बैजनाथ ।
बाँकेको बैजनाथ गाउँपालिकास्थित नौवस्ता औद्योगिक क्षेत्रको पूर्वाधार निर्माणको काम शुरु हुँदै छ । घोषणा भएको पाँच वर्षपछि उक्त क्षेत्रको भौतिक पूर्वाधार निर्माणको काम सुरु हुन लागेको हो । पूर्वाधार निर्माणको कामका लागि भदौ महिनाको पहिलो साता टेण्डर आह्वान गरिने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले जानकारी दिए । यसका लागि चालू आर्थिक वर्षमा ६० करोड रुपैयाँ बजेट विनियोजन भएको अध्यक्ष बस्नेतले बताए ।
पहिलो चरणमा औद्योगिक क्षेत्रका लागि व्यवस्थापन भएको ३ सय ३८ बिगाह जमिनमा सडक, बिजुली, पानी जस्ता पूर्वाधारको काम गरिने छ । बस्ती व्यवस्थापनको काम बाँकी रहेकाले उक्त काम नहुँदासम्म सर्वसाधारण बसेको जग्गामा तत्काल कुनै पनि पूर्वाधार निर्माणको काम नहुने बताइएको छ ।
बिहिवार बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गको अध्यक्षतामा बसेको बैठकले हाल सर्बसाधारण बसोबास गरेको ओद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको जग्गामा पूर्वाधार निर्माणको काम नगर्ने तर बस्ती नभएको खाली ठाउँमा काम शुरु गर्ने निर्णय गरेको नेपालगन्ज औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका प्रमुख कृष्ण पुनले जानकारी दिए ।
उनका अनुसार बैठकमा बस्ती बाहेकको खालि ठाउँमा पूर्वाधार निर्माणको काम गर्दा सर्वसाधारणबाट अवरोध नगर्ने सहमति समेत भएको छ । नौवस्ता औद्योगिक क्षेत्रमा बस्ती बिस्तारको काम भने पूर्वाधार निर्माणसंगै अगाडी बढाउनेमा जनप्रतिनिधि र सरोकारवाला निकायका अगुवाहरु सहमत भएको बताइएको छ ।









प्रतिक्रिया दिनुहोस्