कोरोना संक्रमण भएका व्यक्तिहरुका अनेकन कथा छन् । कोरोना संक्रमण पुष्टिपछि र कोरोना जिते पनि समाजले गर्ने व्यवहार अपराधी भन्दा पनि तल्लो स्तरको रहेको उनीहरुको अनुभव छ । उनीहरु भन्छन्, ‘कोरोनालाई कमजोर नठानौं, हामी मृत्यु जितेर आएका छौं ।’ ती मध्ये एक हुन्, गुल्मी घर भएका टिकाराम सापकोटा । काठमाडौको गोगंबुमा बस्दै आएका उनी तत्कालीन नेकपा एमालेका विभिन्न तहमा रहेर राजनीतिक कर्ममा सक्रिय थिए । यसका साथै शैक्षिक क्षेत्रमा उनको लामो योगदान छ । उनी हाल टाइम्स कलेजका अध्यक्ष समेत हुन् । संक्रमण मुक्त भएपछि सापकोटाले मिसन टुडे दैनिकसँग राखेको कोरोना अनुभुति ।
मेरो घर गुल्मी हो । कालिगण्डकी पाँच फोक्सीमा पर्छ । अहिले म गोगंबुुमा बस्छु । पेसाले शैक्षिक क्षेत्रमा छु । राजनीति पनि गर्छु । तत्कालिन नेकपा एमालेको विभिन्न तहमा रहेर काम पनि गरे । अहिले नेकपामा आबद्ध छु । अहिले संसारलाई हल्लाइरहेको कोरोनाबाट म पनि अछुतो हुन सकिन । मैले विभिन्न औषधि प्रयोग गरिरहेको थिए । दुई पटक अपे्रशन समेत गरेको व्यक्ति हुँ । सुगर, प्रेसरको समेत प्यासेन्ट हुँ । मैले आफूले आफूलाई बाह्य व्यक्तिहरुको सम्पर्कबाट बचाइरहेको थिए । उच्च सावधानी अपनाएको हो । मास्क र सेनिटाइजर प्रयोग गरिरहेको थिए । सामाजिक दुरी त मेरो लागि अनिवार्य थियो । मेरै लागि भनेर छोराले जागिर समेत छोडेका थिए ।
अब मलाई कहाँबाट कसरी, कुन माध्यमबाट कोरोना संक्रमण भयो भन्ने मैले अहिलेसम्म थाहा पाउन सकेको छैन । मसँग दुई जना बाहेक अरु साथीहरु सम्पर्कमा थिएनन् । केही समय बन्द भएपछि असार १ गतेबाट कलेजमा भने जान्थे । म एउटा कलेज पनि चलाउँछु । तर मेरो कोठा छुट्टै हुने र धेरै जनासँग सम्पर्क नहुने भएकोले चान्स एकदमै कम थियो जस्तो लाग्छ । म अरुलाई छुन समेत दिन्थिन् । म पनि कसैलाई छुन्थिन् । मलाई प्राय मेरो बाबुले नै पु¥याईदिन्थ्यो । पछि मेरो ट्रेसिङमा परेकाहरुलाई समेत केही पनि भएन । तर मलाई एक्कासी ज्वरो आयो । श्वास फेर्न निकै समस्या भयो । स्वास्थ्य अवस्था कमजोर हुँदै गयो । बाबु र बुढीले मलाई अस्पताल लिए । अकस्मात परीक्षणको क्रममा मेरो कोरोना पोजेटिभ देखियो । घर परिवारको भने नेगेटिभ देखियो । म धेरै समयदेखि बिरामी भएको मान्छे । मलाई डाक्टरहरुलाई देखाइयो ।
कोरोना संक्रमण पुष्टि पछि
पछि म टिचिङ अस्पतालमा भर्ना भए । अस्पताल भर्ना भएपछि पनि मलाई म्याक्सिमम् ज्वरो आइरह्यो । घट््दै घटेन । ज्वरो आउने, श्वास फेर्न गाह्रो हुने । खानामा अरुचि हुने । मलाई कोरोनाका स्पष्ट लक्षण देखिन थाले । खाना भने मैले नरुच्ने भएपनि खाइरहे । अक्सिजन विना रहने सक्ने अवस्था रहेन । कहिले ब्लड प्रेसर हाई हुने । तापक्रम बढेको बढेइ हुने । यी दुई कहिले एकदमै हाई कहिले एकदमै लो भइरह्यो । कोरोनाबाट म नराम्रोसँग प्रभावित भइरहेको थिए । तर मलाई साथी भाइहरुबाट एकदमै ठूलो सहयोग रह्यो । फेसबुक, भाइबर, म्यासेन्जर र फोनहरुबाट स्वास्थ्य लाभको कामना धेरै आयो ।
