‘मेरो उम्मेदवारी जनताको अवस्था र व्यवस्था परिवर्तनका लागि हो’



अहिले देश संकटमा छ । राष्ट्रियता खतरामा छ । एउटा कुरा भन्छु । एउटा घर चलाउन मुली चाहिन्छ । त्यसैगरी देश चलाउन पनि अभिभावक चाहिन्छ । हाम्रो देशमा अहिले अभिभावक छैन । त्यो अभिभावक भनेको राजा हो । त्यसैले आज हामीले राजसंस्था अपरिहार्य छ भनेका छौँ । पञ्चायत हुँदा, राजा हुँदा यो देश कस्तो थियो ? अहिले कस्तो छ ? अहिलेका जनताको अवस्था यस्तो छ । देशमा बेचैनी छ । अहिलेको आवश्यकता हिन्दु राज्य हो । यो हाम्रो पहिचान हो । त्यसैले सम्पूर्ण मतदाताहरूलाई अपिल गर्न चाहन्छु कि राजसंस्था र हिन्दु राष्ट्रका लागि हामीलाई भोट दिनुहोस् ।

                  प्रदीपकुमार शाह, बाँके क्षेत्र नम्बर १ उम्मेदवार, राप्रपा 

बाँके १ मा तपाईँको उम्मेदवारी किन ?

देशको आमूल परिवर्तन, स्थिरताका लागि मेरो उम्मेदवारी हो । अहिलेसम्म गणतन्त्रको नाममा विकृति भयो । पार्टीले देश बर्बाद बनाए । देशलाई स्थायी शान्ति स्थापना र हिन्दू राष्ट्र पुनस्र्थापनाका लागि मैले उम्मेदवारी दिएको छु । देशमा रहेको कुशासन, विकृति र विसंगति अन्त्यका लागि मैले उम्मेदवारी दिएको हुँ । देशमा जुन किसिमले परिवर्तन हुनुपर्ने थियो । तर विकास हुन किन सकेन् ? परिवर्तनको लागि मेरो उम्मेदवारी हो । राजासहितको संवैधानिक व्यवस्था र संघीयता खारेज हाम्रो माग रहेको छ । त्यसको लागि हामी जनताका माझ गएका छौँ ।
अहिलेसम्म जनताले धेरै नेता जिताउनुभयो । अब राप्रपालाई जिताउनुहोस् । देशको विकास र समृद्धिका लागि राजासहित प्रजातन्त्र आवश्यक छ । त्यसका लागि मेरो उम्मेदवारी रहेको छ । हाम्रो देशमा अशान्ति भएको छ । हिन्दू परम्परा नष्ट गरिएको र धर्म निरपेक्षताका नाममा आतंक फैलाइएको छ । भ्रष्टाचारको अन्त्यको लागि हो मेरो उम्मेदवारी । अहिलेसम्म जनताको भोट खेर गयो । अब एकपटक राप्रपालाई रोज्नुहोस् । हामीले देश विकास गरेर देखाउनेछौँ ।

बाँके क्षेत्र नम्बर १ का के के समस्या छन् ? ती समस्या समाधानको लागि तपाईँको कस्तो पहल रहन्छ ?

बाँके निर्वाचन क्षेत्र नम्बर १ मा तीन पालिका रहेका छन् । तीमध्ये राप्ती सोनारी र नरैनापुरमा विभिन्न समस्या रहेका छन् । कोहलपुर अन्य पालिकाको तुलनामा विकसित रहे पनि अझै धेरै काम गर्नुपर्ने देखिन्छ । कोहलपुरमा खानेपानी र फोहोर मैला व्यवस्थापन गर्नुपर्ने देखिन्छ । राप्ती सोनारीमा नदी कटान, निकुञ्जको समस्या रहेको छ । मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण र सडक सञ्जालका साथै शैक्षिक, स्वास्थ्य सुधारको खाँचो देखेको छु । यस्तै लागूऔषधको समस्यासमेत रहेको छ । नरैनापुरमा बाटो, खानेपानीका साथै तमाम समस्या रहेको छ । त्यहाँको विकासका लागि मैले काम गर्नेछु । कोहलपुरलाई व्यापारिक सहर बनाउन आवश्यक छ । यसलाई सुन्दर बनाउनुपर्ने छ । यस्तै बाँके १ मा मुख्य समस्याको रूपमा रहेको सुकुम्वासी समस्या समाधान गर्नुपर्नेछ । यदि मैले जितेर गए भने यहाँको विकासलाई मूल प्रवाहमा ल्याउने छु । भूूमि सुधार ऐन राजाकै पालामा लागू भएको हो । सम्पूर्ण विकृति अन्त्य गर्न र कोहलपुर, राप्ती सोनारी र नरैनापुरको विकासका लागि मार्ग चित्रसहित म चुनावी मैदानमा होमिएको छु ।

बाँके राष्ट्रिय निकुञ्ज गौरवको आयोजना हो । यो पर्यटकीय क्षेत्रको रूपमा विकास हुन सकेन् । पर्यटन विस्तारको लागि तपाईँको भूमिका के रहन्छ ?

