सुदिप अधिकारी । बर्दिया ।
ठाकुरबाबा नगरपालिका–४ बर्गदाका खुशराम थारु दसैँतिहार मनाए लगत्तै गाउँका अन्य पन्ध्र जना युवाहरुसँगै रोजगारका लागि धादिङ्ग जिल्ला छिरे । त्यहाँ उनीहरु डकर्मीको काम गर्थे । ठेकेदारले साँझ–विहानको खाना र बासको व्यवस्था गरेको थियो । उनीहरुले दैनिक १ हजार २ सय रुपैँयाँ चोखो कमाउँथे । महिनामा कम्तीमा ३० हजार रुपैँयाँ उनीहरुले बचाउँथे । आफनो मासिक कमाईबाट खुशराम थारुसँगै अन्य युवाहरु पनि खुशी थिए । कामको मचामच चलेको बेला मुलुकमा एकाएक लकडाउन सुरु भयो । लकडाउन भएपछि आयोजनाहरु रोकिए ।
सबैलाई घर फर्कन हतारो भयो । कामको लय समातेका खुशरामसहित अन्य युवाहरु पनि घर फर्कन बाध्य भए । लकडाउनका कारण राजगार गुमाएर घर पर्केका खुशराम जस्ता युवाहरु अहिले गाउँमा प्रशस्त छन् । युवा जमातले गाउँ भरिएको छ । तर गाउँमा रोजगार छैन । युवाहरु बेकामे भएर गाउँमा बस्न बाध्य छन् । उनीहरुलाई अब घर परिवार कसरी पाल्ने भन्ने पिरलो हुन थालेको छ । रोजगार गुमाएर घर फर्केका युवा जंजीरे थारु भन्छन्, ‘लकडाउनका कारण रोजगार गुमाएर घर आईयो । केही दिन त गाउँघरमै काम गरेर समय बित्यो । सधैका लागि गाउँमा रोजगार छैन । कसरी परिवार चलाउने हो चिन्ता छ ।’ रोजगार गुमाएर घर फर्केका अधिकाशं युवाहरु बेखर्ची हुँदै गएका छन् । काम नपाएपछि पैसा आउने स्रोत पनि बन्द भएको युवाहरु बताउँछन् ।
‘गाउँमा आएपछि रोजगार नै पाइएको छैन । कमाएर ल्याएको पैसा पनि सकिन थाल्यो । घर गुजारा चलाउनै मुस्किल हुन थाल्यो,’ स्थानिय युवा चिन्की थारुले पिँडा सुनाए । गाउँ फर्केका युवाहरु केही दिन खेतीपाती मै लागे । अहिले खेतीपाती पनि सकियो । बाहिर भएका सबै घर फर्केपछि अघिल्ला वर्षहरु भन्दा यो वर्ष गाउँघरमा चाँडै नै खेती सकिएको छ । गाउँघरमा ससाना आयोजनाहरु हुन्छन् । थोरै जनशक्ति मात्र त्यहाँ खपत हुन्छ । अहिले गाउँमा जनशक्ति धेरै छ । तर काम थोरै छ । ‘गाउँघरमा लामो समयसम्म राजगार पाइने आयोजना नै हुँदैन । त्यसैले बाध्य भएर रोजगारका लागि अन्यत्र जानु परेको थियो’, स्थानिय युवा हरिप्रसाद थारु भन्छन्, ‘लकडाउनले घरमै थन्क्यायो । अब कती दिन यसरी बस्ने ।
रोजीरोटी कसरी चलाउने । कहाँ जाने ?’ स्थानिय युवा गाउँमा रोजगार नभएपछि यहाँका अधिकाशं युवाहरु शहर बजार छिरेका थिए । कमाई पनि राम्रो हुने र एकमुष्ठ पैँसा आउने भएपछि युवाहरुको रोजाइ शहर बजार नै थियो । अधिकाशं युवाहरु देशमा संचालन भएका ठूलाठूला सडक, जलविद्युत, खानेपानी जस्ता आयोजनाहरुमा काम गर्थे । लकडाउनका कारण अहिले देशका विभिन्न स्थान र भारतबाट रोजगार गुमाएर घर फर्केका युवा जनशक्ति गाउँमा प्रशस्त छन् । गाउँमा ठूला विकासका आयोजना, उद्योग कलकारखाना नै छैनन् । भएका आयोजनाले धेरैलाई रोजगार दिन सकेको छैन ।
जिल्लाका विभिन्न पालिकाहरुले युवा लक्षित भनेर कृषि तथा रोजगारका योजना त ल्याएका छन् । तर योजना कार्यान्वयनमा जाँदासम्म युवाहरुको धैर्यता रोक्न मुस्किल रहेको नागरिक युवा सरोकार मञ्चका संयोजक मिनराज शर्मा बताउँछन्, उनी भन्छन्, ‘युवाहरुलाई रोजगारमा लगाउने स्थानिय सरकारसँग कुनै ठोस योजना नै छैन । त्यसैले ठूलो संख्यामा श्रम जनशक्ति गाउँमा खेर गइरहेको छ । ’









प्रतिक्रिया दिनुहोस्