तर पनि कता–कता डर लाग्दो रहेछ । पहिलादेखि नै विरामी मान्छे । औषधि पनि प्रयोग गरिरहेको मान्छे । म आफूलाई सधै क्रियाशिल राखिरहन्थे । तातोपानी भने म एकदमै धेरै प्रयोग गर्थे । अलिकति समय मिलाएर पढ्छु भन्छु । मनमा अनेक खालका कुरा खेल्ने, एउटा कुरा सोच्छु । अर्कोमा डाइबर्ट हुने । कहिलेकाही त सम्हाल्न समेत गाह्रो हुने अवस्था आयो । मन जति दह्रो बनाउँछु भन्छु नहुने । म झन् झन् कमजोर हुँदै गए । डाक्टरहरुले अण्डा बढी खान भन्थे । म आफै बनाउँथे । पानी पनि आफै तताउँथे । पछि त त्यो पनि गर्न सक्ने भइन म । पछि म आफू भन्दा पनि ८० कटेका बाउ आमा सम्झिन थाले । राजनीति गर्दा संघर्षका दिन सम्झिन थाले ।
सहपाटीहरु झल्झली मानसपटलमा आउने । छोराछोरी एकल लेवलमा पुगेपछि के गर्लान । श्रीमतीको हालत कस्तो होला भन्ने लाग्ने । आफू जन्मेको ठाउँको सम्झना आयो । एकपटक जान पाइदिएको भए हुन्थ्यो । अब त खेर जाने भइयो । मेरो त अन्तिम समय यही भन्ने अवस्था सम्मम पुगे । म अत्यन्त नाजुक अवस्थामा पुगे । अन्नत १४ दिनको कठोर आइसोलेसन बसाई पछि कोरोना रिपोर्ट नेगेटिभ आयो । डाक्टर सन्तकुमारले तपाईको रिपोर्ट नेगेटिभ आएको भन्नुभयो । मलाई पटक्कै पत्यार लागेन । १४ दिन म बसे । वास्तवमा भन्ने हो भने अत्यन्तै कष्टकर, अत्यन्तै पीडामय समय थियो । होइन अब अगाडि बढ्न सकिन्न भन्ने अवस्था पनि थियो । वास्तवमा कोरोना संक्रमितलाई ठूलो अपराधिको जस्तो व्यवहार गरिन्छ । कोही यता छट्पटाएको हुन्छ । कोही उता ।
उनीहरुको अवस्था देख्दा आफू पनि धेरै पीडाबोध हुने । आशा भन्ने कुरा नै छैन । केवल निराशा मात्रै छ । कोही म¥यो भन्ने खवर सुन्यो भने हताहतीको अवस्था हुन्थ्यो । विश्वमा ठूला र विकसित भनिएका देशको हालत देख्दा निकै कहाली लाग्थ्यो । निकै छटपटि हुन्थ्यो । मलाई भने मोबाइलका सयौं घण्टी बजिरहन्थे । कति त मैले उठाउन सक्ने अवस्थामा थिएन । यसो सम्झदाँ कोरोना पूर्ण बस्दोबस्तीका साथ बसिरहेको भान भइरहन्थ्यो । शारिरीक रुपमा भन्दा पनि मानसिक रुपमा सवल भएका कारण मैले कोरोना परास्त गर्न सके । सबैलाई आग्रह गर्छु । सकेसम्म व्यवस्त रहांै । दिमागलाई खाली नै नराखौं । मानिसलाई एक्लो भएको बेला ।
विरामी परेको बेला आफन्तको साथ चाहिन्छ । स्पर्श गर्न चाहन्छ । तर कोरोना संक्रमित भएको बेला व्यक्ति यी सबै कुराबाट बन्चित हुन्छ । माया र ममताको साह्रै खडेरी हुन्छ । यस्तो बेलामा । मैले १४ दिनको आइसोलेसन बसाईको क्रममा त्यो पाए । डाक्टरहरुको समेत उल्लेख्य उपस्थिति रहन सकेन । कहिले काँही सिस्टरहरु आउँछन् । सोध्छन् जान्छन् । कता कता राक्षसको जस्तो व्यवहार भएको अनभूति हुन्थ्यो । यस्तो अवस्थामा डाक्टरले एकपटक पूर्ण सुरक्षाका साथ छोयो भने मात्र पनि आधा डर भाग्थ्यो होला । स्पर्श महत्वपूर्ण
