अमेरिकी सेनाले रोक्यो इरानी जहाज



काठमाडौँ ।

अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले आफ्नो एउटा युद्धपोतले इरानी बन्दरगाहतर्फ जाँदै गरेको इरानको झन्डावाला जहाजलाई रोकेको बताएको छ। सेन्टकमले एक्समा विज्ञप्ति जारी गर्दै भनेको छ, ‘शुक्रबार (अप्रिल २४ मा) गाइडेड मिसाइल विनाशक यूएसएस राफेल पेराल्टाले इरानी बन्दरगाहतर्फ जाँदै गरेको इरानको झन्डाधारी जहाजलाई रोकेको छ।’

सेन्टकमले विज्ञप्तिका साथमा एउटा तस्बिर पनि सार्वजनिक गरेको छ। यसअघि जारी अर्को विज्ञप्तिमा सेन्टकमले इरानी बन्दरगाहमा अमेरिकाले गरेको नाकाबन्दीका क्रममा अहिलेसम्म ३४ जहाज डाइभर्ट गरिएको बताएको छ। इरान र अमेरिकाबिच पहिलो चरणको वार्ता निष्कर्षविहीन भएपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी बन्दरगाहमा नाकाबन्दी गरेका हुन्।

इरानले नाकाबन्दीको कडा विरोध गर्दै यसलाई युद्धविरामको उल्लंघन भनेको छ। योसँगै उसले फेरि होर्मुज स्ट्रेट बन्द गर्ने निर्णय गरेको छ।यसैबिच इरानका विदेशमन्त्री अब्बास अराघची प्रतिनिधिमण्डलसहित शनिबार पाकिस्तानको राजधानी इस्लामाबाद आइपुगेका छन्।पाकिस्तानको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी इरानी प्रतिनिधिमण्डल इस्लामाबाद आइपुगेको जानकारी दिएको हो।

तर विज्ञप्तिमा इरान र अमेरिकाबिच वार्ता हुने कुरा उल्लेख गरिएको छैन। बरु यसअघि इरानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अराघचीले इस्लामाबाद भ्रमण गर्ने क्रममा इरान र अमेरिकाबिच कुनै बैठकको योजना छैन।’ यद्यपि इरानको विदेश मन्त्रालयका प्रवक्ताले ‘इरानको प्रस्ताव पाकिस्तानलाई बुझाइने’ बताएका छन्।

पाकिस्तानको विदेश मन्त्रालयले भनेको छ, ‘विदेशमन्त्री अब्बास अराघचीको नेतृत्वमा इरानी प्रतिनिधिमण्डल आज इस्लामाबाद आइपुगेको छ। उनलाई उपप्रधानमन्त्री तथा विदेशमन्त्री मोहम्मद इसाक दार, फिल्ड मार्सल असिम मुनिर र अन्य वरिष्ठ अधिकारीले स्वागत गरे।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘इरानका विदेशमन्त्रीले पाकिस्तानका वरिष्ठ नेतृत्वसँग भेटघाट गर्नेछन्। भेटवार्तामा मध्यपूर्व क्षेत्रको पछिल्लो अवस्थाका साथै क्षेत्रीय शान्ति र स्थिरताका लागि जारी प्रयासहरूको बारेमा छलफल गर्नेछन्।’

  • No tags available
प्रकाशित मिति : २०८३ वैशाख १२ गते शनिबार