सुर्खेतमा थपिए ४२ संक्रमित, कर्णालीमा संक्रमितको संख्या २६ सय नाघ्यो



सुर्खेत ।

कर्णाली प्रदेशमा पछिल्लो आइतबार थप ५१ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको छ । प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला गरिएको पीसीआर परीक्षणमा थप ५१ जनामा संक्रमण पुष्टि भएको हो । सबैभन्दा धेरै सुर्खेतका ४२ जना, जुम्लाका पाँचजना, जाजरकोटमा दुईजना, दैलेख र रुकुम पश्चिममा एक/एक जनामा संक्रमण पुष्टि भएको थियो ।

सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाको रिपोर्टअनुसार सबैभन्दा बढी संक्रमित सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा देखिएका छन् । वीरेन्द्रनगर नगरपालिका वडा नं. ३ की एक महिलामा संक्रमण देखिएको छ । वडा नम्बर–४, मा मात्रै १६ जनामा संक्रमण पुष्टि भएको छ । जसमा ७ महिला र ९ जना पुरुष रहेको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । त्यस्तै वीरेन्द्रनगर वडा ५, ६, ७, ८, ९, १०, ११ र १२ का १५ जनामा संक्रमण देखिएको छ ।

जसमा तीन वर्षीय बालिकासहित पाँचजना महिला र १० जना पुरुष रहेका छन् । चिङ्गाड र चौकुने गाउँपालिकाका तीनजना महिलासहित आठजना रहेका छन् । भेरीगंगा नगरपालिकाका दुईजना पुरुषमा संक्रमण देखिएको स्वास्थ्य सेवा महाशाखाले जानकारी दियो । यससँगै कर्णणालीमा कोरोना संक्रमितको संख्या २ हजार ६ सय ४९ जना पुगेको छ ।

यसैबीच प्रदेशमा आइतबार थप २६ जना कोरोना संक्रमित जितेर घर फर्किएका छन् । योसंँगै प्रदेशमा डिस्चार्ज हुनेको संख्या २ हजार ३ सय ७ जना पुगेको छ । अहिले कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा गरेर ३ सय ३६ जना संक्रिय संक्रमितहरु आइसोलेसनमा रहेका छन् । कर्णाली प्रदेशमा हालसम्म कोरोना संक्रमणका कारण ६ जनाको मृत्यु भइसकेको तथ्यांक रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ भदौ २२ गते सोमबार