बाँके राष्ट्रिय निकुञ्ज हाम्रो गौरव हो । यसलाई व्यवस्थापन आवश्यक रहेको छ । त्यसको लागि राज्यले प्राथमिकता दिनुु विकल्प छैन । निकुञ्जमा अर्बौँको सम्पत्ति कुहिएर गएको छ । यसलाई सदुपयोग गर्नुपर्छ । पाटेबाघका कारण हामीलाई चिनाएको छ । तर मानिसहरू जोखिममा छन् । अकालमा ज्यान गुमाउनु भएको छ । यो समस्या समाधान एकातिर रहेको छ । अर्कातिर पर्यटन प्रवद्र्धन नीतिगत रूपमा गर्नुपर्ने देखिन्छ । कोहलपुरको बहुआयमिकतालाई बुझेर व्यवस्थित योजनाका लागि अघि बढ्यौँ भने हामीले बाँके निकुञ्जलाई विकास र प्रसिद्ध बनाउन सकिन्छ। विगतमा मैले राम्रो काम गरेको छु । म अब पनि काम गर्न सक्छु । मतदातालाई आग्रह गर्दछु । मलाई भोट दिनुहोस् । खड्कवारको बाटो बनाउने मेरो योजना हो । यहाँको भूगोल बुझेको छु ।

समग्र देशको समस्या युवा बेरोजगारी रहेको छ । तपाईँसँग रोजगारी सिर्जना गर्ने योजना के छ ?

नेपालमा कलकारखाना छन् । बिग्रेका कलकारखाना ब्युँताउनु पर्छ । नेपालमा विभिन्न खानी छन् । अनुसन्धान गर्न आवश्यक छ । कृषि प्रदान देश हो । तर युवाहरू बेरोजगार छन् । अनुदानमा विकृति भएको छ । यो कुरा रोक्नुपर्छ । धर्तीमा सुन फलाउन सकिन्छ । देशको विकृत प्रणालीका कारण लाखौँ युवा विदेश गइरहेका छन् । उनीहरूलाई रोजगारी दिन उद्योग सञ्चालन गर्नु आवश्यक छ । युवालाई रोजगारीमा जोड्नको लागि स्वरोजगारमूलक कार्यक्रम आवश्यक छ । भ्रष्टाचार अन्त्य भएमा रोजगारी सिर्जना गर्न सकिन्छ । मलाई जिताउनुहोस्, सिस्टम परिवर्तन गरेर रोजगारीको वातावरण सिर्जना गर्नेछु । मतदाताले बुझ्नुपर्छ । अबको विकल्प हामी मात्रै हो । त्यसैले हामीलाई रोज्नुहोस् । हामी आएपछि लोन प्रक्रियालाई सहज बनाउँछौँ । युवामैत्री कानुन निर्माण गर्छौँ । युवालाई देश विकासमा सक्रिय बनाउन चाहन्छौँ । अहिलेको व्यवस्थाले विकास हुँदैन । व्यवस्था परिवर्तन हुन आवश्यक छ ।

राप्रपाको उम्मेदवार अरुभन्दा कुन आधारमा फरक छ ? मतदाताले राप्रपाको उम्मेदवारलाई किन भोट हाल्ने ? के भन्नु हुन्छ ?