हो । काउन्सिलिङ दिने गर्नुपर्छ जस्तो लाग्छ । तर त्यस्तो देखिएन । धेरैलाई निराशा भएको देखे । अर्कातिर कोरोना संक्रमितलाई स्टामिना आवश्यक हुन्छ भनिन्छ । तर अस्पतालको खाजा र चिउराले मात्रै हुँदैन । यसमा राज्यले एकदमै ध्यान दिनुपर्छ । राजधानीमा यी कुराको अभाव देखियो । दुरदराजको अवस्था कस्तो होला ।
सोच्दा समेत रिगाटाँ लाग्छ । अहिलेकै अवस्था हुने हो भने अझै धेरै महामारी फैलिने अवस्था छ । यसरी बित्यो समय । म कोरोना मुक्त
भए । तर मेरो छोरा र श्रीमतीलाई पनि कोरोना संक्रमण देखियो । उनीहरु घरलाई आइसोलेसन बनाएर बसिरहेका छन् । म एक होटलमा बसिरहेको छु । यसले चाँही मलाई अन्तिम अवस्थामा पु¥याएर मलाई फर्काएको अनूभति गरेको छ । धेरैले मलाई निरन्तर कोरोना जित्नुहुन्छ । नआत्तिनुहोस, हामी छौं । किन डराउनुहुन्छ । भनेर ढाडस नदिएको भए । सायद म यो संसारमा रहने थिइन होला । अहिले म सुन्धारामा बसिरहेको छु । छोरा र श्रीमतीलाई नेगेटिभ नआएको भएर घर जान सकेको छैन । विश्वास छ उनीहरुलाई पनि केही हुँदैन
होला । सरकारलाई म के भन्न चाहन्छु भने क्वारेन्टिन र आइसोलेसन बनाउने भए राम्रो र सुरक्षित बनाउन आग्रह गर्न चाहन्छु ।
भेडा र बाख्रा राख्ने जस्ता क्वारेन्टिन र आइसोलेसनले केही पनि हुनेवाला छैन । कोरोनासँग लड्न सकिदैन । उनीहरुलाई कुनै पनि हालतमा सामाजिक दुरी कायम गराउनुपर्छ । मास्क अनिवार्य गर्ने । सेनिटाइजर पनि प्रयोग गर्ने । साबुन पानी र खानेकुराको व्यवस्था गर्नुपर्छ । होइन भने झन् जोखिम बढ्ने सम्भावना देखिन्छ । हाम्रो जस्तो देशमा औषधिको सहज पहुँच छैन । अन्य देशमा समेत समस्याग्रस्त अवस्था छ । त्यसैले सुरक्षा सबैभन्दा ठूलो कुरा हो । मास्क अनिवार्य, सेनिटाइजर पनि अनिवार्य गर्ने । सरसफाईमा ध्यान दिने गर्नुपर्छ । सर्जिकल मास्कको प्रयोग धेरै समय नगर्ने । आइसोलेसन भित्रको अवस्था भोग्नेलाई मात्रै थाहा हुन्छ ।
कोरोनालाई मानिसलाई हलुका रुपमा लिएका छन् । दीर्गरोगी, बुढाबुढी र बालबालिकालाई मात्र लाग्छ भन्ने सोचाई त्यो बिलकुल गलत छ । यो सबैलाई लाग्छ । अस्पतालमा जवान डाक्टर नर्सहरुलाई समेत कोरोना पुष्टि भइरहेको छ । उहाँको अवस्था अत्यन्तै नाजुक अवस्थामा पुगेको मैले देखेको छु । कोरोना आफ्नो र पराई, धनी या गरिब भन्दैन । कोरोना ख्याल ठट्टाको विषय होइन । कृपया अजरअन्दाज नगरौं भन्न चाहन्छु । ‘सापकोटासँग मिसन टुडे दैनिकका शुभाकर विश्वकर्माले गरेको कुराकानीमा आधारित’








प्रतिक्रिया दिनुहोस्