कोहलपुर ।
बाँकेको दोस्रो ठूलो सहर कोहलपुरमा लामो दुरीको आधुनिक बसपार्क निर्माणको अन्तिम चरणमा पुगेको छ । पश्चिम नेपालमै सुविधा सम्पन्न बसपार्क निर्माणको अन्तिम चरणमा पुगेको हो । कोहलपुर नगरपालिकाले नगर विकास कोषसँग ऋण सम्झौतामा निर्माण गरिएको लामो दुरीको बसपार्क निर्माण कार्य सम्पन्न गरी सञ्चालनको तयारी भइरहेको छ ।
अहिलेसम्म बस पार्किङ, टिकट काउण्टर, सपिङ कम्प्लेक्सलगायतका संरचना निर्माण भइसकेका छन् । यस्तै आधुनिक बसपार्कका साथै सपिङ कम्प्लेक्ससमेत निर्माण भइसकेको छ । बसपार्कमा तीनवटा प्लेटफर्म छन् । बसपार्कभित्रै व्यावसायिक सटरसँगै, स्वास्थ्य चौकी, बैंक तथा सुरक्षा निकाय पनि रहनेछ ।
चौराहादेखि केही मिटर अगाडि लामो दुरीको बसपार्कमा प्रवेशको लागि मुख्य गेट बनाइएको छ । बसपार्कमा सवारी साधनभित्र जाने र बाहिर निस्कने गेट फरकफरक हुनेछ । बसपार्कमा दुई दर्जनभन्दा बढी लामो दुरीका सवारी साधन राख्न सकिने क्षमता छ । नयाँ वर्ष लगत्तै निर्माण व्यवसायीले सम्पूर्ण काम सकेर कोहलपुर नगरपालिकालाई हस्तान्तरण गर्नेछ ।
त्यसको केही समयमै बसपार्क सञ्चालनमा आउने नगरपालिकाले जनाएको छ । कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालका अनुसार लामोदुरीको बसपार्कको समग्र व्यवस्थापन बहालमा दिने, औषधि पसल सञ्चालन, लामोदुरीको बसपार्क क्षेत्रभित्र रहेका सटरहरु बहालमा दिनको लागि सूचना प्रकाशित गरिएको छ । यो बसपार्क सञ्चालनपछि कोहलपुरलाई सुन्दर सहर बनाउने अभियानमा सहयोग पुग्ने ढकाल बताउँछन् ।
यस्तै बसपार्क सञ्चालनका लागि कोहलपुर बसपार्क व्यवस्थापन कार्यविध, २०७९ स्वीकृत भइसकेको उनले बताएका छन् । बसपार्कमार्फत बाँके, बर्दिया, सुर्खेत, दाङलगायतका बाहिर जिल्लामा आउन र जान सकिनेछ । यस्तै बसपार्क सञ्चालनका लागि नगर प्रमुखको अध्यक्षतामा पाँच सदस्यीय बसपार्क व्यवस्थापन समिति रहनेछ । बसपार्क निर्माणको लागि ६० प्रतिशत नगर विकास कोषको ऋण लगानी गरेको छ भने ४० प्रतिशत नगरपालिका आफँैले लगानी गरेको छ ।
वार्षिक आठ प्रतिशत ब्याज रकम तिर्नेगरी २० वर्षका लागि कोषसँग ऋण सम्झौता भएको छ । आधुनिक बसपार्क पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको छ । बसपार्क सञ्चालनमा आएपछि यात्रुहरुलाई सहजता हुने र कोहलपुरको विकासमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ । वैशाख अन्तिम सातासम्म बसपार्क सञ्चालन गर्ने तयारी गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्