दृष्टिकोणः हिमाली बस्तीतिरै फर्केर जाने तयारी



राजेन्द्र प्रसाद धिताल

पिताजी राजापुर बजारको बारेमा बताउदै हुनुहुन्छ । बीचबीचमा म जिज्ञासा राख्दै छु । पिताजीको कुरा सुनेर म मुग्ध भएको छु । म कटासे बजार सम्झन्छु र राजापुर पनि त्यस्तै होला भनेर अनुमान गर्छु ।घरमा अरु छिमेकीहरु बस्न आउछन् । हाम्रो कुराकानीको लय खलबलिन्छ । पिताजी छिमेकीहरुसग गफिन थाल्नु हुन्छ । म नयाँ सुइटर लगाएर आगनमा निस्कान्छु । आँगममा मेरा बाल साथीहरू पनि आइसकेका छन् । झिलीमिली सुइटर लगाएर म साथीहरूसग मिसिन्छु र खेल्न थाल्छु । साथीहरुको ध्यान मेरो सुइटरतिर छ । उनीहरू मेरो सुइटर छाम्छन् । तारिफ गर्छन् र  हेरिरहन्छन । फूलबुट्टाले भरिएको सुइटर मलाई पनि असाध्यै राम्रो लागेको छ । मन परेको छ । म खुसीले गद्गद् भएको छु । मेरो मन पुलकित भएर फुरफुर नाचिरहेको छ । खेल्दाखेल्दै साझ पर्छ । साथीहरू आ–आफ्ना घरतिर लाग्छन् । म पनि  ठाटीमा जान्छु । पिताजी लालटिनमा मट्टीतेल भर्नु हुन्छ र बाल्न थाल्नुहुन्छ । लालटिनको उज्यालो बालेर हामी खाना खान्छौ । खाना खाइसकेपछि सबैजना चुलोमा आगो ताप्न थाल्छन । म पिताजीको छेउमा बसेको छु । तल्लो तलाका चौधरी बाजे, ज्योतिष जी र पल्लो घरका साइला बा बस्नु भएको छ । उहाँहरु लगभग सधैजसो बस्न आउनुहुन्छ र सुख दुःखका कुरा गर्नुहुन्छ । जुम्लाबाट हरेक दिन नयाँ मानिस आउछन् र उनीहरू पनि हाम्रो परिवारको हिस्सा बनेका हुन्छन् र साँझको बास बसेर बिहान आफ्नो गन्तव्यतिर लाग्छन् । एक फौज आउछ, जान्छ फेरि अर्को फौज आउछ । व्यापार गर्न हिड्ने एउटा टिमलाई उनीहरूले फौज भनेका हुन्छन् ।

यसरी दिनहरु बित्दै गए । कान्छोबुबा जुम्लाबाट आउनुभएका इन्द्रलाल कान्छोबुबासँग कता हो भारततिर पढ्न भनेर जानु भयो । पिताजी जुम्ली कुनै एक फौजमा मिसिएर व्यापार गर्न हिड्नु भयो । हाम्रो जग्गा नजिकै जुम्ला चुलेल गाँउका धनप्रसाद कान्छोबुबाको जग्गा छ । उहाँ पनि आफ्नी आमासहित हाम्रो बासमा मिसिनु भएको छ । धनप्रसाद कान्छोबुबा पनि पिताजीसगै व्यापार यात्रामा हिड्नु भएको छ । चिसो मौसम अब उत्कर्षमा पुगेको छ । जुम्लाबाट तराईतिर झर्ने क्रम रोकिएको छ । झरेकाहरु पनि यताउता लागिसकेका छन् । निवासमा म दुईजना बज्यूहरुसग बसेको छु । पिताजी, कान्छोबुबा लगायत अरु हटारुहरु गइसकेपछि मलाई यो ठाउँ कताकता सुनसानजस्तो लाग्न थाल्छ । हाम्रो ठाटीमा अब पुरुषहरु बस्न आउदैनन । बज्यूसँग बस्न र गफ गर्न आउने छिमेकमा धेरै महिलाहरु हुनुहुन्छ । दिनहरू यसैगरी बितिरहेका छन् । राति दुईजना बज्यूहरु अबेरसम्म कुरा गर्छन् । मेरी बज्यूलाई यो तराई खासै मन परेको छैन । यहाँ उहाँका पुराना साथी छैनन् । उहाँ घरिघरि यै ठाउँमा कोइ माबिनी नाइँ क्यारी बस्न्या हो भन्नु हुन्छ । यहाँको घर घरजस्तो छैन । आफैले दुःख गरेर बनाएको घर छोडनु परेकोमा बज्यू सन्तुष्ट हुनुहुन्न । कस्ता कस्ता भरौट बोकेर दरबारजस्तो घर बनाएर बसेकी मान्छे यस्तो खरको झोपडीमा बस्नुपर्यो भनेर बज्यू हरदम गुनासो गरिरहनु हुन्छ । यहाँको दाल, भात, भाषा, लुगा कपडा केही पनि बज्यूलाई चित्त बुझेको छैन । खासमा बज्यूलाई यो तराई नै मन परेको छैन । उहाँ घरिघरि यस्तो हुस्सु मलहरमा बस्न सकिदैन भन्नु हुन्छ । मलाई भने तराई मन परेको छ । यहाँको समतल फाँट मन परेको छ ।