म व्यावसायिक पृष्ठभूमिको मानिस हुँ । उद्यमशीलता र स्वरोजगार निर्माण गर्ने विषयमा म सचेत छु । जनताको पक्षमा काम गर्ने अवसर पाएको क्षेत्रमा मैले आफूलाई प्रमाणित गरेको छु । किरणनाला क्षेत्रमा मठ मन्दिर बनाउन, विद्यालय सुधारदेखि टोल विकासमा मेरो उल्लेख्य भूमिका रहेको छ । अन्य क्षेत्रमा बाटोसमेत निर्माण गरेको छु । चिनिनको लागि बदमासी गर्नुपर्ने रहेछ । अरुले चोर्न पनि जानेका छन् । ढाँट्न जानेका छन् । थर्काउन जानेका छन् । मैले त आफ्नो कर्म गरिरहेको छु । पहिला मेयरमा लडँे । पछि स्वतन्त्र लडेँ । म यस्तो व्यक्ति हुँ । म स्वाभिमानमा अडिक छु । म राम्रो थिएन भने पार्टीले पत्याउने थिएन । आज मेरो व्यक्तित्व र पहिचानका आधारमा बोलाएर उम्मेदवारी दिएको छ । व्यक्तिको रूपमा मैले कमाउनु केही पनि छैन । अब जनताको पक्षमा काम गर्न चाहन्छु । यहाँको विकासको सुत्रधार बन्न चाहन्छु । मैले स्थानीय क्षेत्रको विकासका लागि आफ्नो निजी खर्चमा विकास गरेको छु । पछि मैले जितेर गएँ भने आफूलाई प्रमाणित गर्नेछु । काम गरेर देखाउनेछु । टोल विकासमा गरेको काम अब संसद् भएर गरेर देखाउनेछु । म सधैँ अन्यायको विरोधमा र जनताको पक्षमा काम गर्नेछु ।

बाँके १ का सीमान्तकृत समुदायको मूल प्रवाहीकरणका लागि तपाईँको योजना के छ ?

नेपाल कृषि प्रधान देश हो । हाम्रो क्षेत्र त अन्नको भण्डार हो । बाँके र बर्दिया त भूमिपुत्र जातिको पसिनाले सिंचित भएको छ । यहाँका हरेक नागरिकको दैनिकी जीवनयापनसँग उहाँहरूको परिश्रम जोडिएको छ । उहाँहरू धेरै मेहेनत गर्नुहुन्छ । उहाँहरूले दुःखको फल पाउनु भएको छैन । राजनीतिक दलले यो समुदायलाई प्रयोग गर्दै आएका छन् । भोट बैंक मात्रै बनाए । उहाँहरूको सशक्तीकरणमा ध्यान दिएनन् । उहाँहरूको विकासमा ध्यान दिएनन् । चुनावमा प्रयोग गरेर दलहरूले फाइदा लिए । तर हामी त्यसो गर्दैनौँ । उहाँहरूको सम्मान गर्ने पार्टी भनेको राप्रपा मात्रै हो । गास, बास र कपासको ग्यारेन्टी गराउन म भूमिका खेल्छु । यहाँका किसानले मल पाउँदैनन् । चर्को मूल्य तिर्नुपर्छ । त्यो आवाज कसैले उठाएनन् । अवस्था र व्यवस्था परिवर्तन गराउन भोट दिनुहोस् । थारू समुदायलाई अघि बढाउन भूमिका खेल्छु । उहाँहरूको सशक्तीकरणमा काम गर्ने मेरो योजना रहेको छ । कृषिमार्फत रोजगार बनाउँछु । स्थानीय सरकारलाई थारू समुदायको पक्षमा काम गर्न र विकास गर्न भूमिका खेल्छु । म भन्छु, किसानको पक्षमा काम गर्दै आएको छु । मैले उनीहरूका समस्या बुझेको छु । मसँग स्पष्ट योजना रहेको छ । कृषि क्रान्ति गराउनेछु ।

अन्त्यमा सम्पूर्ण मतदाताहरूलाई के अपिल गर्न चाहनुहुन्छ ?

अहिले देश संकटमा छ । राष्ट्रियता खतरामा छ । एउटा कुरा भन्छु । एउटा घर चलाउन मुली चाहिन्छ । त्यसैगरी देश चलाउन पनि अभिभावक चाहिन्छ । हाम्रो देशमा अहिले अभिभावक छैन । त्यो अभिभावक भनेको राजा हो । त्यसैले आज हामीले राजसंस्था अपरिहार्य छ भनेका छौँ ।
पञ्चायत हुँदा, राजा हुँदा यो देश कस्तो थियो ? अहिले कस्तो छ ? अहिलेका जनताको अवस्था यस्तो छ । देशमा बेचैनी छ । अहिलेको आवश्यकता हिन्दु राज्य हो । यो हाम्रो पहिचान हो । त्यसैले सम्पूर्ण मतदाताहरूलाई अपिल गर्न चाहन्छु कि राजसंस्था र हिन्दु राष्ट्रका लागि हामीलाई भोट दिनुहोस् ।

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन १८ गते सोमबार