पश्चिम क्षेत्रमा गुणस्तरहीन प्युठान सिमेन्ट, दुई महिनामै उप्कियो ढलान (भिडियो)



दुई महिना नहुँदै प्युठान सिमेन्ट प्रयोग गरेर निर्माण गरिएको उक्त ढलान उप्किएको छ । ढलान धुलैधुलो मात्र बनेको छ । बाँकेसहित पश्चिम क्षेत्रमा गुणस्तरहीन प्युठान सिमेन्टको उत्पादन खुलेयाम बिक्रीवितरण भइरहेको यो एउटा उदाहरण मात्र हो । जिल्लामा डिलरमार्फत बिक्रीवितरण भइरहेको सिमेन्टले आफूहरुलाई ठगिरहेको उपभोक्ताहरुले गुनासो गरेका छन् । प्युठान सिमेन्टका उपभोक्ताहरुका अनुसार यसको उत्पादन गुणस्तरहीन छ ।

……………………………………………………………………………………………….

शुभाकर विश्वकर्मा । कोहलपुर ।

प्युठान सिमेन्टको विज्ञापनमा छ, ‘निर्माण बन्छ चट्टान, सिमेन्ट हो प्युठान ।’ यसको अर्थ हो, ‘प्युठान सिमेन्ट प्रयोग गर्दा चट्टान जस्तै बलियो हुन्छ ।’ चट्टान भन्नाले एउटै ठूलो ढुंगाको पहाड वा ढिस्को, ढुंगैढुंगाको ठूलो राशी, ढुंगाको राशीको एक फग्लेँटो वा टुक्रा ।’ तर, यही चट्टान दाबी गरिएको सिमेन्ट विज्ञापनमा जस्तै चट्टानी हुन सकेन । यसको उदाहरण हो, कोहलपुरस्थित सुरज गिरीले निर्माण गरिरहेको ग्याबिन उद्योग ।

कोहलपुरस्थित मैटहवा नजिकै सुरज गिरीले जाली उद्योग निर्माणका लागि शुभ श्री अग्नी प्रालिद्वारा उत्पादित प्युठान सिमेन्ट प्रयोग गरेका थिए । बलियो संरचना निर्माणका लागि उनले प्युठान सिमेन्टको प्रयोग गरेका थिए, तर सोचेजस्तो बलियो भएन । दुई महिना नहुँदै प्युठान सिमेन्ट प्रयोग गरेर निर्माण गरिएको उक्त ढलान उप्किएको छ । ढलान धुलैधुलो मात्र बनेको छ । बाँकेसहित पश्चिम क्षेत्रमा गुणस्तरहीन प्युठान सिमेन्टको उत्पादन खुलेयाम बिक्रीविरतण भइरहेको यो एउटा उदाहरण मात्र हो ।

जिल्लामा डिलरमार्फत बिक्रीवितरण भइरहेको सिमेन्टले आफूहरुलाई ठगिरहेको उपभोक्ताहरुले गुनासो गरेका छन् । प्युठान सिमेन्टका उपभोक्ताहरुका अनुसार यसको उत्पादन गुणस्तरहीन छ । जर्मनीको उच्च प्रविधि प्रयोग गरेर ओपिसी र पिपिसी सिमेन्ट उत्पादन गरिरहेको कम्पनी ‘प्युठान ब्रान्ड’ सिमेन्ट कमसल रहेको पाइएको गिरी बताउँछन् । उनले आफ्नो व्यवसायको लागि ढलान गर्न कोहलपुरबाट प्युठान सिमेन्ट खरिद गरेका थिए । दुईपटक गरेर नौ सय बोरा सिमेन्ट खरिद गरेका उनले गुणस्तरीय हुने अपेक्षासहित ढलान गरे पनि दुई महिना पनि नटिकेको उनले जानकारी दिए ।

व्यावसायिक हल निर्माणको लागि पहिलोपटक गत असोज २० गतेदेखि २५ गतेसम्म ढलान गरेको भए पनि दुई महिना नबित्दै उप्किन थालेको गिरीको भनाइ छ । ‘मैले प्रयोग गरेको प्युठान सिमेन्ट छोटो समयमै उप्कियो । राम्रोसँग पकड गरेन,’ उनले भने, ‘कत्ति पनि कामै गरेन । अहिले पूरै धुलैधुलो भइरहेको छ ।’ उनले पहिलो चरणमा पाँच सय बोरा प्युठान सिमेन्ट प्रयोग गरेका थिए ।