हरियाली मन परेको छ । साथी सङ्गती मन परेका छन् । कहिलेकाही एकान्तमा आमालाई सम्झन्छु । कुनामा लुकेर बज्यूलाई लुकाएर दुई थोपा आसु झार्छु । आमाको याद आएको बेला मलाई उडेर जुम्ला जान पाएको भए जस्तो लाग्छ । हिमा नदीको किनारमा डाको छोडेर रुने आमालाई सम्झेको बेला भने मेरो मन व्यथित हुन पुग्छ । तर बज्यूको गहिरो र न्यानो स्नेहले म क्षणभरमा वेदनाबाट बाहिर निस्किहाल्छु । म बज्यूको ममताको फूलबारीमा रमाउन थालिहाल्छु । मलाई खुसी बनाउने सम्पूर्ण कला छ मेरी बज्यूसँग जब रात पर्छ दुबै जना बज्यूहरु साइतर अर्थात सुनाउन थाल्नुहुन्छ । बज्यूले सुनाएका मनोहर कथाहरु मलाई निरन्तर सुनिरहू झै लाग्छ । बज्यूको वात्सल्यले भरिएको न्यानो काख अनि सुनिरहू झै लाग्ने साइतरहरुले मलाई मोहनी लगाएका छन् । बज्यूबाट मैले चुफ्याको साइतर, पैकेलाको साइतर, माण्ठ खान्या रागसको साइतर जस्ता लामालामा कथाहरु, गाउँ खाने प्रश्नात्मक कथाहरू, भजन तथा चुटकिलाहरु प्रशस्त सुनेको छु । मलाई यस्तो लाग्छ कि मेरी बज्यू कथाकी अथाह भण्डार हुन् । बज्यूबाट सुन्दा सुन्दै मैले पनि कैयौं साइतरहरु कण्ठ गरिसकेको छु । लगभग २ महिनापछि फागुनको महिनामा पिताजी आउनुभयो । अब हटारुहरुको फर्कने क्रम सुरु भयो । हाम्रो घरमा फेरि मानिसहरूको आवतजावत बढ्न थाल्यो । मेरो पढाइको कुरा चल्न थाल्छ । श्रीपञ्चमीको दिनमा पण्डित ज्योतिष श्री खडानन्द काफ्लेलाई गुरु थापेर  घरमै मेरो अक्षेरारम्भ गराउन थालिन्छ ।

