नेपालमा स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगमध्ये एक प्लाइउड उद्योग पनि हो । प्लाइउड उद्योगमध्ये नेपालगन्ज औद्योगिक क्षेत्रमा रहेको शिखर प्लाई उद्योग नेपालको अग्रणी प्लाइउड उत्पादक कम्पनीको रूपमा स्थापित छ । उद्योगले २८ वर्षभन्दा लामो समयदेखि गुणस्तरीय प्लाइउड, ढोका तथा केबल उत्पादन गर्दै आएको छ । बाँकेमै दुई वटा प्लान्टबाट प्लाइउड उत्पादन गरिरहेको उद्योगले गुणस्तरीय कच्चा पदार्थ र उन्नत प्रविधिको प्रयोग गर्दै एमआर, बीडब्ल्यूआर, बीडब्ल्यूपी ब्लक बोर्ड र सटरिङ प्लाइउडजस्ता विभिन्न किसिमका प्लाइउड उत्पादन गरिरहेको छ । शिखर प्लाई उद्योगका सञ्चालक उद्योगी चम्पालाल बोथरासँग उद्योगको पछिल्लो समयका समस्या, सम्भावना र राज्यले सहजीकरण गर्नुपर्ने नीतिका विषयमा केन्द्रित रहेर मिसन संवाददाता वीरेन्द्र जैसीले गरेको कुराकानीको सम्पादित अंश :
चम्पालाल बोथरा, सञ्चालक शिखर प्लाई उद्योग
00000
१. शिखर प्लाई उद्योगको इतिहासबारे संक्षिप्तमा बताइदिनुस् न ?
करिब ३५ वर्षपहिले हामीले भारतीय प्लाइउडको आयात तथा नेपालभर सप्लाइको काम गर्ने गरेका थियौँ । त्यसपछि करिब २०४७–०४८ सालतिर नेपालमा पनि एक दुई वटा प्लाइउड उद्योगहरू खुले । त्यसपछि भारतीय प्लाइउड महँगो पर्न थाल्यो । अर्काेतिर नेपाली उद्योगले हामीलाई उत्पादन पनि दिन सकेनन् ।
त्यसपछि या त हामीले व्यापार बन्द गर्नुपर्ने नभए आफ्नै उद्योग खोल्नुपर्ने निष्कर्षमा पुगेपछि हामीले उद्योग नै सञ्चालन गर्ने निर्णय ग¥यौँ र आजभन्दा करिब २८ वर्षअघि नेपालगन्ज औद्योगिक क्षेत्रमा यो उद्योग स्थापना गरेका हौँ । त्यो पनि १३ वर्षदेखि बन्द रहेको प्लाइउडकै उद्योग किनेका थियौँ ।
२. उद्योग स्थापना हुँदा र अहिले कति फरक छ, कच्चा पदार्थ र उत्पादनका हिसाबले ?
त्यतिबेलाको तुलनामा नेपालमा प्लाइउड उद्योगले धेरै ठूलो फड्को हानेको छ । हामीले उद्योग सञ्चालन सुरु गरेको बेलामा भारतबाट धेरै प्लाइउड आयात भइरहेको थियो । राम्रो गुणस्तरको पनि आइरहेको थियो । सस्तो प्रकारको नेपालमा उत्पादन हुने र राम्रो गुणस्तरको प्लाइउड भारतबाट आउने गरेको थियो ।
अर्काेतिर प्लाउडको मुख्य कच्चा पदार्थ उड भेनियर हुन्छ, जो काठका गोलियाहरूलाई चिरेर पातलो तहमा निकालेर तयार गरिन्छ– त्यो पनि भारतबाटै आयात गरिन्थ्यो । त्यसपछि करिब १५ वर्षअघि कच्चा पदार्थ पनि आफैँ उत्पादन गर्नुपर्छ भन्ने उद्देश्य राखेर र किसानहरूलाई पनि उदाहरण दिएर जागरुक बनाउन हामी आफैँले प्लाइउडको कच्चा पदार्थ बनाउने रूखको खेती सुरु ग¥यौँ । सुरुमा तीन लाख बिरुवा हामीले आफ्नै जग्गामा लगाएर सुरु गरेका थियौँ ।
त्यो बिरुवाको खेती किसानहरूले सिकेपछि किसानहरू पनि धेरै उत्साहित भए । बाँके बर्दियामा ठूलो मात्रामा रूखको खेती गर्न थालेका छन् । त्यसले किसानको आम्दानी पनि अन्य खेतीभन्दा रूखको खेतीले दुईदेखि अढाई गुणासम्म बढाएको छ । हामीले पनि सुपथ मूल्यमा कच्चा पदार्थ पाउन थालेका छौँ । पहिले कच्चा पदार्थको सबै पैसा भारतमा गइरहेको थियो । पछि आएर यहीँको कच्चा पदार्थमा प्लाइउड उत्पादन गरेर भारत पठाउन थालेँ ।
३. हाम्रो जमिनमा कच्चा पदार्थ उत्पादनको सम्भावना कति छ ? यसमा किसानहरूलाई कसरी प्रोत्साहन गर्न सकिन्छ ?
