‘युवाहरूलाई स्वदेशमै रोजगारीको वातावरण सिर्जना गर्छु’



सांसद नरेन्द्रकुमार गुप्ता पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं. २ का स्थायी बासिन्दा हुन् । स्नातक तहसम्मको शैक्षिक योग्यता र लामो समयदेखि व्यावसायिक तथा सामाजिक क्षेत्रमा सक्रिय रहेका गुप्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । नेपालमा संघीयता कार्यान्वयनपछिको संरचनाअनुसार रामग्राम नगरपालिकाको पहिलो नगरप्रमुखका रूपमा उनले आफ्नो भूमिका सफलतापूर्वक निर्वाह गरिसकेका छन् । नगरप्रमुखको कार्यकालमा उनले विकास र निर्माणका क्षेत्रमा निर्वाह गरेको भूमिकाले उनलाई आम नगरबासी माझ निकै लोकप्रिय बनाएको छ । प्रस्तुत छ मिसन टुडेका लागि पुरुषोत्तम सुवेदीले गरेको कुराकानीको सम्पादित अंश ।

                           नरेन्द्रकुमार गुप्ता, नवनिर्वाचित सांसद पश्चिम नवलपरासी– २

के कारणले चुनाव जित्नुभयो ?

सबैभन्दा पहिले त म मेरा मतदाताहरूप्रति नतमस्तक छु । मेरो जित नभई जनताको ‘परिवर्तनको चाहना’को जित हो । परम्परागत राजनीतिबाट आजित भएका नागरिकहरूले रास्वपाको नीति र मेरो सामाजिक पृष्ठभूमिलाई विश्वास गर्नुभयो । स्थानीयस्तरमा देखिएका समस्याहरू समाधान गर्न मेरो इमानदार प्रयास र सुशासनप्रतिको प्रतिबद्धता नै मेरो जितको मुख्य आधार हो ।

तपाईँको निर्वाचन क्षेत्रमा अब के गर्नुपर्ने छ ?

हाम्रो क्षेत्रमा शिक्षा, स्वास्थ्य र रोजगार मुख्य समस्या हुन् । कृषिप्रधान क्षेत्र भएकाले किसानले मल र बीउ समयमै पाउने व्यवस्था, सिँचाइको समस्या समाधान र युवाहरूलाई स्वदेशमै रोजगारीको वातावरण सिर्जना गर्नु मेरो प्राथमिकता हो । साथै, रामग्रामको पर्यटकीय सम्भावनालाई उजागर गर्दै रामग्राम स्तूपको विकासमा जोड दिनुपर्नेछ ।

चुनावको बेला जनतामाझ गरिएका वाचाहरू कसरी पूरा गर्ने योजना बनाउनुभएको छ ?

हामी केवल आश्वासन होइन, कार्ययोजनासहित अघि बढेका छौँ । संसद्मा नीति निर्माण गर्ने र प्रदेश तथा स्थानीय तहसँग समन्वय गरेर विकासका कामलाई पारदर्शी बनाउने मेरो रणनीति हुनेछ । जनउत्तरदायी भएर काम गर्ने र प्रत्येक ३ महिनामा जनताको बीचमा गएर कामको ‘रिपोर्ट कार्ड’ प्रस्तुत गर्ने मेरो प्रतिबद्धता छ ।

चुनावका समयमा गरेका विकासका वाचाहरू सम्भव छ कि छैनन् ?

राजनीतिक इच्छाशक्ति भयो भने असम्भव केही पनि छैन । स्रोतको सही परिचालन र भ्रष्टाचारमा शून्य सहनशीलता कायम गर्न सकियो भने विकासको गति तीव्र हुन्छ । म एक्लैले सबै गर्न सक्दिनँ, तर जनताको साथ र सहयोगले यो क्षेत्रलाई नमुना बनाउन सकिन्छ भन्नेमा म पूर्ण विश्वस्त छु । संघीय सांसदको मुख्य जिम्मेवारी नीति निर्माण तहमा बसेर कानुन बनाउने र राष्ट्रिय मुद्दाहरूमा बहस गर्ने हो । तर, हाम्रो निर्वाचन क्षेत्रका मतदाताहरूको अपेक्षा भने तपाईँले प्रत्यक्ष रूपमा विकास निर्माणका कामहरू गरिदिनुहुन्छ भन्ने नै छ ।

सांसदको भूमिका र जनताको अपेक्षाबीचको यो खाडललाई तपाईँले कसरी पूरा गर्नुहुन्छ ?

मेरो लक्ष्य भनेको नीति निर्माणको केन्द्रमा रहेर जनताको जीवनस्तर सुधार्ने कानुन बनाउनु र धरातलमा रहेर स्थानीय विकासका अवरोधहरूलाई चिर्दै कामलाई गति दिनु नै हो । जनताको भरोसालाई म कहिल्यै निराश हुन दिने छैन ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत ७ गते शनिबार