख छ । तर सो स्थानमा स्थानीय पाठ्यक्रम मेरो बाँसगढी कक्षा १–८ तयार भइ शैक्षिक २०८० देखि लागू हुने भएकोले नगर अनुदानमा कार्यरत कम्प्युटर शिक्षक तथा अध्ययपन अनुमति पत्र नभएका विज्ञान गणित विषयका शिक्षक हटाइएको हो ।
शिक्षा अधिकृत छत्रबहादुर शाहीद्धारा हस्ताक्षरित सूचनामा बैशाख १ गतेदेखि निर्णय लागू हुने जनाइएको छ । ती मध्ये १४ जना कम्प्युटर शिक्षक रहेका छन् । उनीहरु सबै निमावि तहका शिक्षक हुन् । एक जना मावि तहका नगर अनुदान अन्तर्गत बाली विज्ञानका शिक्षक रहेका छन् । यस्तै सात जना विज्ञान-गणित विषयमन शैक्षिक सुधार अन्तर्गत पाँच जना निमावि र दुई जना मावि तहका शिक्षक छन् । यस्तै निमावि तहका एक जना राहत शिक्षक रहेका छन् ।
नगरपालिकाको उक्त निर्णयको व्यापक विरोध भइरहेको छ । स्थानीय कृष्ण आचार्यले सामाजिक सञ्जाल फेसबुकमार्फत नगरपालिकाले शिक्षकहरुको आत्मसम्मान चोट पुगे निर्णय गरेको बताएका छन् । उनका अनुसार उक्त निर्णय गलत, अमानवीय र अप्राकृतिक रहेको छ । उनले अब गोजी भित्रका मान्छे राख्नु होल भन्दै टिप्पणीसमेत गरेका छन् ।
सन्तोष बास्तोलले गलत निर्णय सच्याउनुपर्ने माग गरेका छन् । बाँसगढी नगरपालिकाकी उपप्रमुख इन्दिरा चौधरीले ति शिक्षकहरुको नियुक्ति प्रक्रिया नियम संगत नभएको र अध्ययन अनुमति पत्र नभएका कारण हटाइएको जानकारी दिइन् ।
बाँसगढी नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख छत्रबहादुर शाहीका अनुसार आर्थिक भार नगरपालिकाले थेग्न सक्ने अवस्था नरहेको, अख्तियारले बारम्बार ध्यानाकर्षण गराएको र राष्ट्रिय पाठ्यक्रम अनुसार छुट्टै कम्प्युटर शिक्षक राख्ने व्यवस्था नभएकोले पूर्व जानकारी अनुसार नै हटाउने निर्णय गरिएको बताएका छन् ।
बाँसगढी नगरपालिकाले २०७६ सालमा ती शिक्षकहरु नियुक्ति गरेको थियो । सो नियुक्ति प्रकृयाका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत निवेदन परेको थियो ।








प्रतिक्रिया दिनुहोस्