कच्चा पदार्थको सन्दर्भमा मेरो धारणा के हो भने, हामी जसरी भन्छौँ पर्यटनबाट आम्दानी वृद्धि हुनसक्छ, हाइड्रोबाट आम्दानी धेरै हुनसक्छ, तर त्योभन्दा धेरै काठजन्य उत्पादनबाट पनि आम्दानी वृद्धि गर्न सकिन्छ । नेपाल कृषिप्रधान देश भनिए पनि यहाँ सबैभन्दा बढी पीडित किसानहरू नै छन् । किसानले जति मिहेनत गर्छन् त्यसअनुसारको प्रतिफल पाइरहेका छैनन् ।
हामीले यसमा नयाँ धारणा के ल्याएका छौँ भने, किसानले अन्य परम्परागत खेतीसँगै रूखको पनि खेती गर्न सकिन्छ । पाँच पाँच मिटरको दूरीमा रूख लगाउने र त्यसको बीचमा अरु खेती गर्ने । यसले किसानहरूको आम्दानी दोब्बरभन्दा बढी हुनसक्छ । अहिले किसानहरूले कि रूख मात्रै लगाएका छन्, कि त अरु खेती मात्रै गरेका छन्, रूख लगाएका छैनन् । यदि दुवै खेती सँगै गर्ने हो भने किसानले पनि राम्रो फाइदा पाउन सक्छन् भने उद्योगले पनि राम्रो फाइदा पाउन सक्छ ।
४. अहिले तपाईँहरूकोे कच्चा पदार्थको स्रोत आफ्नै खेती हो कि किसानहरू ?
किसानहरू नै हुन् । हाम्रो त किसानहरूका लागि उदाहरण होस् भनेर सुरु गरेको हो । अहिले पनि ९७ प्रतिशत बढी कच्चा पदार्थ किसानहरूबाटै लिने गरेका छौँ ।
५. बजारमा शिखर प्लाईको अवस्था कस्तो छ ?
हामी नेपालभरि पुगेका छौँ । भारतमा पनि पठाउन मिल्छ । तर उत्पादनको माग नेपालमै बढी भएकोले अहिले हामीले भारत पठाइरहेका छैनौँ। नेपालमा प्लाइउडकै ८० वटा उद्योग छन् । ५० प्रतिशत बढी उद्योगहरू पूर्वी क्षेत्रमा छन् ।
६. नयाँ बनेको सरकारले प्लाइउड उद्योगलाई प्रवद्र्धन गर्न के गर्नुपर्छ ?
सरकारले प्रवद्र्धनको उचित नीति लिने हो यसबाट धेरै ठूलो आर्थिक वृद्धि गर्न सकिन्छ । हामीले धेरै ठूलो विदेशी पैसा प्लाइउड निर्यात गरेर भित्र्याउन सक्छौँ । यसमा सुधार्नु पर्ने कुरा के छ भने सबै जिल्लाहरूमा उन्नत जातका बिरुवाहरूको नर्सरी सञ्चालन गर्नुप¥यो । परम्परागत बिरुवाहरूले हुर्कन र उत्पादन दिन १५ देखि २० वर्ष लाग्छ । तर उन्नत जातको विरुद्धहरू ६ देखि ७ वर्षमै हुर्कन सक्छन् ।
यसले उद्योगलाई पनि राम्रो हुन्छ र किसानहरूले पनि चाँडै फाइदा पाउन सक्छन् । अहिले वन कार्यालयको नर्सरीमा पनि बिरुवा त उत्पादन हुन्छ, तर त्यो प्रायः उन्नत जातको हुँदैन । बरु मूल्य नै लिएर उन्नत जातको उत्पादन गरियो भने सरकारलाई पनि घाटा नहुने र किसानहरूले पनि फाइदा लिन सक्छन् ।
७. खाडीमा भइरहेको युद्धको प्रभाव उद्योगमा कति परेको छ ?
