कोहलपुर खानेपानी संस्थाको बदमासी, ‘ऋण गरेर लगानी, अझै पाइएन पानी’



डिल्ली शाही । कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकाले स्थापना कालदेखि नै स्वच्छ पानीको लागि ‘एक घर एक धारा’ को नारा नीति तथा कार्यक्रममा उल्लेख गर्दै आएको छ । ‘एक घर एक धारा’ हरेक आर्थिक वर्षमा नछुट्ने नारा समेत हो । तर कोहलपुर नगरपालिका वडा नम्बर १ का बहुसंख्यक स्थानीय दैनिक पिउने पानीको मार खेपिरहेका छन् । न त उनीहरुलाई नगरपालिकाको नीति तथा कार्यक्रमको नारा काम लागेको छ न खानेपानी नै उपभोग गर्न पाएका छन् । स्थानीयले खानेपानीको लागि लाखौ रकम तिरेपनि महिनौसम्म खानेपानी उपभोग गर्न पाएका छैनन् ।

गत वर्षको माघ महिनामा त्यहाँका स्थानीयले खानेपानीको लागि एकमुष्ट १५ लाख बढी रकम कोहलपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई बुझाएका थिए । वडा खानेपानी तथा सरसफाई समन्वय समितिको अगुवाईमा त्यहाँका संस्थालाई खानेपानी कै लागि मोटो रकम बुझाएका हुन् । स्थानीयले खानेपानी उपलब्ध गराउनका लागि एकमुष्ट १५ लाख १५ लाख ४३ हजार ३ रुपैयाँ बुझाइसकेका छन् । तर उनीहरुले अहिलेसम्म खानेपानी उपभोग गर्न पाएका छैनन् । कोहलपुर नगरपालिका वडा नम्बर १ मा २३ सय मिटर पाइप लाइन विस्तार गरी खानेपानीका धारा जडान गर्नका लागि सो रकम संस्थालाई बुझाइएको थियो । अहिलेसम्म ६ सय मिटर मात्रै पाइप लाइन विस्तार र धारा जडानको काम सम्पन्न भएको पाइएको छ ।

अझै १७ सय मिटर पाइप लाइन विस्तार र खानेपानी धारा जडान गर्ने बाँकी छ । खानेपानी संस्थाले एक महिना भित्रै काम सक्ने भनेर एकमुष्ठ रुपैयाँ जम्मा गर्न लगाएको थियो । तर ६ महिना बितिसक्दा समेत घर–घरमा खानेपानी धारा कहिले बन्ने टुंगो छैन । स्थानीय भक्त बहादुर ज्ञवालीले खानेपानीको भाउँ बढ्छ भनेर ऋण लिएर पैसा दिएको बताए । ‘एक महिनामा काम गर्छु भनेको थियो । तर ६ महिनासम्म पानी आउने टुंगो छैन’ उनले भने, ‘ऋण गरेर लगानी गरेको हुँ । अझै पानी आउन सकेको छैन ।’ ज्ञवालीका अनुसार कोहलपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले रुपैयाँ लिएको हो । यस्तै वडा खानेपानी तथा सरसफाई समन्वय समितिका अध्यक्ष समेत रहेका कविराम पुलामीले बारम्बार काम गरिदिन अनुरोध गर्दा समेत सुनुवाई नभएको गुनासो गरे । ‘हामीले पैसा बुझाएको समयदेखि अहिलेसम्म २० पटक भन्दाबढि संस्थामा पुगिसक्यौं, आलटाल मात्रै गर्ने काम भयो । एक महिनामा गर्छु भनेको काम अहिलेसम्म पुरा हुने संकेत नै छैन । लगानी डुब्ने डर भइसक्यो’ उनले भने ।

स्थानीयले गुनासो गरेको भोलीपल्ट एक जेसिबी आउने काम गरे जस्तो गर्ने तर अर्को दिनबाट काम नै नहुने जानकारी दिए । उनका अनुसार खानेपानी धारा जडानको लागि वडाका विभिन्न टोलमा सर्भे समेत गरिएको थियो । वडा नम्बर १ मा रहेका ‘क’ लाइन, ‘ख’ लाइन, परिवर्तन टोल, फुलबारी टोल र सिद्धार्थ टोलका १ सय २२ घरपरिवारले प्रतिव्यक्ति १२ हजार ६ सयका दरले रकम संकलन गरेर दिएको उनको भनाई छ । उक्त सर्भेमा ४५ वटा घरपवरिवारले खानेपानी प्रयोग नगर्ने बताएका थिए । बारम्बारको प्रयास असफल भएपछि उनीहरुले आफ्नो काम गरिदिन भन्दै कोहलपुर नगरपालिकालाई ज्ञापन पत्र बुझाउनु परेको छ । बुधबार नगर प्रमुख लुट बहादुर रावतलाई वडा खानेपानी तथा सरसफाई समन्वय समिति तथा भुतपूर्व सैनिक तथा प्रहरी संगठनले संयुक्त रुपमा छिटोभन्दा छिटो काम पुरा गरिदिन माग गर्दै ज्ञापन पत्र बुझाएका थिए ।

खानेपानीको लागि रकम बुझाएका कोहलपुर– १ कै अर्का स्थानीय भोजराज रेग्मी एक महिनामा काम सकिन्छ भन्दै लाखौ रकम असुलेको संस्थाबाट आफूहरु ठगिएको बताउँछन् । उनी भन्छन्, ‘हाम्रो गाउँमा खानेपानीको समस्या निकै थियो । सबै गाउँले मिलेर पैसा उठायौ । अहिले न हामीले भनेको मान्छ, न धारा बनाईदिन्छ ।’ उनीहरुले अब पनि माग पुरा नभएमा आन्दोलनको समेत चेतावनी दिएका छन् । यता कोहलपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका प्रमुख हरिप्रसाद आचार्यले समयमा पाइप नपाउँदा कामको ढिलाई भएको बताए ।

उनका अनुसार यस संस्थाले कोहलपुर नगरपालिकाको ७ वटा वडाहरु हेर्नु पर्ने भएकोले केही समय ढिलाई भएको हो । उनले एक महिनामा सक्ने भने पनि विभिन्न कठिनाईका कारण ढिलाई भएको स्विकार गरे । ‘हामीले पाइप खरिद् गर्ने ठाउँमा अभाव भयो । उहाँहरुको अरु काम भइरहेको छ । लकडाउने पनि समस्या भइदियो । अब केही दिनमा काम शुरु हुन्छ ।’ मिसन टुडे दैनिकसँग कुराकानी गर्दै उनले भने । स्थानीय बासिन्दाहरुलाई प्राविधिक कुराहरु जानकारी नभएर नै विरोध गरिरहेको समेत बताए । हाम्रो खानेपानी ट्याङ्गकी ३० मिटर अग्लो स्थानमा रहेकोले २ इन्चको पाइपबाट त्यहाँका बासिन्दाहरुलाई पुग्ने पानी बिस्तार छिट्टै हुने उनले दाबि समेत गरे ।

  • No tags available
प्रकाशित मिति : २०७७ असार १९ गते शुक्रबार