काठको फलेकमा धुलो राखेर मैले कखरा लेख्न सिक्न थाले । पिताजीले एउटा रङ्गीचङ्गी सानो किताब ल्याइदिनु भएको छ । ठूलो नेपाली वर्णमाला किताब मलाई असाध्यै राम्रो लागेको छ । मैले त्यसलाई जतन गरेर राख्ने गरेको छु । दिउँसो धुलौटोमा लेख्न सिक्छु । राति पितलजीको पिठ्युँमा अक्षर लेख्छु । मुखले बोल्न र सुनेका कुरा याद गर्न सजिलो लाग्छ तर अक्षर लेख्न सिक्न निकै कठिन भएको महसुस हुन्छ तर करकाप बिना रहरै रहरमा म अक्षर लेख्न सिकिरहेको छु । पिताजी आएपछि उहाँसगै सुत्न थालेको हुन्छु । घरमा राति अबेरसम्म रमाइला गफगाफ र हासपरिहास चलिरहन्छन । म रमाइलो  मानेर थरीथरीका गफ सुन्न उत्सुक भएको हुन्छु । बिहानै भने कुखुराको डाकोसगै बिउझिन्छु । म ब्युझेको चाल पाएपछि पिताजी ओछ्यानमै लय बद्ध रूपमा कखरा, बाह्रखरी र पहाडा पढाउनु हुन्छ । संस्कृतका सरल श्लोकहरु लयात्मक रूपमा वाचन गर्नुहुन्छ र बीचबीचमा नेपालीमा अर्थ बताउनु हुन्छ । पिताजीको लयात्मक वाचनकलाले मलाई गहिरो प्रभाव पर्न थाल्छ । ससाना संस्कृतका श्लोकहरु, नेपाली कविताका केही पङ्क्तिहरु, बाह्रखरी र केही पहाडाहरु  कण्ठाग्र हुन थालेका छन् । यसैगरी हाम्रा दिनहरु बितिरहेका छन् । फागुन महिनाको मध्यतिर हटारुहरुको पहाड यात्रा सुरु हुन थालेको छ । प्रत्येक दिन नयाँ फौज जुम्ला जाने तयारी सहित आउछ । हटारुहरु राजापुरबाट गह्रुगो भारी बोकेर आउछन् । एक रात हामी बसेको ठाँउमा विश्राम गर्छन् ।

प्रायः आउनेहरू नजिकैका आफन्त हुने हुँदा बज्यू अलिकति  सामलतुमल दिनुहुन्छ । हटारुहरु बिहानै हिमाली यात्राको लागि भारी उठाउछन र धेरैजसो आफन्तहरु मेरो विषयमा चिन्ता गर्दै नाना भाउकन बर्खामा तराईमा नराख्न सुझाव दिन्छन् । बज्यूलाई पनि तराईमा बस्न मन छैन । बज्यू प्रत्येक दिनजसो जुम्लाको गाउँ, घर र छोराछोरी र आफन्त सम्झिरहनु हुन्छ । घरमा हुने कुराकानीबाट थाहा पाउछु जुम्लाका मान्छेहरु बर्खामा तराईमा बस्नु राम्रो मान्दा रहेनछन् । औलो रोगको प्रकोपबाट बच्न गर्मी सुरु भएसँगै चिसो ठाउँका मानिसहरू तराई छोड्दा रहेछन् । पहिला पहिला त हरेक जुम्लीले  चैतको १२ गते जुम्ला जुम्ला पुग्नै पर्नेरहेछ । १२ गते जुम्ला नपुगेको मानिस ज्युदो छैन भन्ने अनुमान लगाउदा रहेछन् । चैत १२ गते नयाँ खेतीका लागि धानको बिउ केलाउने दिन रहेछ । त्यसैले त्यो दिन हरेक जुम्ली अनिवार्य रूपमा आफ्नो घरमा पुग्दो रहेछ । फागुनको अन्तिमतिर बज्यू र म जुम्ला जाने सल्लाह हुन्छ । खेतीपाती हेर्न र घर निर्माण गर्न पिताजी यतै बस्ने हुनुभएको छ । जेठोबुबा लगाएतका आफन्तहरुको फौजसग हामी जुम्ला जाने भएका छौँ । पिताजी यतै बस्ने कुरा मलाई नमिठो लागेको छ तर पनि जुम्ला गैहाल्ने कुराले म खुसी भएको छु । हाम्रो जाने तयारी थालिन्छ । म उत्तरतिर हेर्छु । आउँदाखेरीको बाटो सम्झन्छु । यात्राको सुखदुःख सम्झन्छु । आउँदा त कहाँ जाने भन्ने अन्योल थियो । तराई कस्तो होला भन्ने उत्सुकता र कौतुहल थियो । अब जाने बेला त्यस्तो कुनै अन्योल छैन । कहाँ जाने भन्ने अनिश्चितता पनि छैन । मलाई आमाको मायाले बोलाइरहेको जस्तो लाग्न थालेको छ । हिमा नदीको किनारमा हामीलाई बिदाइ गर्ने आफन्तहरु एक एक गरेर सम्झन्छु । ती सबैलाई भेट्ने तीव्र चाहना जागृत भएको छ।म हाट आए, मैले हाट हेरे अब म पनि हटारु हु भनेर मेरा बाल साथीहरूसग भन्ने रहरले मलाई जुम्ला छिटो पुग्न पाए हुन्थ्यो जस्तो लागेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत २८ गते शनिबार