युद्धको प्रभाव त सबै उद्योगलाई परेको छ । पे«्रोलियम पदार्थको मूल्य वृद्धिले सबैलाई प्रभावित गरेको छ । विशेषगरी पेट्रोकेमिकलमा आधारित कच्चा पदार्थहरू चाहिने उद्योगहरू निकै प्रभावित भएका छन् । प्लाइउडमा पनि जुन चप्काउने पदार्थहरूको मूल्य दोब्बरभन्दा बढीले बढेकोे छ । पाउन पनि गाह्रो भइरहेको छ ।
भारतले पेट्रोकेमिकलको भन्सार शुल्क कम गरेको छ र त्यहाँ सजिलो भएको छ । हामीले नेपाल सरकारबाट पनि त्यस्तै केही सहुलियतको आशा गरेका छौँ । पेमिकलहरूमा भन्सार शुल्क घटाइदिएमा उद्योगीहरूलाई राहत हुन्छ र उपभोक्तालाई पनि कम मार पर्छ ।
८. यहाँहरूको त केबलको पनि उद्योग छ । त्यो त झनै प्रभावित भएको होला होइन ?
हो, केबलहरू पनि पे«्रोकेमिकलमा आधारित हो । त्यसमा पनि कच्चा पदार्थको मूल्य धेरै बढेको छ । उत्पादनको माग पनि घटेको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिले निर्माण कार्यहरू पनि प्रभावित भएकोले त्यसको असर मागमा पनि परेको छ ।
९. त्यसो भए त सरकारको प्राथमिकतामा यो विषय पनि पर्नुपर्ने रहेछ नि हैन ?
एकदमै प्राथमिकतामा पर्नु पर्ने हो । निजी क्षेत्रको लगानी पनि देशकै लगानी हो नि । निजी क्षेत्र समस्यामा परेका बेला सरकारले पनि उद्योगहरूलाई सेवा गर्नुपर्ने हो । ठूलो मात्रामा प्रत्यक्ष रोजगारी दिइरहेका उद्योगहरू समस्यामा छन् । अहिलेसम्म कोही पनि कामदार कटौती गर्ने हाम्रो चाहना छैन । तर भोलि उद्योग नै धराशायी हुने स्थिति आयो भने त गाह्रो हुन्छ ।
१०. उद्योगीहरू सरकारसँग कति आशावादी छन् त ?
सरकारसँग हामी धेरै आशावादी छौँ । नयाँ सरकार आएको छ । युवाहरूको बाहुल्य भएको सरकार आएको छ । सोच्नेवाला मान्छेहरू छन् । सायद सरकारले केही न केही सोच्छ होला भन्ने आशामा हामीहरू छौँ ।
११. अब शिखर प्लाई कै कुरा गरौँ । तपाईँका उत्पादनहरूको विशेषता र यहाँहरूले दिने फरक सेवाबारे बताइदिनुस् न?
हामीले नयाँ नयाँ उत्पादनहरू ल्याइरहेका छौँ । जस्तो जाली खापा भयो । जुन नेपालमा कुनै पनि उद्योगहरूसँग छैन । बरु भारतबाट आइरहेको छ । त्यसका लागि हामीले उच्च गुणस्तरलाई प्राथमिकता दिएर जाली खापाहरू उत्पादन गरिरहेका छौँ ।
हामीले थ्री डी र फोर डी युभि प्रिन्टिङ ढोकाहरू पनि उत्पादन गरिरहेका छौँ । जुन प्रिमियम गुणस्तरका ढोकाहरू हुन् । त्यो पनि नेपालमा अहिलेसम्म उत्पादन भएको छैन । हामीले अरुभन्दा उच्च गुणस्तरका विभिन्न प्रयोजनमा प्रयोग हुने प्लाइउडहरू उत्पादन गरिरहेका छौँ ।
नयाँ उत्पादनमा हामीले मेडियम डेन्सिटी फाइबरउड (एमडिएफ)को प्लाइउड पनि उत्पादन गर्ने लक्ष्य लिएका छौँ । त्यसको अनुमतिको प्रक्रियामा छ ।
१२. किसानहरूलाई अब कसरी जोड्दै जाने भन्ने योजना छ ?
यदि सरकारले रूख उत्पादनलाई सरकारले कृषिको रूपमा हेरिदियो भने स्वतः जोडिन्छन् । अहिले किसानहरूका बिरुवाहरू वनजंगलमा छैनन् । खेतमा छन् । तर सरकारले वन ऐनको कानुनबाट हेर्छ । अब सरकारले बिरुवा उत्पादनलाई पनि कृषि उत्पादनका दृष्टिकोणले हेर्नुपर्छ भन्ने मेरो धारणा छ ।
१३. अन्तमा थप केही भन्न चाहनुहुन्छ ?
हामीले हाम्रो आर्थिक सामथ्र्य के हो भन्ने बुझ्न जरुरी छ । मलाई लाग्छ हाम्रो हातमा कृषि क्षेत्र सबैभन्दा बढी सम्भावना भएको क्षेत्र हो । त्यस आधारमा किसानहरूको आम्दानी कसरी बढी बनाउन सकिन्छ भन्ने सोचेर सरकारले नीति बनाउन जरुरी छ भन्ने मेरो आग्रह छ ।









प्रतिक्रिया दिनुहोस्