यस्तै दोस्रोपटक पनि कात्तिक ७ गते चार सय बोरा प्रयोग गरेको उनले बताए । कुल नौ सय बोरा प्युठान सिमेन्ट खरिद गरेर प्रयोग गरेका उनी तीन महिना नपुग्दै उप्किन थालेपछि गिरी समस्यामा परेका छन् । ठूलो लगानीमा खरिद गरेको सिमेन्टले काम गर्न छोडेपछि सिमेन्टको लगानी बालुवामा पानी भएको गिरीले सुनाए । उनले प्युठान ब्रान्डको पिपिसी प्रयोग गरेका थिए । बाँकेको कोहलपुरमा रहेको डिलरबाट सबै सिमेन्ट खरिद गरेको उपभोक्ता गिरीले मिसन टुडे दैनिकलाई जानकारी दिए ।

उनी भन्छन्, ‘यसको जुनगुणस्तर हुनुपर्ने हो, देखिएको छैन । यो त गुणस्तरहीन रहेछ । यो सिमेन्टले प्रयोगपछि चट्टान बन्छ भन्छ, धुलैधुलो मात्रै भएको छ ।’ करिब ३४ सय वर्ग मिटर क्षेत्रफलमा प्रयोग भएको सिमेन्ट खरानी र बालुवा भएर निस्किएको उनले बताए । यो सबै नोक्सान भएर जति बढारे पनि धुलोमात्रै निस्किने गरेको गिरीको गुनासो छ । यसको दीघायू देखिएन, सामान्य मानिस हिँड्दा पनि धुलो उड्छ ।

यसबाट भोलि कसरी पुल बन्छ ? नहर कसरी बन्छ ? व्यवसायीसमेत रहेका उनको प्रश्न छ । उनले गुणस्तरहीन र कमसल सिमेन्ट कारण आफ्नो ठूलो लगानी डुब्नुका साथै व्यवसाय, कर्मचारीको स्वास्थ्यमा समेत असर गरेको बताएका छन् । आफू प्युठान सिमेन्टबाट ठगिएकोले क्षतिपूर्ति दिनु पर्ने वा फेरि ढलान गरिदिनुपर्ने उनको माग रहेको छ । यसबारे तपाईंको अबको बाटो के हो ? भन्ने मिसन टुडेको प्रश्नमा उनले भने, ‘म पीडित मान्छे हो, मेरो लगानी डुबेको छ । म अब न्यायको खोजीमा जान्छु ।’

‘प्राविधिक गम्भीर भएनन्’

गुणस्तरहीन सिमेन्ट देखिएपछि सुरजले सम्बन्धित निकायमा जानकारी समेत गराए । डिलर र कम्पनीका व्यक्तिलाई जानकारी गराएपछि प्राविधिकको टोली आएको थियो । प्राविधिक टोलीले गुणस्तर मापन गरे पनि गम्भीर भएनन् ।

‘प्राविधिक टोली आएको थियो,’ सुरजले भने, ‘तर उनीहरु गम्भीर भएनन् ।’ ‘गुणस्तर मापनका लागि आएका प्राविधिकहरुले तपाईंहरुको समस्या हो, यसमा हामीले केही पनि गर्न सक्दैनौ भन्दै पन्छिए,’ उनी भन्छन्, ।

‘कम्पनीले चासो देखाएन’

व्यवसायी सुरज गिरीले खरिद गरेको सिमेन्टमा आएको खराबीका विषयमा आफू जानकार रहेका जय बागेश्वरी ट्रेडर्सका सञ्चालक नगेन्द्रबहादुर चन्दले बताए । सुरजले उक्त टे«डर्सबाट सिमेन्ट खरिद गरेका थिए । ‘सिमेन्टका कारण समस्या भएको थाहा छ,’ उनले मिसन टुडेसँग कुरा गर्दै भने, ‘मैले कम्पनीमा समेत जानकारी गराइसकेको छुँ ।

यो समस्या हामी बिक्रेताको भन्दा पनि कम्पनीको नै हो ।’ कम्पनीदेखि उसका कोहलपुरमा रहेका प्रतिनिधिहरुसँग समेत यो विषयमा पटकपटक कुरा भइसकेको सञ्चालक चन्दले बताए । ‘ग्राहकले लिएको सिमेन्टमा देखिएको समस्याबारे सबैलाई जानकारी गराएकै हो, तर अहिलेसम्म कसैले पनि चासो देखाएका छैनन्,’ उनले भने, ‘यसले गर्दा आफूहरुलाई समेत समस्या भइसकेको छ ।’

कम्पनीले यसबारे प्रष्ट पारे आफूहरुलाई सहज हुने उनले बताए । ‘यो सिमेन्टकै कारणले समस्या हो की होइन, के कारणले भएको हो भन्ने कुरा भनिदिए हुन्थ्यो,’ सञ्चालक चन्दले भने, ‘कम्पनी र कम्पनीका मान्छेहरुले कुनै चासो नदिँदा अहिलेको समस्या आएको हो ।’

  • No tags available
प्रकाशित मिति : २०७८ पुस १२ गते सोमबार