18 April 2024  |   बिहिबार, बैशाख ६, २०८१

बाँकेमा अझै समातिएन मान्छे खाने पाटेबाघः बस्ती नजिकै पाटेबाघको बथान !

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, अशोज ६, २०७८  

कोहलपुर ।

पछिल्लो केही सातायता बाँके राष्ट्रिय निकुञ्ज आसपासका स्थानीय निकै त्रसित छन् ।

बाटैबाट मान्छेलाई बाघले लुछेर खाएपछि बस्तीमा त्रासको वातावरण बनेको छ । केही दिनअघि मात्रै बाँकेको राप्ती सोनारी गाउँपालिका–१ गाभरमा बाटोमा हिँड्दै गरेका एक भारतीय नागरिकलाई बाघले लगेको थियो । भोलिपल्ट ती मान्छेको शरीरको केही अंश मात्रै भेटियो ।

त्यसपछि निकुञ्जले मान्छे खाने बाघ समात्नका लागि ट्रयाप राखेको थियो । भैंसीको पाडो राखेर निकुञ्जले मान्छे खाने बाघ समात्ने योजना बनाएको थियो । तर, उक्त ट्रयापमा बाघ परेन । मान्छे खाने बाघ खोजीका लागि हात्तीसहित सुरक्षाकर्मी खटाइएको छ । उक्त बाघका कारण स्थानीयहरू त्रसित भइरहेका बेला अर्को एउटा बाघको बथान नै फेला परेको छ ।

राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ को गाभर र सौरी गाउँबीचको जंगलमा पाटे बाघको बथान नै फेला परेको हो । निकुञ्ज कार्यालयले हालै राखेकोे ‘क्यामेरा ट्रापिङ’ बाट उक्त बाघको बथान फेला परेको बताइएको छ । पहिले नै बाघको आतंकले त्रसित भएका स्थानीय बथान नै भेटिएको खबरले झन् त्रसित बनेका छन् ।

पाटेबाघले गाउँ आसपासको क्षेत्रमा आफ्नो उपस्थिति देखाउन थालेपछि निकुञ्जले निगरानी बढाउन विभिन्न सम्भावित ठाउँमा क्यामेरा राखेको थियो । यसका साथै दुईवटा हात्तीसहित नेपाली सेना र निकुञ्जका कर्मचारीले नियमित रुपमा गस्ती गर्दै आएका थिए ।

आइतबार बेलुकी साढे ५ बजेतिर दुई वटा पाटेबाघको जोडी एक्कासी गाउँभन्दा करिब ३ किमी पूर्वस्यानीखोली राजमार्ग जंगलमा फेला परेपछि बाघ पुरानै ठाउँमा फर्किएको अनुमान गरिएको थियो । निकुञ्जले राखेको क्यामेरा हेर्दा अहिले त्यहाँ चारवटा वयस्क पाटेबाघ फेला परेको तथ्य बाहिर आएको हो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले चारवटै बाघलाई गाभर र सौरीको बीच जंगलमा क्यामेराले कैद गरेको बताए ।

‘अहिले निकुञ्जमा सबैभन्दा बढी संख्यामा बाघ देखिएको ठाउँ राप्ती सोनारीको गाभर र सौरी बीचको जंगल हो,’ उनले भने, ‘बाघको बथान नै गाभर र सौरी खण्डको जंगलमा रहेको हाम्रो क्यामेराले देखायो, यिनीहरू कहिले निकुञ्ज क्षेत्रमा देखिन्छन्, कहिले सामुदायिक जंगलमा देखिरहेका
छन् ।’

क्यामेरामा कैद भएका चारवटा बाघ मान्छेलाई आक्रमण गरेको मध्येकै हुन् वा होईनन्, भन्नेमा यसबारे एकीन हुन नसकेको प्रमुख साह बताउँछन् ।

‘त्यो क्षेत्रमा अहिले हाम्रो अनुगमनले चारवटा वयस्क बाघ देखियो, त्यो चार वटा मध्ये हामीले यस वर्ष पनि निकुञ्जका पाटेबाघको क्यामेरा ट्रयापिङ प्रविधिबाट अनुगमन गरेका थियौं, ती चार वटा मध्ये तीनवटाको पहिचान त भइसक्यो,’ उनले भने, ‘विगतमा पनि हाम्रो क्यामेरा ट्रयापिङको फोटोमा तीन वटा चाँही पहिचान भईसकेका छन्, अब एउटाको पहिचान हुन बाँकी छ ।’

क्यामेरामा परेका बाघ सबै वयस्क देखिएको उनले सुनाए । केहीदिन अघि मान्छे खाएको बाघलाई निकुञ्जले माउलाई छाडेर स्वतन्त्रपूर्वक हिँडिरहेका बच्चा बाघ भएको हुनसक्ने अनुमान गरेको थियो ।

तर, अहिले क्यामेरामा परेका सबै वयस्क बाघ रहेका छन्,’ साहले थपे, ‘हामीले टाँढाबाट हेरेको कारणले गर्दा बच्चा जस्तो लागेको पनि हुन सक्छ, तर फोटोमा हेर्दा त बच्चा देखिएन, यि चाही वयस्क बाघ हुन् ।’

यस हिसाबले कुसुम क्षेत्रमा बाघको संख्या अझै धेरै रहेको हुन सक्ने प्रमुख संरक्षण अधिकृत शाहको अनुमान छ । बाघले मान्छे र पशुचौपायामाथि आक्रमण गर्न थालेपछि निकुञ्जले दुईवटा हात्तीमार्फत नियमित अनुगमन गरिरहेको र सेना तथा कर्मचारीले पनि नियमित गस्ती गर्दै आएको र नियन्त्रण गर्न कठिनाई भइरहेको प्रमुख संरक्षण अधिकृत साहले बताए ।

बाघ नियन्त्रणमा नआएकाले राजमार्गमा यात्रा गर्ने सवारी साधनलाई कडाई गरिएको निकुञ्ज प्रशासनले जनाएको छ । अहिले निकुञ्ज क्षेत्रमा दिउँसो र रातिको समयमा मोटरसाइकल, साइकल, पदैलयात्रीलाई एक्लै हिँड्न दिइएको छैन । बाघको आक्रमण हुनसक्ने भन्दै मानविय क्षतिलाई न्यूनीकरण गर्न निकुञ्जले यात्रामा कडाइ गरेको हो ।

प्रकाशित मितिः बुधबार, अशोज ६, २०७८     10:52:41 AM  |